+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

बहुबर्षिय हिउँदे र बर्षे डाले बर्षिय घाँस

किसानहरुले आ आफ्नो खेतबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी बर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन्। डाले घाँस, बहुबर्षिय घाँस र एक बर्षिय घाँसमा हिउँदे र बर्षे घाँस मिलाएर लगाउनु पर्दछ। यसो गर्न सकिएमा घाँसको खास अभाव रहदैन र जंगल बिनास पनि नियन्त्रण हुन्छ। सामुदायिक जंगलहरुमा समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरुको खेती गरी आवाश्यक घाँस उपलब्ध गराउन सकिन्छ।  

आवश्यक पुर्व तयारीहरु :

कोषे र अकोषे जातका घाँसहरु लगाउने ।

हिउंदको समयमा घाँस उत्पादन हुने जातहरुलाई प्राथमिकता दिने ।

खेत बारीका आली कान्लामा घांस खेती गर्ने ।

समुहमा उपयुक्त जातका डाले घांसको नर्सरी स्थापना गर्ने ।

सार्वजनिक जग्गामा समेत घांस खेतीको योजना बनाउने ।

  डाले घाँसहरु :

  •  किम्बु, चुलेत्रो, ईपीलेपिल, दुधिलो, बडहर, टाँकी, कोइरालो, निमारो आदि।

 एक वर्षीय घाँसहरु  

 हिउँदे घाँसहरु :

  • जै, सानो केराउ, बर्सिम, भेच आदि।

 बर्षे घाँस   : टियोसेन्टी, काउपी, बाज्रा, मकै, भटमासे, आदि। 

  •  बहुवर्षीय घाँसहरु :
  •  नेपियर, स्टाइलो, अमृसो, सेटारिया, मोलासेस, पास्पलम, क्लोभर, राईघाँस, कक्सफुट, सुडान, कुड्जु, डिस्मेडियम, आदि। 

एक बर्षे घाँस उत्पादन प्रबिधि :

 यस्तो प्रकारको घाँस बर्षै पिछे लगाईरहनु पर्दछ। नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरुमा जै, सानो केराउ, बर्सिम, भेच, सर्गम, टियोसेन्टी, केराउ, बाज्रा, भट्मासे, बोडी पर्दछन। घाँस लगाउँदा कोसा लाग्ने र नलाग्ने घाँसहरु मिलाएर लगाएमा माटोको उर्बरा शक्ति कायम रहनुको साथै पशुलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाईड्रेटको अनुपात पनि मिल्न जान्छ। 

 हिउँदे घाँस उत्पादन  :

  •  उपयुक्त एक बर्षे हिउँदे घाँसमा जै, सानो केराउ, बर्सिम, भेच पर्दछन। यी भुइँ घाँसहरु लगाउँदा मिश्रित तरिकाले लगाउन सकिन्छ। मिश्रित खेती गर्दा  माथि उल्लेख गरे अनुसार माटोको उर्बरा शक्ति समेत बच्न जान्छ। हिउँदे घाँसको बिउलाई असोज देखि मंगसिर सम्म छरी हिउँदको समयमा प्रयोग गर्न सकिन्छ। 

बर्षे घाँस उत्पादन :

  • एक बर्षे घाँसमा भटमास, मकै, मकैचरि, जोआर, बाजरा, बोडी, आदि पर्दछन। बर्षे घाँसका बिउलाई सामान्यतया बर्षा याममा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ। 

बहुबर्षे घाँस उत्पादन प्रविधि :

  • यस्तो प्रकारको घाँस एक पटक लगाए पछि बर्षौ सम्म घाँस उत्पादन गर्न सकिन्छ। यस्तो घाँस हैसियत बिग्रिएको सार्बजनिक चरन, सामुदायिक वन, खोलाको बगर, खेतबारीको डिल कान्ला आदिमा लगाउन सकिन्छ। पशुको लागि उपयुक्त बहुबर्षिय घाँसहारुमा नेपियर, स्टाइलो, अम्रिशो, राई, सेतो क्लोभर, जोइन्त भेच , पास्पालम, मोलासेस, सेटारिया, कक्स्फ़ुट, कुड्जु, ग्लाइसिन, सेन्ट्रोसिमा, सिराट्रो, डेस्मोडियम, ल्यावल्याब, आदि हुन्।

