+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

नास्पाती खेती विधि

नास्पातीको उत्पती मध्य एशियाको चीन,ताइवान,कोरिया र जापानमा भएको मानिन्छ । चीनमा पहिले देखि खेती गरिदै आएको छ । यहींबाट क्रमशः अष्ट्रेलिया,न्यूजिल्याण्ड, अमेरिका (क्यालीफोर्निया), पूर्व एसिया,मध्यपूर्व युरोप हुँदै पश्चिम युरोप तिर फैलिएको छ । युरोप तिर धेरै चिसो क्षेत्र भएकोले चिसो सहन सक्ने जातको विकास गरिएको छ, यसलाई युरोपियन नास्पाती समुह र एसिया तिर खेती गर्ने समुहलाई एसियन नास्पाती भनेर छुट्याइएको छ । एसियन समुहको नास्पातीलाई विभिन्न नामले जस्तै एसियन नास्पाती,चाइनिज नास्पाती,कोरियन नास्पाती,जापानिज नास्पाती,ताइवानी नास्पाती,नाशी नास्पाती,र स्याण्ड पिएर पनि भनिन्छ ।

१ युरोपियन समुह अन्तर्गत पर्ने नास्पाती विशेष गरी युरोप र उत्तर अमेरिकामा खेती गरिन्छ । विश्वमा यस समुहको नास्पातीले प्रमुख स्थान ओगटेको छ । तुम्बे आकारका हुने नास्पातीहरुमा बार्टलेट, रेड बार्टलेट, रेड क्वीन, हवाना जातका नास्पातीले विशेष स्थान लिएको छ । तर यस समुहको नास्पाती कम रसिलो र गुलियो पनि एसियनको तुलनामा कम हुने गर्दछ । यी नास्पातीको भण्डारण क्षमता भने धेरै राम्रो मानिन्छ ।

 २. एसियन समुह अन्तर्गत पर्ने नास्पातीको आकार स्याउको आकारसंग मेल खान्छ र यो समुहका नास्पाती रसिलो, गुलियो र चुरुम्म हुन  किसिमको हुन्छ । नेपाली स्थानिय (फर्पिङ्) नास्पाती, जापानी नास्पाती आदी पर्दछन् ।

पहेंलो—सेतो  चाँही बीचको वर्णशंकर जात हो । यसलाई बे—ली भन्ने गर्दछ ।

३. दक्षिणी चीन र दक्षिण एसियामा समुहका नास्पाती पनि खेती गर्ने गरिएको पाइन्छ ।

नास्पातीको लागी उपयुक्त हावापानी

नास्पाती समशितोष्ण हावापानीमा हुने, हिँउदमा पात झर्ने पतझड फलफूल हो । तर नेपालको स्थानिय नास्पातीलाई कुन हावापानीको लागी भनेर परिभाषित गर्न गाह्रो छ, किनकी यो नास्पाती गर्मी हावापानी भएको स्थानमा पनि राम्रोसंग फलेको पाइन्छ । त्यसैले नास्पातीको समुह र जात अनुसार उपयुक्त हुने हावापानीको पनि विविधता पाइन्छ । त्यसैले नास्पाती लगाउन चाहने व्यक्तिले यसको प्रकृति बुझेर कुन जातको नास्पाती कस्तो स्थानमा लगाउने भन्ने राम्रोसंग बुझेर मात्र खेती गरेमा मेहनत खेर जाँदैन ।

१. नेपाली नास्पाती

काठमाण्डौंको दक्षिणी भागमा फर्पिङ्मा सयौं बर्ष पहिले देखि नास्पातीको खेती हुँदै आइरहेको छ । कालन्तरमा त्यस नास्पातीलाई नै र्फिर्पङ् नास्पातीको नामले चिनिन  थालियो, यसलाई नेपालको स्थानिय नास्पाती भनेर पनि बुझ्दछौं । यो नास्पातीको विशेषता भन्नु नै जस्तो सुकै हावापानीमा पनि फल्ने गर्दछ । नेपाली नास्पातीलाई समशितोष्ण बर्गमा राखेको छ ।  ता पनि नेपालको तराईको बिरगंज देखि उच्च पहाड मुस्ताड्डसम्ममा जहाँ जस्तोसुकै स्थानमा रोपे पनि फल्ने अनौठो जातको नास्पाती हो ।

त्यसैले यस्को लागी चिस्यानको आधारभुत आबश्यकता     यत्ति नै चाहिन्छ भन्ने नै छैन, जब कि अन्य मुलुकबाट आयातित नास्पातीको लागी यस्ले अति महत्वपुर्ण अर्थ राख्दछ । यो स्थानिय नास्पाती परापुर्व काल देखि खेती हुँदै आएकोले यसको प्रशारण पनि विउबाट गरिदै र पैmलदै आएको मान्न सकिन्छ, जसले गर्दा यस नास्पातीमा पनि विविधता निक्लदै गएर खैरो रंगको ठूला दाना हुने देखि हरियो रंगको मझौला साइजका, जंगलमा पाइने केही ठुलो साइजको भोटे मयल देखि मसिनो दाना फल्ने मयलसम्मको विविधता पाइन्छ । पुर्वजहरुले यिनैबाट छनौट गरेर ठुला दाना भएकाको खेती गर्न थालियो होला । पछिल्लो समयमा आएर हाँगा काटेर जमिनमा गाडी , गुटी बाँधी नयाँ विरुवा उत्पादन गर्न थाले पछि यसको जातिय शुद्धताको पनि क्रमशः स्थापीत भएको हुन सक्दछ । यध्यपी यसको अनुसन्धान हुन आबश्यक छ ।

