हालको आकाशिदो आवादीको साथै बढ्ढो पशुहरूको संख्याको आवश्यकता पूर्तिको लागि चाहिने खाद्यान्न, आहारा, स्याउला, दाउरा, काठको संकट दिनानुदिन विकराल हुँदै गइरहेको छ । उपलब्ध जग्गामा एक पटकमा एउटै मात्र बाली लगाएर प्रति इकाई जग्गाको उत्पादकत्व बढाउन सकिन्न । एउटै जग्गामा अन्न बाली र घाँसखेती तथा रुख बिरुवा साथसाथै खेती गर्ने प्रणालीलाई एग्रोफरेष्ट्री भनिन्छ । यसमा मुख्य जग्गामा अन्न बाली र छेउछाउ तथा डिल कान्लामा घाँसखेती गरिन्छ । नेपालको खास गरेर मुख्य पहाडको खेती प्रणाली एग्रोफरेष्ट्रिको रुपमा छ। पातलो गरेर डालेघाँस अथवा रुखहरू भएको भित्रि जग्गामा भुईघाँसको खेती गर्ने प्रणाली सिल्भिपास्चर भनिन्छ । सिल्भिपास्चर प्रणालीमा खास गरेर सेप खप्न सक्ने खालका घाँसहरू जस्तै गिनी र फरेज पिनट आदि लगाउन सकिन्छ । उपलब्ध सिमित जग्गाको अधिकतम सदुपयोग गर्नुको साथै खाद्यान्न, घाँस दाउराको दैनिक आवश्यकता पूर्तिका लागि एग्रोफरेष्ट्री प्रणालीद्वारा खेती गर्नु आजको आवश्यकता भएको छ । यसरी खेती गर्दा मुख्य बालीको उत्पादन कम गर्नु आजको आवश्यकता भएको छ । यसरी खेती गर्दा मुख्य बालीको उत्पादन कम नहुने गरी खेतीबालीमा घाँस तथा रुख बिरुवा लगाउन सकिन्छ । यसरी घाँस तथा डालेघाँससँग खेती गर्नाले खेती गर्ने जग्गाको भू-क्षय रोक्ने र माटो मलिलो बनाउने गर्दछ ।
अन्न बालीको साटो वृक्षारोपण गरिएको जग्गामा घाँसखेती गरेर पशुहरूको लागि घाँस इन्धनको लागि दाउरा र काठ आदिको उत्पादन गर्न सिल्भिपास्चर प्रविधि अपनाउन सकिन्छ । नेपालमा वन जंगलभित्र गाईवस्तु चराउने परम्परागत चलन पाइन्छ । सिल्भिपास्चर प्रणालीमा रुखहरूलाई कायमै राखी भुईघाँसको विकास हुने भएकोले जंगलभित्रको चरन क्षेत्रमा विकास गर्न सकिन्छ । एग्रोफरेष्ट्री वा सिल्भिपास्चर प्रणाली अन्तर्गत खेती गर्दा निम्न कुरामा ध्यान पुऱ्याउनु पर्दछ ।
(क) उपयुक्त रूख बिरूवाको छनौट :
कृषिवन प्रणाली अर्न्तगत खेती गर्दा उपयुक्त जातको रुख बिरुवाको छनौटमा विशेष ध्यान पुऱ्याउनु पर्दछ । यस प्रणालीमा प्रयोग गरिने रुखहरू बहुवर्षिय, बहुउपयोगी, हलक्क बढ्ने, बढी पोषिलो, धेरै उत्पादन दिने स्थानीय हावापानीमा हुर्कने बढ्ने तथा फस्टाउन सक्ने कोशे जातको रुख बिरुवाहरू छान्नु पर्दछ । एग्रोफरेष्ट्री तथा सिल्भिपास्चरको लागि निम्न जातका रुखहरू उपयुक्त मानिन्छन् । इपिल इपिल, कोईरालो, टाँकी, किम्बु, बैंश, भोटेपीपल आदि ।
(ख) बिरुवा संख्या :