इपिल इपिल :
इपिल इपिल कस्तो डाले घाँस हो ?
 मझौला किसिमको बोट हुने कोसे जातको बहुउपयोगि डालेघाँस हो ।
 यसको पातमा २८ देखि ३४ प्रतिशतसम्म क्रुड प्रोटिन पाईने ।
 पशुलाई धेरै खुवाउन भने हुँदैन। एक भाग इपिल इपिलको घाँससँग तीन चार भाग अरु घाँस वा पराल मिसाएर खुवाउनु पर्छ ।
 पशुहरुमा इपिल इपिलको मात्रा बढी भएमा शरिरको कपाल झर्ने, भोक नलाग्ने आदि कुप्रभावहरु देखिन्छन् ।
 हांगाहरु दउराको रुपमा प्रयोग गर्न सकिन्छ भने पात र हांगाका मसिना टुप्पाहरु खेतबारीमा मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
इपिल इपिल कस्तो कस्तो ठाउंमा लगाउन सकिन्छ ?
 इपिल इपिल तराई देखि मध्य पहाडि भेगको १५०० मिटर उचाइसम्म पहारिलो (घाम लाग्ने) जग्गामा राम्रोसँग सप्रिन्छ ।
 इपिल इपिल बारीको डिलमा करिव ४,५ हातको फरकमा लगाउन सकिन्छ ।
 घुंडासम्म मात्र राखेर काट्रने व्यवस्था गर्ने हो भने प्रत्येक एउटा नेपियर घाँसको बिचमा ३ ४ बोट हुने गरि १ बित्ताको फरकमा लगाउन सकिन्छ ।
 खरबारी र भीरपखेरामा पनि राम्रोसँग हुर्कन्छ ।
इपिल इपिल बाट घाँस कहिले लिन सकिन्छ ?
 बिरुवा सारेको एक बर्ष भित्रै अथवा १–१.५ मिटर अग्लो भए पछि पहिलो पटक डाला काट्न सकिन्छ ।
 बढी घाँस लिन र बारीको बालिलाई सेप हुन वाट जोगाउन एक मान्छे भन्दा बढी बढ्न नदिई घुंडासम्म मात्र हुने गरि १–२ महिनाको फरकमा डाला काटिरहनु पर्दछ ।

इपिल इपिलको बेर्ना कसरी उमार्नेे ?
 बेर्ना उमार्नको लागि इपिल इपिलको बीउ फागुन वा चैत महिनामा नर्सरीमा रोप्ने ।
 बीउ रोप्नु भन्दा पहिला एक भाग बिउको लागि १५ भाग पानीको हिसावले उमालेर निकालेको तातो पानीमा २ ३ मिनेटसम्म भिजाउनु पर्दछ ।
 त्यस पछि विउलाई निकालेर चिसो पानीमा २४ घण्टासम्म भिजाउनु पर्दछ ।
 यसरि भिजाएको विउ दुइ दुइ वटा गेडाको दरले प्लाष्टिक थैलिमा रोप्नु पर्दछ ।
 बिरुवा अलि ठुलो भएपछि एउटा थैलिमा एउटा मात्र विरुवा रहने गरि बढी विरुवा छांट्ने ।
 असार साउनमा सार्नलायक बेर्ना तयार हुन्छन् ।
 इपिल इपिलको विउ बर्षातमा सिधै बारिको डिलमा कुलेसो खनेर एक एक बित्ताको फरकमा पनि रोप्न सकिन्छ ।

किम्बु :