२. जापानी नास्पाती

नाशी जापानबाट अनुसन्धानको लागी नेपालमा भित्रिएको जापानी नास्पातीका केही जातले गुणस्तरीय सफलता हाँसिल गरी हाल आएर ती जापानी नास्पातीले नेपालीको जिब्रोमा बसना र स्वाद बसी विशिष्टता प्राप्त गरेको छ । तर यसको खेतीमा सफलता प्राप्तीको लागी नेपाली नास्पातीलाई भन्दा बढी प्राविधिक पाटोको आबश्यकता पर्दछ, किनकी यो नास्पातीको स्वभाव पनि विशेष किसिमको छ । यसलाई आधारभुत चिस्यानले यति ठूलो भुमिका र महत्व राख्दछ की अलिकती मात्र पुगेन भने पनि फल लाग्दैन । त्यसैगरी आबश्यकता भन्दा बढी चिलिङ् भयो भने पनि फल लाग्दैन । हाम्रो जस्तो देशमा त झन जलवायुको विविधता भएको हुनाले थप विरोधाभास  परिस्थिती रहेको देखिन्छ । नेपालको परिप्रेक्षमा ठ्याक्कै यति नै चिलिङ् चाहिन्छ भन्न सक्ने स्थिती देखिदैन । किनकी १००० मिटर उत्तरी मोहडा भएको शितल ठाँउमा पनि फल लागेको पाइन्छ भने दक्षिणी मोहडा भएको १४०० मिटरमा नफल्ने गरेको पनि पाइन्छ । त्यसैले कती उचाँइमा रोप्ने भन्दा पनि सेपिलो चिस्यान कत्तीको छ भन्नेमा बढी महत्व राख्दछ ता पनि नेपालको मध्य पहाडका महाभारत पर्वतको उत्तर मोहडा भएका १३०० मि.देखि १८०० मि.सम्मको क्षेत्र जापानी नास्पातीको लागी उपयुक्त क्षेत्र मान्न सकिन्छ भने वर्षा कम हुने मुस्ताङ्, डोल्पा, जुम्ला जस्तो जिल्लाको २३०० मि. सम्मको स्थानमा पनि जापानी नास्पाती लगाउन सकिन्छ । जापानमा नास्पातीको लागी १३०० देखि १५०० घण्टा चिलिङ् आबश्यक पर्दछ भनी तोकिएको छ, तर नेपालमा हुबहू त्यत्ति नै चाहिन्छ भन्ने छैन । यो भन्दा थोरै ६०० देखि ८०० घण्टा चिलिङ् पुगेमा पनि फल फलेको पाइन्छ ।

३. युरोपियन नास्पाती

युरोपियन नास्पाती भन्नाले विशेषगरी हल्का पहेंलो —हरियो देखि पुरै रातो रंगमा र आकारमा लाम्चो तुम्बे किसिमको फल भनी चिनिन्छ । नास्पातीलाई समशितोष्ण बर्गमा राखेता पनि यो युरोपियन नास्पाती शितोष्ण क्षेत्र मा राम्रो हुने गर्दछ । यसको फल बास्नादार, रस कम भएको हुन्छ ।

४. चाइनिज नास्पाती

  नेपालको फलफूल बजारमा देखिने सेतो घिउरंगको नास्पाती फल चीनबाट भित्रिएको हो । फलको आकार प्रकार पनि आकर्षण ,रसिलो भइकन गुलियोपन केही कमी भइ स्वादमा केही खल्लोपना देखिन्छ ,ता पनि नेपाली कृषकहरुले यो नास्पातीको विरुवाको माग गर्न थालिएको छ । नेपालमा यो जातको नास्पातीको विरुवा भित्रिन सकेको छैन  यदी विजु विरुवाबाट आमाको गुण बोकेको फल फलेमा ठूलो उपलब्धी हुन सक्दछ । यसलाई कस्तो हावापानी र तापक्रममा उपयुक्त हुन्छ, हेर्नपर्ने हुन्छ ।

तापक्रम र वर्षा

नास्पातीको सफल खेतीको लागी तापक्रम र बर्षाले प्रमुख भुमिका निर्बाह गरेको हुन्छ । नास्पाती खेती गरिने अंन्चल हरुमा नास्पातीको लागी उपयुक्त तापक्रमको मापन गरिएको छ जसमा बार्षिक औषत तापक्रम १२ देखि १५डिग्री सेन्टीग्रेट र विरुवाको बृद्धि विकास,फूल फुल्ने, फलको बृद्धिविकास,छिप्पिने अबस्था देखि पाक्ने समयसम्मको समय (बैशाख देखि असोजसम्म) को औषत तापक्रम १९ देखि २१डिग्री सेन्टीग्रेट र हिंउदको (पुस, माघ महिनाको) न्युनतम औषत तापक्रम —५ देखि ४ डिग्रीसम्मको तापक्रम उपयुक्त मानिन्छ ।