कृषिवन तथा सिल्भिपास्चर प्रणाली अन्तर्गत रुख बिरुवा लगाउँदा संख्यामा ध्यान पुयाउन जरूरी छ । साधारणतया एक हेक्टरमा ४०० देखि ६०० सम्म ठुला जातका बिरुवा सजिलै लगाउन सकिन्छ । यदि बिरुवाको घनत्व बढी भएमा छायाँको प्रभाव बढी हुन गई सँगै लगाएको अन्न बाली वा भुईघाँसको उत्पादनमा असर पर्न सक्छ ।
(ग) व्यवस्थपन :
यस प्रणाली अन्तर्गत लगाइएको रुख बिरुवा वा बालीको राम्रो व्यवस्थापन गर्नु पर्दछ । लगाइएको अन्न वा घाँस बालीलाई रुख बिरुवाको छाहारीले नछोपोस् भनेर ठुलो, बढी छहारी हुने धेरै फैलिएका हाँगाहरूलाई बेलैमा छाटिदिनु पर्दछ । लगाएको रुख बिरुवा ज्यादै ठुलो भएमा स्याउला, दाउरा काट्न अप्ठेरो हुने भएकोले रुख बिरुवालाई ठीक उचाईमा राखेर छाटनी गर्नु पर्दछ । यदि सिल्भिपास्चर अन्तर्गत घाँसखेती गरेर त्यसमा गाईवस्तु चराउनु परेमा गाईवस्तुहरूले बिरुवालाई निमिट्यान्न हुनेगरी चर्न नपाओस भनेर विशेष ध्यान दिनु पर्दछ ।
कृषिवन र हेजरो
हजरो भनेको बारीको डिलमा भिरालो पाखामा जग्गाको ढलान अनुसार सिधा लाइन मिलाएर बाक्लोसँग बिरुवा लगाई होचो पार्ने गरी काँटछाँट गरेर घाँस तथा हरियो पदार्थ उत्पादन गर्ने प्रणाली हो । यसरी हेजरो लगाउँदा माटो बग्नबाट रोकथाम, पानीको बहावलाई घटाउने जग्गााको पानी सोस्ने क्षमता बढाउने र आवश्यक घाँसपात, हरियो मल र दाउरा समेत केही मात्रामा उत्पादन लिन सकिन्छ ।
कृषिवन हेजरो स्थापना गर्ने तरिका :
- सिधै बीउ छरेर अथवा बेर्ना सारेर ।
- डिल कान्लामा अथवा समथर रेखा लाइन मिलाएर एउटा लाइनबाट अर्को लाइन कम्तिामा ४ मिटरको दुरी राखेर ।
- एउटा बिरुवाबाट अर्को बिरुवाको दुरी आधा मीटर राख्ने ।
- बीउ छर्ने वा बिरुवा सार्ने ठाउँको राम्रोसँग खनजोत गरी जग्गा तयार गर्ने ।
- वर्षा शुरू हुने वित्तिकै बीउ बिरुवा रोप्ने ।
- पहिलो वर्षमा गोडमेल गरी राख्न र झारपात हटाउने ।
हेजरो व्यवस्थापन :
- पहिलो वर्षमा बिरुवालाई कम काट्ने ।
- दोश्रो वर्षबाट घाँसको ६ देखि ८ हप्ताको अवधिमा र दाउराको लागि अलि लामो अवधिको अन्तरालमा काट्ने ।
- सँगै लगाएको बाली अनुसार १ / २ देखि १ मीटरको उचाई हुने गरी हेजरो काट्ने ।
कृषिवन हेजरोको लागि उपयुक्त जात/उपजातहरू :
- बढी मलिलो जग्गामा इपिल इपिल ।
- रुखो जग्गामा क्यालिआन्डा, ग्लिरिसिडिमा ।
- बढी चिस्यान भएको ठाउँमा सेस्वानिया ।
- क्षारीय माटो भएको ठाँउमा डिस्म्यान्थस ।
- विभिन्न अरू सुहाउँदा जाति उपजातिहरू ।