किम्बु कस्तो डाले घाँस हो ?
 किम्बु छिटो बढ्ने बहुउदेश्यीय, बहुवर्षिय पतझर हुने खालको सानो बोट हुने डाले घाँस हो चांडै पलाउने डाले घाँसको रुपमा चिनिन्छ ।
 यसमा २० प्रतिशत भन्दा बढी क्रुड प्रोटिन पाइन्छ ।
 भेडा बाख्राको लागि किम्बु पूर्ण आहाराको रुपमा लिइन्छ ।
 किम्बुको हाँगा असोज देखि पुससम्म पटक पटक काटेर खुवाउन सकिन्छ ।
किम्बु कस्तो ठाउंमा लगाउन सकिन्छ ?
 किम्बु तराई देखि उच्च पहाडि भेगको २००० मिटर उचाईसम्मको क्षेत्रमा लगाउन सकिन्छ ।
 समतल, गहिरो, मलिला राम्ररी पानीको निकास भएको चिम्टाइलो माटो र राम्ररी चिस्यान राख्न सक्ने क्षमता भएको माटोमा लगाउन उपयुक्त हुन्छ ।
 चिस्यान भएको ठाउंमा बढी सप्रने छिटो किम्बु खोल्सा खोल्सी वा नदी नालाको छेउ छाउमा पनि लगाउन सकिन्छ । तर सुख्खा पाखा पखेरामा पनि हुर्कन सक्दछ । बारीको डिलमा पनि राम्रो हुर्कन्छ ।
बिरुवा सार्दा ध्यान दिनु पर्ने कुराहरु :
 बारीको डिल वा कान्लामा लगाउंदा एक बिरुवा देखि अर्को बिरुवाको दुरि करिव १ मिटर राख्ने ।
 विरुवा रोप्दा लामो जरा भएमा प्रुनिङ (कांटछांट) गर्नु पर्दछ । उखेलेको विरुवा नसुकोस भनेर छहारीमा राख्नु पर्दछ ।
 रोपेको विरुवालाई हल्कासँग उचालि छाडेमा जरा दोब्रिन पाउंदैन । विरुवा सिधा अवस्थामा रोपि हल्का दबाव दिनु पर्दछ ।
 विरुवा रोपे पछि सतहवाट १० २० से.मि. उचाई कायम गरि बांकि प्रुनिङ (कांटछांट) गर्नु पर्दछ ।
किम्बु कसरी फैलाउने ?
 किम्बु डाँठ वाट फैलाउन सकिन्छ ।
 पुस माघ महिनातिर किम्बुको पात झर्छ वा झर्न सुरु गर्दछ । त्यसैले पुसको अन्तिम वा माघमा एक वर्ष पुरानो हांगावाट करिव एक अंगुल मोटो र डेढ बित्ता लामो डाँठ तयार पार्नु पर्दछ । हांगा नया हुनु हुँदैन र बढी छिप्पिएको पनि काम लाग्दैन ।
 तयार भएको डाँठलाई प्लाष्टिकको थैलिमा एक एक गरेर डाँठको दुई भाग माटो मुनि र एक भाग माटो माथि पर्ने गरि रोप्नु पर्दछ । त्यसपछि छाया र नियमित रुपमा पानी दिनु पर्दछ । यसरि रोपिएका डाँठ बाट असार साउनमा सार्नलायक बिरुवा तयार हुन्छन् ।


भटमासे

 भटमासे बहुवर्षिय, गहिरोसम्म जरा जाने, पातै पात भएको, मध्यम उचाई भएको, ३ मिटरसम्म अग्लो हुने एउटा वहुउदेश्य कोशे घाँसेवाली हो ।
 यसलाई हेजको रुपमा भू(संरक्षणका निम्ति, डिल कान्लामा हेजरोमा पनि लगाउन सकिन्छ ।
 यो घाँसलाई गाईबस्तुको आहाराको लागि खास गरि भेडा तथा बाख्राको लागि उपयुक्त आहाराको रुपमा प्रयोग गर्न सकिन्छ ।
विशेषताः
सुख्खा सहन सक्ने क्षमताः यो घाँसले साधारणतया सुख्खा मौसम काफि मात्रामा सहन सक्दछ र सुख्खा यामको ३ ४ महिनासम्म हरियो रहि रहन्छ ।
पानी सहन सक्ने क्षमताः यो घाँस पानी जम्ने तथा कम पानी निकास भएको जग्गामा पनि बांच्न सक्दछ ।


हावापानी तथा माटो : 

यो घाँस समशितोष्ण देखि उष्ण प्रदेशिय हावापानीमा लगाउन सकिन्छ । यो घाँस चिम्ट्याईलो देखि बलौटे माटोमा, अम्लिय माटोमा, कम उर्वर माटोमा पनि फस्टाउन सक्छ ।
जग्गाको तयारी तथा रोपाई :
 जग्गाको राम्ररी तयारी गरे पछि मात्र यो घाँस लगाउन सकिन्छ ।
 नर्सरीमा विउ रोप्दा नर्सरी झारपात वाट मुक्त भएको हुनु पर्दछ ।
 नर्सरीमा हुर्काईएका २ महिनाका विरुवालाई आवश्यक ठाउंमा सार्न सकिन्छ । विरुवाको संख्या तथा दुरी त्यसको प्रयोगमा निर्भर गर्दछ । हेज रोमा लगाउनको लागि एक विरुवा देखि अर्को विरुवाको दरी अलि नजिक हुनु पर्दछ । एक लाईन देखि अर्को लाईनको दुरी ०.५ देखि १.५ मिटर, एक विरुवा देखि अर्को विरुवाको दुरी ०.५ देखि १.० मिटर हुनु पर्दछ । शुरुमा ढिलो बढ्ने भएकाले लगाएको ६ महिनासम्म झारपात नियन्त्रण राम्ररी गर्नु पर्दछ ।
कटाई व्यवस्थापन :
 यो घाँस छिटो बढ्ने तथा कटाई लिए पछि पुनः छिटो झांगिएर आउने भएकाले ३५ देखि १०० से.मि. उचाई पुगेपछि कटाई लिन सकिन्छ । मौसम अनुसार घाँसको कटाईको अन्तर फरक पर्दछ । हरेक २ देखि ३ महिनाको अन्तरमा घाँस कटाई गर्दा उत्पादन बढी हुन्छ ।