तापक्रमसंग तुलना गर्दा बार्षिक औषत तापक्रम १७.५देखि १८ डिग्री सेन्टीगे्रट र न्युनतम औषत तापक्रम १देखि १० डिग्रीसम्मको भई फराकिलो अन्तर देखिन्छ । जसले गर्दा नास्पातीको लागी उपयुक्त स्थान भन्न अझै गाह्रो छ । नास्पातीको सफल खेती गर्न अझै केही चिसो ठाँउमा गर्नु पर्ने हुन्छ ।नास्पाती खेतीको लागी औषत बार्षिक बर्षा १२०० देखि २०००मिली मिटरसम्म उपयुक्त हुन्छ । यो बालीले केही बढी बर्षा सहन सक्ने भएता पनि अधिक बर्षा भएमा रोग तथा किराहरुको संक्रमण हुने गर्दछ । जसको परिणाम चाँडै पातहरु झर्न थाल्दछ र बेमौषममा फूल फुल्ने भई अर्को सिजनको फूल फुल्नमा प्रभावित गर्दछ । त्यसैले बेमौषममा (भदौ,असोज) पात झर्नबाट रोक्नु अनिबार्य हुन्छ । त्यसैगरी नेपालको मौषमी चरित्र हेर्दा फागुन चैतमा बर्षा नहुने महिना भएको र नास्पातीको फूल त्यहीबेला फुल्ने भएकोले चिस्यानको अभाबले फूल कम फुल्ने, फल कम अड्ने, फलको चिचिलो झर्ने आदी समस्या पनि देखिने गरेको छ ।

माटो

नास्पाती खेती सबै किसिमको माटोमा गर्न सकिन्छ, प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे दुमट माटो सबै भन्दा उपयुक्त मानिन्छ । थप माटोको गुणस्तर हेर्ने हो भने गहिरोसम्म माटो भएको,बगर, ढुङ्ग्यान नभएको,पानी जम्ने नभएको, पानी एकछिन पनि नअड्ने जमिन हुनु हुदैन । खासगरी नेपालको पहाडी भागमा नाइट्रोजन लगायत जिन्क, बोरन र म्याग्नेसियम जस्ता शुक्ष्म तत्वहरुको कमि देखिन्छ । नास्पातीको लागी नाइट्रोजनको धेरै समस्या नभएपनि जिन्क, बोरन र म्याग्नेसियम जस्ता शुक्ष्म तत्वहरुको थोरै भएपनि महत्वपुर्ण आबश्यकतामा पर्दछ । त्यसैगरी नास्पाती खेतीको लागी माटोको पि.एच. ५.५ देखि ६.५ सम्म भएमा उपयुक्त हुन्छ ।

बगैंचा रेखाङ्कन

नास्पातीको बगैंचाको रेखाङकन गर्दा विशेष ख्याल गर्नु पर्दछ, किनकी यसको समुहको प्रकृति अनुसार विरुवाको दूरी पनि फरक फरक राख्नु पर्ने हुन्छ । जस्तै फर्पिङ् जातको नास्पातीको लागी रेखांकन गर्ने हो भने १०/१०मि.को दूरी कायम गर्नु पर्दछ, भने बार्टलेट जातको नास्पातीको लागी हो भने ८/७ मि. र जापानी जातको नास्पातीको लागी ५/४ मि.कायम गर्नु पर्दछ । बोटको स्वस्थता कायम गर्न, फल उत्पादनसिल बनाइ राख्न, बगैंचा आकर्षण बनाउन बोटको दूरीले महत्वपुर्ण भुमिका खेल्दछ । बगैचारेखाङ्कन गर्दा ल्पान्टिङ् बोर्डको प्रयोग गर्नु पर्दछ ।यसको प्रयोगले दूरीको स्थान निश्चित गराउँदछ ।

खाडल खन्ने र पुर्ने  

रोपेको विरुवा राम्ररी सर्न,चाँडै हुर्कनको लागी विरुवा रोप्नु भन्दा कम्तिमा दुई महिना अगाडी खाडल खनेर राख्नु पर्दछ । रेखाङ्कन गर्दा ल्पान्टिङ् बोर्डले निश्चित गरेको स्थानलाई केन्द्रबिन्दुबाट खाडल १ मि.गोलाई,१ मि.गहिराई खाडल खनेर १ महिनासम्म घाममा सुकाउनु पर्दछ । यसरी घाममा सुकाउनाले माटोमा भएका हानीकारक रोग तथा किराको अबशेष निर्मलीकरण हुने गर्दछ । त्यसपछि प्रति खाडल १ डोको पाकेको गोबर मल  हड्डीको धुलो,सकिन्छ भने भुसको खरानी र माटो राम्ररी मिसाई खाडल पुर्ने । खाडल पुर्दा जमिनको सतह भन्दा डेढ् फिट अग्लो हुने गरी थुप्रो बनाउनु पर्दछ । त्यसको एक महिना पछि विरुवा रोप्ने बेला माटोको थुप्रो खाँदीएर ६ ईन्च अग्लो जमिन देखि माथी भाग रहन्छ । त्यसमाथी मात्र विरुवा रोप्ने गर्नु पर्दछ ।

विरुवा रोप्ने  

नास्पातीको विरुवा हिंउदमा (पुस—माघ) रोप्नु पर्दछ । रेखाङ्कन गर्दा ल्पान्टिङ् बोर्डले निश्चित गरेको बिन्दुमा विरुवाको काण्ड बीचमा पर्ने गरी जमिनको सतहभन्दा १फिट माथी विरुवालाई सिधा हुनेगरी,कलमी गरेको भागलाई माटोले नपुरिने गरी,जरालाई चारैतिर फैलाएर विरुवा रोप्नु पर्दछ र विरुवाको फेंदको वरिपरी खुट्टाले थिच्नु पर्दछ । जराले माटो नसमाएकोले विरुवा हल्लिएर नसर्न पनि सक्छ त्यसैले अनिबार्य रुपमा विरुवाको नजिकै टेको गाडी सुतरी डोरीले हल्कारुपमा बाँधीदिनु पर्दछ । यसो गर्नाले विरुवा पनि सिधा हुन्छ र अन्य बस्तुले पनि हल्लाउन सक्दैन र विरुवाको उचाँई फेंदबाट ६० से.मि.राखि टुप्पा काटी दिनु पर्दछ । विरुवा रोपेको १मि. वरिपरी खर वा परालले छापो (मल्चिङ्) पनि दिनु पर्दछ । यसले चिस्यान कायम गरी राख्दछ भने झारपात पनि केहीहद्सम्म नियन्त्रण गर्दछ । यसरी मल्चिङ् गरीसके पछि विरुवा रोपेपछि अनिबार्यरुपमा सिंचाई गरिदिनु पर्दछ । सिंचाईको श्रृखला चिस्यानको आबश्यकता अनुसार विरुवा पालुवा नपलाएसम्म दिई रहनु पर्दछ ।

३ बर्षसम्म विरुवाको व्यबस्थापन  

हरेक कामको भविश्यको निर्धारण पहिलो खुड्किलोबाट शुरु हुन्छ, शुरुवात नैबिकृती र बिसंगती भएमा भविश्य पनि असफल हुन्छ भने झै विरुवाको आकार प्रकार,स्वरुप,स्वस्थता र आकर्षण बनाउन विरुवा रोपेको बर्ष देखि तीन बर्ष भित्र विरुवाको पुर्बाधार बनाउने महत्वपुर्ण समय हो । शुरुवाती अबस्थामै विरुवाको स्वरुप बिग्रीयो भने पछि सुधार्न गाह्रो हुन्छ । विशेष गरी जापानी जातका नास्पातीको लागी यो प्रकृया र प्रविधि लागु हुन्छ । विरुवालाई कुन पद्धतीमा ढाल्ने निश्चय गरी त्यसको सिद्धान्त अनुसार अबलम्बन गर्नु पर्दछ । जस्तो जापानी नास्पातीलाई मुख्यगरी केन्द्रीय खुला प्रणाली पद्धतीमा ढाल्ने गरिन्छ ।

पहिलो बर्ष

 यसको लागी पहिलो बर्षमा पलाएका हाँगालाई नै निश्चित गरी ६ईन्च देखि १फिटको अन्तरमा भएका हाँगालाई निंगालोको सहायताले तिन दिशा तिर फैलाई (ओदाने आकारमा) बाँधीदिनु पर्दछ । यी तिन हाँगा मुल हाँगाको रुपमा विकास गर्नु हो ।

 दोश्रो बर्ष

दोश्रो बर्षको काछाँटमा पहिलो बर्ष सेटिङ् गरेको तिन मुल हाँगालाई कायम राख्दै टुप्पाको भाग मात्रै काटछाँट गरिदिनु पर्दछ । यि तिन हाँगालाई ४५डिग्रीको कोण बनाई बढाउँदै लैजानु पर्दछ र ती मुल हाँगाबाट शाखा प्रशाखा हाँगा तथा मुनाहरु निस्कन्छ । आबश्यकता अनुसार तिनीहरुलाई राख्ने वा हटाउने गर्नु पर्दछ । यसो गर्दा अब उल्टो छाताको आकार बन्दछ । यो आकारमा ल्याउन सक्नु नै मुख्य सिद्धान्त हो ।

तेश्रो बर्ष  

तेश्रो बर्षमा आईपुग्दा विरुवाले निश्चित आकार लिईसकेको हुन्छ । यो बर्षमा आईपुग्दा फल फल्न पनि शुरुवात गर्दछ । अब फल्ने हाँगाको प्रशस्त विकास गर्नु पर्दछ साथै बोटको उचाई पनि निश्चय गर्दै गर्नु पर्दछ ,एकै बर्ष धेरै माथी बढ्न दिनु हुँदैन । हाँगालाई नियन्त्रण गर्दै बाहीर तिर फैलाउदै जानु पर्दछ । बोटको उमेर ७बर्ष पुग्दा बोटको उचाई बढीमा ७—८ फिट भन्दा अग्लो बन्न दिनु हुदैन, सधै यती नै उचाईमा कायम गरी रख्नु पर्दछ ।

बोटको तालिम तथा काटछाँट  

बोटलाई गरिने तालिम, सिद्धान्तले निर्देशित गरे बमोजिम व्यबहारमा उतारेर देखाउनु नै तालिम हो । तालिमका विभिन्न सिद्धान्त भएकोले फलफूलको किसिम , जात र प्रकृती अनुसार तिनमा आधारित भएर बोटलाई गरिने तालिमले बोटलाई आकर्षक बनाउने काम गर्नुका साथै बोट स्वस्थ र उत्पादनशिल बनाई राख्नमा मद्दत पु¥याउदछ । विशेषगरी विरुवा रोपे देखि रोपेको ५ बर्ष भित्र विरुवालाई सिद्धान्तले तोके अनुसार तालिम गरीसक्नु पर्दछ । बोट हुर्किसके पछि तालिम गर्नु गाह्रो र संवेदनशिल हुन्छ । किनकी हुर्किसकेको बोटका हाँगाहरु लाई धेरै काट्कुट् गर्नु पर्ने हुन्छ ,त्यो अबस्थामा बोट सुक्न पनि सक्दछ वा रोगी पनि हुन सक्छ वा बोट तग्रिँन (बलियो हुन) समय लाग्न सक्दछ । त्यसैले कुनै पनि फलफूल (सदाबहार वा पतझड) को बोटलाई सिद्धान्त अनुसार तालिम गर्ने हो भने सानै देखि गर्नु जरुरत हुन्छ । बोटलाई तालिम गर्नको लागी निगालो,बाँस,किला,डोरीको सहायताले गर्ने गरिन्छ ।

हउँदे काटछाँट

फलफूलको किसिम, जात,र प्रकृती अनुसार काटछाँटको तौर तरिका र मात्रा पनि फरक फरक हुन्छ । सदाबहार फलफूलका हकमा छिप्पिएको पातमा खाद्य तथा पोषण तत्वहरु संग्रहित भएका हुन्छन् भने पतझड फलफुलमा हिउँदमा पात बिहीन हुनाले ती बोटका खाद्य तथा पोषण तत्वहरु काण्ड तथा हागाँहरुमा संग्रहित भएका हुन्छन र कलिला हागाँहरुमा कम मात्रामा ती तत्वहरु संग्रहित हुन्छन् । त्यसैले ती तत्वहरुलाई पनि ख्याल राखीकन काटछाँटको मात्रा थाहा हुनु पर्दछ । त्यसकारण प्राविधिक ज्ञान नभईकन जसले पनि, जहिले पनि, जथाभावी काटछाँट गरेमा बोटलाई झन नकरात्मक असर पार्दछ । त्यसैले तालिम तथा काटछाँट दक्ष प्राविधिकले वा अनुभवी कामदारद्वारामात्र गर्नु गराउनु पर्दछ । नास्पातीको हकमा विरुवाको कूल भागको १०देखि १५ प्रतिशत मात्र काटछाँट गर्नु पर्दछ । बढी काटछाँट गरेमा फल नफल्ने वा कम फल्ने ,बोट कमजोर हुने र सुक्ने पनि हुन सक्दछ । त्यसैगरी काटछाँट नै नगर्ने हो भने पनि बोटलाई नकरात्मक प्रभाव पर्दछ । जसले गर्दा बोट झाँगीएर अनुत्पादक हुने,उत्पादन भए पनि गुणस्तर नहुने,रोग किराको बासस्थान बन्ने, बगैंचा आकर्षक नदेखिने र बोट चाँडै मर्ने हुन्छ । त्यसैले नियमित रुपमा काटछाँट गरेमा फल बर्षेनी नियमित रुपमा फलाउन ९च्भनगबिच द्यभबचष्लन० मद्दत पु¥याउँदछ, बोट स्वस्थ र उत्पादनशिल बनाई राख्नमा मद्दत पु¥याउदछ । बोटको भित्रीभागसम्म प्रकाशको किरण पुगी फलको गुणस्तर बढाउछ, प्रशस्त प्रकाश पुगेको कारणले रोग र किराको प्रकोप पनि कमी हुन्छ । बोटमा पु¥याउनु पर्ने रेखदेख र अन्य व्यबस्थापकिय कार्यहरु (फल छाट्ने, टिप्ने, पोषण तत्वहरु छर्न,विषादी छर्न) गर्न सहज हुन्छ अन्तमा बोट दीर्घजिवी रहन्छ । काटछाँट गर्दा कहिलै पनि हसिँया,खुकुरी, बन्चरोको प्रयोग गर्नु हुदैन । केबल हागाँ काट्ने कैची र हागाँ काट्ने करौंती मात्र प्रयोग गर्नु पर्दछ । खासगरी साना बोटहरुमा तालिम गरीसके पछि अनाबश्यक लागेका हागाँ तथा मुनाहरु मात्र काटछाँट गर्नु पर्दछ भने ठुला बोटहरुमा काटछाँट गर्दा फूल लाग्ने हागाँ र पालुवा आउने हागाँको पनि ख्याल गर्नु पर्दछ । यसमा फूल लाग्ने हागाँ कम र पालुवा आउने हागाँ बढी काट्नु र छाट्नु पर्दछ । त्यसैगरी बोटको आकार प्रकामिल्ने गरी छाट्नु पर्दछ, अन्यमा धेरै बाक्लो झाँगिएका, आपसमा खप्टिएका, कमजोर हागाँ, रोग र किराले विकृत बनाएका हागाँ, सिधा बढेको चोर हागाँ, आबश्यक भन्दा बढेका हागाँ …आदी हटाउनु नै सहीरुपको काटछाँट हो । यस किसिमको काटछाँट हिउँदको पुस र माघ महिना भित्र गरिसक्नु पर्दछ ।

बर्षे काटछाँट

फलफूलको बोटहरुमा बर्षे काटछाँट गर्ने चलन व्यबहारिक रुपमा त्यत्ति गर्ने गरेको नपाईएता पनि यो निकै महत्वको विषय हो । नास्पातीको बोटमा पनि बर्षे काटछाँट गर्नु आबश्यक छ । बर्षे काटछाँटको अर्थ बोटको भित्री भागमा पलाएको चोर मुनाहरु, हागाँको मुनाबाट फेरी अर्को मुना पलाउनु  प्रकाश र हावा नै छिर्न नमिल्ने गरी आएका बाक्ला हागाँ, पातलो खिरीलो हागाँ, काण्डबाट पलाएका रुटस्टकका सकर्स  हरु राखी राख्नु भन्दा हटाउनु नै उपयुक्त हुन्छ । यस्ता अनाबश्यक हागाँहरु रहन दिएमा खाद्यतत्व अनाबश्यक रुपमा बढी खपत हुन्छ, प्रशस्त प्रकाश, खाद्यतत्व नपुगेर फलको गुणस्तरमा कमी आउँदछ । त्यसैगरी अनाबश्यक हागाँहरु झाँगीएर रोग र किराको संक्रमण बढी हुने पनि गर्दछ ।

 मलखाद

गुणस्तर फल उत्पादन गर्न, प्रत्येक बर्ष नियमित फलाउन, बोटलाई स्वस्थ राख्न, मलखादको प्रमुख भुमिका हुन्छ । त्यसैले प्रत्येक हिंउदमा (पुस माघ) काटछाँट गरीसके पछि सिफारिस गरे अनुसार अनिबार्य रुपमा मलखाद दिनु पर्दछ । ५  बर्ष भन्दा मुनीको विरुवालाई मलखाद दिंदा गोबर मल २५ के.जी. का दरले दिनु पर्दछ भने बयस्क बोटलाई गोकर मल ५० के.जी का दरले हाल्नु पर्दछ

मलखाद दिने तरिका

मलखाद कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुरा पनि बुझेर हाल्नु पर्दछ । ५ बर्ष मुनीको विरुवालाई मल प्रयोग गर्दा बोटको काण्डबाट ०.५मि. देखि १.०मि.बाहिर मात्र हाल्ने र बयस्क बोटलाई मल प्रयोग गर्दा बोटको काण्ड देखि १.५ मि. देखि २.०मि.बाहिर हाल्नु पर्दछ । अब मल कसरी हाल्ने भन्ने बारेमा दुई तरिकाले हाल्न सकिन्छ । पहिलो तरिकामा माथी उल्लेख गरेको काण्ड देखिको दुरी नापी १.५ फिटको चौडा र १.५फिट गहीरो कुलेसोको पुरै घेरा खनी त्यसमा मलखाद हालेर माटोले पुरी दिनु पर्दछ । दोश्रो तरिकामा माथी उल्लेख गरेकै दुरीमा एक बर्ष पुर्ब—पश्चिम दिशामा १.५ फिटको चौडा र १.५ फिट गहीरो, २ मि.लामो कुलेसो खनी त्यसमा मलखाद हालेर माटोले पुरी दिनु पर्दछ

दोश्रो बर्षमा उत्तर—दक्षिण दिशामा १.५ फिटको चौडा र १.५ फिट गहीरो, २ मि. लामो कुलेसो खनी त्यसमा मलखाद हालेर माटोले पुरी दिनु पर्दछ । यसरी दूई बर्षमा एक चक्र पुरा हुन्छ ।

छापो

असोज देखि बैशाखसम्म पानी कम पर्ने गर्दछ । सिंचाईको सुविधा नभएको स्थानहरुमा पालुवा तथा फूल फुल्ने बेलामा (फागुन,चैत) झन सुख्खा लाग्ने भएकोले फुल चाँडो झर्ने,फल चिचिलोमै झर्ने जस्ता समस्या खेपी रहेका छौं । यस समस्याको समाधानको बाटो बोटको फेंदको वरिपरी घाँसपात वा खर वा पराल जे सम्भब छ ४—६ ईन्च बाक्लो गरी छापो दिएमा बोटको फेंदमा भएको चिस्यान वास्पिकरण भई सुक्न पाउदैन,बोटको वरिपरी झारपातहरु चाँडै उम्रन पाउदैन । अन्तः मल्चिङ् कुहिएर माटोको गुणस्तर पनि सुधार हुँदै जान्छ

सिँचाइ

 पानी सबैको प्राण हो । पानी बीना बनस्पती पनि बाच्न सक्दैनन्, झन व्यबसायिक फलपूmल खेती गर्दाखेरी राम्रो आम्दानीको लागी सिंचाई बीना सम्भव छैन । कलिलो विरुवा हुर्काउन बर्षाद याममा बाहेक अरुबेला सधै चिस्यान भईरहेमा विरुवा स्वस्थ हुनुका साथै सप्रीएर चाँडै हुर्कन्छन् । फल लागीसकेको बयस्क बोटलाई फूल फुल्ने समयमा,फलको बृद्धि विकासको बेला पानीको अत्याबश्यक हुन्छ । यसबेला सिंचाइको अभाव भएमा फल कम लाग्ने,फलको बृद्धि विकास राम्रो नहुने,बोट कमजोर हुने जस्ता समस्या देखिन्छ । तर फल पाक्ने बेलामा चाँही पानी कम हुनु पर्दछ ,यदी पानी बढी भएमा फल खल्लो भई गुलियोपन कम हुन्छ ।

सिँचाइका तरिकाहरु

१. थोपा सिंचाइ तरिका

२. फोहोरा सिंचाइ तरिका

 ३. बेसिन सिंचाइ तरिका

४. रिङ्ग सिंचाइ तरिका

गोडमेल

बगैंचा हर हमेसा सफा राख्नु पर्दछ । बगैंचामा घाँस,झारपात आएमा विरुवा दिइएको मलखाद सोसेर लिई दिने हुनाले झारपात आउन दिनु हुदैन । त्यसैगरी बढी झारपात भएमा बगैंचामा हावाको संचार हुन पाँउदैन र प्रकाशको अपर्याप्तताले रोग र किराहरुको आश्रयस्थल बन्दछ ।

फल छाट्ने

फल छाट्नु एक महत्वपुर्ण प्राविधिक विषय हो । नेपालमा फल छाट्ने कार्य व्यबहारमा खासै गरिएको पाँइदैन । कीर्तिपुर स्थित बागबानी केन्द्रमा चाँही यो कार्य निरंन्तर रुपमागरिदै आएको छ । फल छाट्नेगर्नाले फलको आकारमा बढोत्तरी हुने, गुलियोपना बढ्ने भई फलको गुणस्तर ज्यादै राम्रो हुन्छ भने अर्कोतर्फ बोटलाई अतिरिक्त भार नपरी अर्को सालमा पनि सोही अनुपातमा फल फलाउनमा ठुलो सहयोग पु¥याउँदछ । साथै भारीरुपमा हागाँमा फल रहन दिएमा फल ठुलोभएपछि हागाँले थेग्न नसकि हागँै भाँचिने संभावना पनि रहन्छ । त्यसैले पहिलो पटक नास्पाती फुलेको १ महिनामा फलको दाना गुच्चा आकारमा पुगे पछि फल छाट्ने कार्य गर्नु पर्दछ । नास्पातीको फल झुप्पा झुप्पामा फल्ने गर्दछ ,यसका लागी पहिलो पटक एक झुप्पामा ३—४ गोटा फल रहने गरी,आकास तिर फर्केका, संगै जोडिएका, किराले कोतरेका, बेआकारका, असिनाले चोट पु¥याएका, तुलनात्मकरुपमा भेट्नो छोटो भएका, धेरै मसिना फलहरु कैचीले भेट् नो सहित काटेर हटाउनु पर्दछ, भने दोश्रो पटक पहिलो छँटाईको २०—२५ दिन पछि जब फल कागतीको दाना आकारमा पुग्दछ ,त्यसबेला एक झुप्पामा २ दाना मात्र राखी हटाइ दिनु पर्दछ । सिद्धान्तः नास्पातीमा ३० पात बराबर १ दाना फल राख्नु पर्दछ भन्ने छ । यसको अर्थ १ दाना फललाई आबश्यक खाद्य र पोषणतत्व पुरागर्न ३० गोटा पातको आबश्यकता पर्दछ । त्यसैले धेरै फल फलाएमा सबै फललाई खाद्य र पोषणतत्व आपुर्ति गर्न नसकी फलका दाना ससाना हुने हुन्छ । मसिना दाना धेरै फलाउनु भन्दा गतिलो दाना थोरै फलाउनु आर्थिक हिसाबले पनि लाभप्रद हुन्छ ।

फलमा थैलो हाल्ने

फलमा रोग किराले आक्रमण नगरोस् भन्नाका लागी फल छाँटी सकेपछि बोटमा एक पटक ढुसी तथा किट नाशक विषादी प्रयोग गर्नु उपयुक्त हुन्छ । फलमा थैलो हाल्ने काम खर्चालु र झन्झटिलो भएता पनि विशेषतः जापानी नास्पातीमा अनिबार्य नै हुने गर्दछ । जापानी नास्पातीको फल सानो हुँदा नै कमलो र गुलियो पस्न थालिसकेको हुन्छ । यसैबेला देखि चरा, अरिङ्गाल, चपाउने खाल्का किरा,चुस्ने खाल्का किरा, फल कुहाउने औंसे किरा  तथा असिना आदीले दुख दिने गर्दछ । माथीका यि बस्तुहरु बाट बचाउनुका साथै फललाई आकर्षक र गुणस्तरयुक्त फलाउनको लागी पनि व्यागिङ्ग गर्ने गरिन्छ । व्यागिङ्गका लागी दुई तरिका मध्ये एक तरिका अपनाउन सकिन्छ ।

पहिलो तरिका

 पुरानो पत्रिका बाट थैलो तैयार गर्ने । सकभर पानी तर्केर जाने किसिमको पत्रिका प्रयोग गर्नु प्रभावकारी हुन्छ । यदी त्यस्तो पत्रिका नपाइएमा जुनसुकै पत्रिकालाई थैलो बनाए पछि आलसको तेल वा अन्य कुनै खाने तेलले लेपन गरेर सुकाउने । यसो गर्नुको कारण फलमा थैलो राखे पछि पानी सजिलै तर्केर जाओस र पानीले गलेर नच्यात्तियोस भन्नाका लागी ले गरेको हो । तैयारी थैलोको साईज १५से.मि.चौडा र २० से.मि. लम्बाई हुनु पर्दछ, र थैलोको तल पट्टीको एक कुनामा हावा संचार हुनको लागी सानो प्वाल बनाईएको हुन्छ । फललाई थैलोमा घुसारे पछि मसिनो तामाको तारले फलको भेट्नोमा हलुकासंग बेह्री दिनु पर्दछ । यो थैलो एक सिजन मात्र प्रयोगमा ल्याउन सकिन्छ र यस्तो कागजको थैलोलाई चराहरुले चिथारेर च्यातिदिने गरेको पनि पाईन्छ । जापान तथा चीनमा बनीबनाउ यस्ता कागजका थैला किन्न पाईन्छ .

दोश्रो तरिका

नाइनलको मसिनो जाली बजारमा पाईने यस किसिमको जालीलाई १५ से.मि.चौडा र २० से.मि. लम्बाईको हुनेगरी थैलो सिलाउने र त्यस थैलो भित्र त्यही साईजको पत्रिकाको टुक्रा काटेर फललाई व्यागिङ्ग गर्न सकिन्छ । यस तरिकामा चराहरुले कागज च्यातेर फल खान सक्दैनन्, साथै अन्य माथी भनिएका नोक्सान गर्ने जिबहरुले पनि फललाई क्षति पु¥याउन सक्दैनन् र यो जालीको थैलो ५ बर्षसम्म पनि पुनः प्रयोगमा ल्याउन सकिन्छ । तर हरेक पटकको प्रयोग पछि धोएर सफा गरी राख्नु पर्दछ ।

फल टिप्ने

नास्पातीको फल टिप्दा होसियारी पुर्बक टिप्नु पर्दछ । फल साह्रै नरम हुने भएकोले दाग लाग्ने,बिग्रने हुन्छ । फल टिप्दा लठ्ठीले हान्ने,हाँगा हल्लाउने,फललाई तान्ने,फल टिपेर हु¥र्याउने गर्नु हुदैन । फललाई एक एक गरी समातेर माथी तिर मर्काएमा सजिलैरी चुडिन्छ र जतनसाथ ट्रे मा राखि शितल हावादार कोठामा फिंजाउनु पर्दछ ।

ग्रेडिङ्

नास्पातीको फल टिपेर ल्याएपछि थैलोहरु निकाल्ने,कैचीले भेट्नो काट्ने काम सकेपछि, थिचिएको,दाग लागेको, बेआकारको, किराले चोट पु¥याएको, बढी पाकेको, काँचो फललाई छुट्याएर राख्ने कामलाई सर्टिङ् गर्ने भनिन्छ र २४घण्टा शितल ठाँउमा राख्नु पर्दछ, यसबाट फलको स्वासप्रस्वास प्रकृया मन्थर भई भण्डारण क्षमता बढ्छ, यसलाई क्युरिङ् गर्ने भनिन्छ । यिनै प्रकृया पछि फललाई साईजको आधारमा ग्रेडिङ् गर्नु पर्दछ । फललाई धेरै ठुलो,ठुलो र सानो गरी तीन तहमा ग्रेडिङ् गर्न सकिन्छ ।

उत्पादन

नास्पातीको फल उत्पादनमा धेरै कुराले प्रभाव पार्दछ । राम्रो व्यबस्थापन पु¥याउन सकेको खण्डमा ७ बर्षे बोटमा २००—२५० दाना र १० बर्षे बोटमा ५००—७०० दाना फलाउन सकिन्छ । अर्थात बयस्क बोटले १०—१५ मे.ट. प्रति हेक्टर उत्पादन दिन सक्दछ ।

Leave a comment