कृषिवन अन्य देशहरूमा यो तरिका पुरानो भए पनि नेपालमा यसको शुरूवात नयाँ नै मान्नु पर्दछ । कृषकवर्गमा यसले जति लोकप्रियता कमाउनु पर्ने हो विभिन्न कारणले गर्दा हुन सकेको देखिदैन । यस प्रविधिको मुख्य फाइदा अत्याधिक मात्रामा हरियो उत्पादन गर्नु हो । बढी मात्रामा हरियो उत्पादन हुने यस तरिकाले केही मात्रामा डाँठको समेत उपयोग गर्न रहेको छ र पातको मात्रामा पनि वृद्वि हुनाले हो । नेपालमा खासगरी इपिल इपिल, टाँकी, किम्बु जस्ता उच्च कोटिका डालेघाँसका बिरुवालाई रुखको रुपमा हुर्काई त्यसबाट चाहेजति हरियो उत्पादन लिन सकिरहेको छैन । यसलाई सिल्भिपाश्चरको रुप दिन र अझ बढी हरियो उत्पादन लिन यसमा नेपियर बहुवर्षिय घाँस पनि मिसाउन सकिन्छ ।
कृषिवनमा १ मीटर चौडाईमा नबढाई लम्बाई जग्गाको बनावट अनुसारको जमिन साधारण किसिमबाट खनजोत गरी कम्पोष्ट मल हाली जग्गा तयार पारेपछि इपिल इपिल बीउ बाक्लो गरी छर्ने । इपिल इपिलको बीउको दररेट प्रति रोपनी करिब आधा के.जी. (५०० ग्राम) देखि १ के. जी. सम्म राख्न पर्छ । माटोमा चिस्यान कम छ भने बीउलाई २४ देखि ४८ घण्टा पानीमा भिजाउने वा ५० देखि ६० डिग्री से. तापक्रममा ३ देखि ५ मिनेट उमाल्ने ।
कृषिवनमा नेपियर सेट्स एक बोटदेखि अर्को बोटको दुरी ५० से.मी. राखी रोप्नु पर्ने हुन्छ । नेपियर सेट बनाउँदा ३ वटा आँख्ला एउटा सेटमा राख्नु पर्दछ र गाड्दा ४५ डिग्रीको कोण बनाई एउटा आँख्ला माटो मुनी, दोश्रो आँख्ला भुईको सतहमा र तेश्रो जमिनको सतहभन्दा माथि हुनु आवश्यक छ । नेपियर सेट्स काट्दा मुनीको भाग छड्के र माथिको भाग गोलो पारी च्वाट्ट काट्नु पर्छ ।
कृषिवनमा किम्बुको कटिङ्गलाई २५ से.मी. फरक पारी रोप्न सकिन्छ । यसको कटिङ्ग बनाउँदा सिसाकलम (पेन्सिल) को साईज बराबरको काटी नेपियर जस्तै ४५ डिग्रीको कोण बनाई रोप्नु पर्दछ । किम्बु कटिङ्ग गर्दा नेपियर जस्तै एउटा छेउ छड्के काट्नु पर्छ, जुन माटो मुनि बस्छ र अर्को छेउ सिधा च्वाट्ट गोलो पारी काट्नु पर्दछ जुन बाहिर हावामा माटो माथि रहन्छ । यस प्रकार हरियो काट्दा इपिल इपिल तथा किम्बुलाई १ मीटरभन्दा बढ्न नदिई सिकेचर (ठुलो कैंची) ले तीन तिरबाट (दुइटै साइट माथि) काँटछाँट गरे जस्तो काट्नु पर्दछ । यस प्रकार प्रत्येक हप्ता एक पटक हरियो काट्न सकिने हुन्छ । र एउटा सजाइएको सुन्दर बार जस्तो पनि देखिन्छ । त्यस्तै नेपियरलाई पनि तीन तिरबाट काट्न सकिन्छ । तर यसको उचाई १ मीटर नभई आधा मीटरमा नबढाई राख्नु पर्छ । वर्षायाममा नेपियरलाई पनि हप्ताको एकपल्ट हरियो काट्न सकिन्छ । यस प्रकार साधारण तरिकाभन्दा यसबाट ४ देखि ५ गुणा बढी हरियो उत्पादन लिन सकिन्छ ।
१ कृषिवनमा राम्रो हेजरो स्थापना गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्न छ ।
- सजिलैसँग हुर्काउन सकिने बिरुवाको जात
- कम हेरचाहमा पनि हुर्काउन सकिने
- पोसिला किसिमका जातहरू छनौट गर्नु पर्दछ ।
- कमसल माटोमा पनि हुन सक्ने जातहरू
२ घाँसपातको लागि लगाएका बीउ बिरुवाहरूमा मलजल गर्नुप्रछ भन्ने कुरा हालको परिस्थितिमा अलि अव्यवहारिक देखिन्छ । त्यस्तै राम्रो उर्वरा जग्गा पनि खेतीबारीमा जाने हुनाले हेजरोको बिरुवाहरू कमसल माटोमा पनि सप्रन सक्ने भएमा उपयुक्त हुन्छ ।
३ कृषिवनमा नर्सरीको बिरुवाबाट मात्र नभई सोझै बीउबाट उमार्न सकिने :
कृषिवनमा हेजरो स्थापना गर्न बाक्लोसँग बिरुवा लगाउन पर्ने भएकोले नर्सरीबाट बिरुवा बोकेर ल्याएर लगाउन तथा नर्सरी स्थापना गर्न बढी खर्च लाग्ने हुन्छ । यदि बीउ सोझै रोपेमा सो खर्च कटौति हुने हुनाले हेजरो स्थापना गर्न सजिलो हुन्छ र कम खर्च लाग्ने हुन्छ ।
४) चाँडै हुर्कने र बहुवर्षिय :
हेजरोको लागि लगाएका बीउ बिरुवाहरू चाँडो बदलिराख्न अफ्ट्यारो पर्ने हुनाले एक पटक लगाएपछि धेरै वर्षसम्म उत्पादन दिने बहुवर्षिय बिरुवाहरू वा बीउ लगाएमा यो बढी सुबिधाजनक हुन्छ ।
५) बढी समय खप्ने :
धेरै पटक काट्दा पनि बिरुवाले उत्पादन दिई रहन सक्ने र लामो समयसँग घाँसपात उत्पादन दिन सक्ने जातिहरू प्राथमिकता दिन पर्दछ ।
६) धेरै बीउ उत्पादन हुन सक्ने :
धेरै बीउ उत्पादन हुन सक्ने भएमा बीउबाट अन्य स्थानमा पनि हेजरोको स्थापना गर्न सकिन्छ ।
७) राम्रोसँग पशुले रूचाउने, विषालु नभएको र पोषिलो : हेजरोको लागि प्रयोग गरिएका बिरुवा पशुले उपभोग गर्ने भएकोले पशुहरूले राम्रोसँग खाने र पोषिलो हुनु पर्दछ ।
८) सुख्खा समयमा पनि हरियो हुने :
घाँसपातको समस्या सुख्खा मौसममा बढी हुने भएकोले सुख्खा याममा पनि हरियो हुने जात लगाएमा पशु आहाराको समस्या समाधान गर्न सहयोग पुयाउँदछ ।
९ हावामा भएको नाइट्रोजन स्थिर गर्न सक्ने :
विशेष गरी हेजरोको लागि कोशे प्रजातिको छनौट गर्नु पर्दछ । यसले हावामा भएको नाइट्रोजन स्थिरिकरण गर्ने र यो आफै पनि प्रोटिनयुक्त र पोषिलो हुन्छ । नेपालमा खेती प्रणालीमा हेजरो स्थापनाले निकै महत्वपूर्ण स्थान ग्रहण गर्न सक्ने देखिएको छ । यसबाट प्रत्यक्ष फाइदाको रुपमा हरियो घाँस, मल आदि प्राप्त गर्न सकिन्छ भने अप्रत्यक्ष फाइदाको रुपमा घाँसपात संकलन गर्न सजिलो, पानी, माटाको संरक्षण, भूक्षय नियन्त्रण र बढी बाली उत्पादन लिन समेत सकिन्छ ।
कृषिवनमा वातावरण सुधारमा घाँसेबालीको महत्व
मानव जीवनको लागि स्वच्छ वातावरण नभई नहुने कुरा हो । वातावरण संरक्षणका कठिनाईहरूलाई हटाई स्वच्छ वातावरण कायम राख्न घाँस खेती तथा चरन विकास कार्यक्रमको महत्वपूर्ण भूमिका रहन्छ । कुनै पनि ठाउँको वातावरण स्वच्छ राख्नका लागि सो ठाउँको ४७ प्रतिशत भू-भाग वन जंगलले ढाकेको हुनु पर्दछ । चुरे र भावर क्षेत्रको वनजंगल लगायत वातावरणमा भैइरहेको न्यूनीकरणले त्यस क्षेत्रको वातावरण अन्य क्षेत्रको भन्दा बढी असन्तुलित भै रहेको छ। तसर्थ सन्तुलित वातावरण कायम गर्न कृषकहरूले घाँसखेती र डाले घाँसको विरुवा रोप्नु पर्ने देखिन्छ ।
देशको कतिपय क्षेत्रहरूमा बढ्दो बसाइ सराई, गलत कृषि प्रणाली, जंगल फडानी, अव्यवस्थित चरन, अत्याधिक पशुचाप आदिको प्रकोपबाट जमीनको सतहको माटो नोक्सानी भई भू–क्षय, बाढी पहिरोको प्रकोप बढी वातावरणमा नै असन्तुलन पैदा हुने खतरा बढेको देखिन्छ। चरन विकास तथा घाँस खेतीबाट पशुहरूलाई पोसिलो घाँस प्राप्त भई उत्पादन लागत कम हुनुका साथै वातावरण सन्तुलनमा सकारात्मक प्रभाव पर्ने हुनाले घाँसखेती र चरन विकासलाई प्रभावकारी र तीब्रगतिमा संचालन गर्नुपर्ने हुन्छ ।
१. कृषिवनमा वातावरण सुधारमा घाँस विकासको भूमिका
वनस्पति र पर्यावरण बीच एक आपसमा असाध्यै नजिकको सम्बन्ध रहेको हुन्छ। हराभरा स्थिति विना स्वच्छ वातावरणको कल्पना पनि गर्न सकिदैन। स्वच्छ तथा सन्तुलित वातावरणको सिर्जना गर्न वन तथा घाँसखेती साथै डालेघाँस विकासको महत्वपूर्ण भूमिका रहन्छ ।
२. कृषिवनमा भू-क्षय रोकावट
देशको वातावरणमा असन्तुलन पैदा भएपछि विभिन्न प्रकारका विपत्तिहरू पैदा हुन्छन् । ठुलो मात्रामा भू–क्षय हुनु पनि एउटा विपत्ति हो । एउटा सानो खहरे खोलाले त हजारौं उर्वरा मलिलो माटो बङ्गालको खाडीतर्फ लैजानमा मद्दत गर्दछ भने अन्य ठुला ठुला नदीहरूले के कति परिमाणमा देशको कृषियोग्य भूमिलाई वगर बनाईरहका होलान हामी सहजै अनुमान लगाउन सक्दछौं। गलत तरिकाले कृषि प्रणाली, अनियन्त्रित बसोबास र लापरवाही ढङ्गले हरियालीको विनास गर्ने गर्दा दिनप्रतिदिन पहिरो र बाढीको प्रकोपबाट मलिलो माटो नोक्सान भइरहेको छ । यसर्थ भू–क्षय रोक्नका लागि घाँस खेती तथा चरन विकासको टड्कारो आवश्यकता छ । बाक्लो घाँस खेती तथा चरन विकासले अन्य बाली भन्दा बढी माटो
स्थिर गाउने निष्कर्ष अमेरिकन वैज्ञानिकहरूले गरेका छन्। जस अनुसार हरियो चरनमा ९३ प्रतिशत माटो बग्नबाट कम गरेको तथ्याङ्क देखिन्छ। यस्तै डालेघाँस Live fencing ले हुरी वा आँधीबेरीबाट हुने भू-क्षय कम गराउँदछ ।
३. नाइट्रोजन स्थिरीकरण र रि-साइक्लिङ
विभिन्न कोशेजातका वनस्पतिहरूले हावामा भएको नाइट्रोजन लिई जरामा पोको पारेर Nodulation स्थिर गर्ने कुरा थाहा भएकै हो । यसरी जरामा स्थिर भएको नाइट्रोजनलाई अन्य रुखविरुवा र घाँसले लिई राम्रो उत्पादन दिन सक्दछन्। यसरी स्थिर गरेको नाइट्रोजन घाँसले लिएपछि उक्त घाँस जनावरले खान्छ र केही तत्व जनावरको शरीरमा रही धेरै जसो गोबर र पिसाबबाट पुन घाँस मैदानमा फर्किन्छन्। इयान भ्यालिस (१९८५) को अनुसार जनावरले घाँसको माध्यमबाट लिएको नाइट्रोजन मध्ये ८७-९६ प्रतिशत पुन : जमीनमा फर्किन्छ यसरी जमीनमा फिर्ता भएको नाइट्रोजन माटोको जैविक प्रदार्थ soil organic matter को रुपमा फेरी त्यहाँ भएको रुखविरुवा र घाँसहरूले लिन्छन् र पुन : सोही चक्र शुरु हुन्छ । यस किसिमको चक्र प्रकृयाले रुखविरुवा घाँसहरू राम्रोसँग बढ्ने र बढी हरियो रहने हुँदा वातावरण समेत स्वास्थ्य हुन जान्छ।
४. पृथ्वीको तातोपन घटाउने
हामी सबैलाई थाहा भएकै कुरा हो कि रुखहरूले हावामा भएको कार्वनडाइअक्साइड लिन्छ र कार्वनको रुपमा जरामा भण्डार गर्दछ जसले गर्दा विश्वव्यापी रुपमा बढ्दै गएको उष्णतालाई कम गर्दछ। Soil Organic Matter तर डुक युनिभरसीटीको नयाँ अध्ययन अनुसार गर्मी हावापानी भएका देशहरूमा कार्बन भण्डार गरेर तातो बढी हुनबाट जोगाउने उपायमा धेरै रुख रोप्नु भन्दा हरियो चरन मैदानको विकास गर्नु बढी उपयुक्त हुन्छ । अध्ययनकर्ता रोवट ज्याक्सन भन्दछन् कि रुखहरूले बढी कार्वन भण्डार गर्दछन् भन्ने कुरा गलत विश्लेषण हो । जबकी घाँसले रुखले भन्दा बढी कार्वन भण्डार गर्दछ। यसर्थ पृथ्वीको तातोपन घटाउन घाँसको महत्वपूर्ण भूमिका रहन्छ । साथै हरियो चरन क्षेत्रमा ठिक्क चरिचरन Moderate Intensity Grazing गर्नाले जैविक विविधता समेतलाई संरक्षण गर्न मद्दत पुऱ्याउँदछ ।
५. निष्कर्ष
- मानिसको जीवनको लागि स्वच्छ वातावरण नभई नहुने कुरा हो।
- यसरी नै मानिसको भोजनको लागि पशुहरू पनि अनिवार्य छन्।
- पशुहरूको लागि पोषिलो र हरियो घाँस वा चरन क्षेत्र अपरिहार्य छ ।
- घाँस खेती र चरन विकासबाट पशुहरूलाई पोषणयुक्त हरियो घाँसका साथै वातावरणमा समेत राम्रो प्रभाव पार्ने हुनाले यसको विकासको अति महत्व छ।
- हरियो चरन क्षेत्रको विकासले वातावरण सन्तुलन कायम राख्न, भू–क्षय कम गर्न र पृथ्वी तात्नबाट जोगाउन (Reduce Global Warming) मा महत्वपूर्ण भूमिका निभाउँछ ।