सुपर नेपियर
यस घाँसको खेती उष्ण तथा समशितोष्ण हावापानीमा गर्न सकिन्छ ।

  • समुन्द्र सतह देखि ४५०० फिटको उच्चाईसम्म यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ ।
  • यस घाँसको खेती चिम्टे र सिम जग्गा वाहेक सवै किसिमको माटोमा गर्न सकिन्छ तर पानी नजम्ने पांगो माटो यसको लागि अति उपयुक्त हुन्छ ।


जमीनको तयारी :

  • वाली काट्नासाथ वा खाली जग्गा रहेको छ भने २–३ पटक खनजोत गरी डल्ला फुटाई माटोलाई वुर्वुराउंदो वनाई पाटा लगाईसम्म वनाउनु पर्दछ ।
  • यो घाँस रुटस्लिप वा कटिङ्गबाट लगाउन सकिन्छ ।


मलको मात्रा :

  • यो घाँस एक पटक लगाए पछि ३–४ वर्षसम्म लगातार हरियो घाँस उपलव्ध हुने भएकोले पहिलो पटक यो घाँस लगाउंदा प्रति २०–२५ मे.टन. गोवरको मल माटोमा हाली राम्रोसँग मिलाउनु पर्दछ ।
  • नेपियरको कटिङ्ग लगाउनुभन्दा अगाडि प्रति हुक्टर ५० के.जी. नाइट्रोजन, ५० के.जी. फास्फोरस तथा ४० के.जी. पोटास जमिनको अन्तिम तयारीमा हाल्नु पर्दछ ।
  • प्रत्येक कटिङ्ग उप्रान्त प्रति ह्क्टर ३० के.जी. नाइट्रोजन हालेको खण्डमा बढी उत्पादन लिन सकिन्छ । जुन ठाउँमा गोवर वा कम्पोष्ट मल छैन त्यस्तो ठाउँमा जग्गा तयार गर्दा १०० के.जी नाइट्रोजन, ५० के.जी. फास्फोरस तथा ४० के.जी. पोटास जमीन तयार गर्दा नै माटोमा हाल्नु पर्दछ ।
    लगाउने समय :
     उपयुक्त समय जेष्ठ आषाढ हो तर कार्तिक र फाल्गुण महिनामा पनि लगाउन सकिन्छ तर यस समयमा लगाएको घाँसमा सिचाईको आवश्यकता हुन्छ ।
    विउको मात्रा र लगाउने तरिका
     यो घाँस कटिङ्गबाट लगाउँदा ३ वटा आख्ला भएको कटिङ्ग ४५ डिग्रीको कोण वनाई एक कटिङ्ग देखि अर्को कटिङ्गको दूरी १५ से.मी. को फरकमा लगाउनु पर्दछ ।
     कटिङ्ग लगाउँदा दुई तिहाई मात्र जमीन मुनि र एउटा आंख्ला जमीन भन्दा माथी पर्ने गरी लगाउनु पर्द्छ ।
     एक लाइन देखि अर्को लाइनको फरक ९० देखि १०० से.मी. राख्नु पर्दछ । भिर, पहिरो तथा कान्लोमा लगाउंदा ६० से.मी. राख्नु पर्दछ । भिर, पहिरो तथा कान्लोमा लगाउँदा ६० से.मी. लाइनबाट लाईनको दुरी र ५० से.मी विरुवाबाट विरुवाको दूरीमा लगाउनु पर्दछ ।
     प्रति हेक्टर १०,००० देखि २५,००० कटिङ्ग वा रुटस्लिपको आवश्यकता पर्दछ ।
    मिश्रित खेती
     नेपियर घाँसको पौष्टिकतामा वृद्धि ल्याउन कुट््जु, बोडी, लोविया, सिरेट्रो र सेनट्री दुई लाईनको विचमा लगाउन सकिन्छ ।
     यो घाँस लगाएको तीन महिना पछि काट्न उपयुक्त हुन्छ ।
     वर्षा याममा ६(८ हप्ताको फरकमा कटिङ्ग लिन सकिन्छ ।
     हिउंदमा १०(१२ हप्ताको फरकमा कटिङ्ग लिनलाई उपयुक्त हुन्छ ।
     कटिङ्ग लिँदा जमीनको सतह देखि ६ इन्च देखि १२ इन्चको उच्चाईमा लिनु पर्दछ ।
     औसत उत्पादन ५००(६०० क्वीन्टल प्रति हेक्क्टर हुन्छ भने राम्रोसँग मल जल गरी खेती गरेमा १२००–१५०० क्वीन्टलसम्म लिन सकिन्छ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment