जडिबुटी र आयुर्वेदीय पद्धतिमा आधारित रोगब्याधिको उपचार गर्ने प्रचलन आनुशरण गरिदै आएको उपचार बिधि हो । आधुनिक बिज्ञानद्वारा अनुसन्धानको क्षेत्रमा फड्को मारे पश्चात बनस्पतिजन्य औषधिमुलोमा आधारित उपचार पद्धति ओझेलमा परेजस्तो भान भएता पनि आधुनिक औषधिको उद्गम श्रोत बनस्पतिजन्य पदार्थहरुलाई नै मानिन्छ । नेपालमा भू–वनोटको आधारमा विभिन्न किसिमका औषधोपयोगि बोटबिरुवाहरु उपलव्ध भएको अनुसन्धान बाट पुष्टि भईसकेको छ । ती मध्ये धेरै बिरुवाहरुको पहिचान भएर उपयोग गरिदै आएका छन् भने, अन्य अझै पहिचानको पर्खाइमा रहेका छन् । अध्ययन बाट प्राप्त तत्थ्यांक अनुसार नेपालको हिमाल देखी पहाडी भू–भाग र तराइका फाँटहरूमा विभिन्न किसिमका औषधिजन्य बिरुवाका प्रजातिहरू रहेका छन् ।
श्रोत सामाजीक सन्जाल
यी बिरुवाहरु मध्ये उचित संरक्षणको अभाव र अनियन्त्रित संकलन एवं चोरीपैठारीको कारणले केही प्रजातिका बिरुवाहरु लोपोन्मुख अवस्थामा पुगेका छन् भने अन्य समेत संकटग्रस्त अवस्थामा रहेका पाइन्छन्। संकटग्रस्त औषधोपयोगी बिरुवाहरुको संरक्षण आजको आवश्यकता हो । यदि यस्ता बिरुवाहरु लोप हुनबाट बेलैमा जोगाउन सकिएन भने यसले बहुमुल्य बिरुवाका प्रजातिहरु भोलिका दिनमा प्राप्त गर्न नसकिने त छदैछ अझ, प्राकृतिक पर्यावरणमा समेत नकारात्मक प्रभाब पर्ने सम्भावनालाई नकार्न सकिदैन । अतः यी र अन्य औषधिजन्य बिरुवाहरुको संरक्षण, संबद्र्घन र विकास गर्नु आजको अपरिहार्य अवाश्यकता हो । सबैको मनमा संशय पैदा हुन्छ, के साँच्चीकै नेपालको जडीबुटीजन्य वनस्पतिबाट समृद्धि सम्भव छ र? कि नाराको लागि शब्द चयन मात्र हो?
वनस्पतिले समग्र रुपमा बिरुवा प्रजाति जनाए तापनि आम चासो गैरकाष्ठ वन पैदावारमा महत्वपूर्ण मानिने जडीबुटी तथा सुगन्धित तेलजन्य वनस्पतिको सम्भाव्यताको सवालमा रहने हुनाले यो आलेख पनि यसैमा केन्द्रित रहेको छ।
हामीले जप्दै आएको मन्त्र जल, जंगल, जडीबुटी, जनसंख्या, जमिन आदि नेपालका अमूल्य सम्पदा हुन्। उपलब्ध स्रोतहरूको सदुपयोग किन भएन? अपेक्षित लाभ लिन किन सकिएन? के भयो भने गर्न सक्छौ? यस्ता तमाम सवालको जवाफ चित्त बुझ्दो रुपमा पाइएको छैन।
जडीबुटी र सुगन्धित तेलजन्य वनस्पति जस्ता पैदावारमा विडम्बना भन्नुपर्छ मूल्यका आधारमा निर्यातको नौ गुणा जति त विदेशबाट आयात नै हुन्छ।
जैविक विविधतामा धनी देश
नेपालको कुल भूभागको ४४.७४ प्रतिशत ओगटेको वन क्षेत्रमा कुनै न कुनै प्रकारका औषधिजन्य एवं उपयोगी वनस्पतिहरू पाइन्छन्। जैविक विविधताको हिसाबले नेपालमा ११८ प्रकारका परिस्थितिकीय प्रणाली, ७५ प्रकारका वनस्पति वर्ग, ११ हजार ९७१ वनस्पति प्रजाति भएकोमा करिब ७०० प्रकारका त औषधिजन्य जडीबुटीहरू रहेका छन्। भनिन्छ हरेक वनस्पतिमा कुनै न कुनै औषधिय गुण तथा उपयोगिता रहेकै हुन्छ।
नेपाल व्यापार सूचना पोर्टलले नेपालबाट सयभन्दा धेरै प्रकारका वनस्पतिहरू वार्षिक रुपमा व्यापारमा गएको देखाएता पनि जडीबुटीबाट राष्ट्रिय आयमा भएको योगदान भने सन्तोषजनक छैन।
विश्वमा जडीबुटीको व्यापार हेर्ने हो भने सन् २०१९ मा ८३ अर्ब अमेरीकी डलर भएकोमा सन् २०३० सम्ममा वार्षिक १९ प्रतिशतको वृद्धि भई ५ सय ५० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। यसमा नेपालको हिस्सा नगन्य छ तर उत्पादन गर्न सकेमा हामीलाई बजारको खाँचो छँदै छैन।
जडीबुटीको क्षेत्रमा केही पनि भएको छैन त?
जडीबुटीको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायहरू नभएका पनि हैनन्। विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू र विभागहरूले कुनै न कुनै रुपमा अनुसन्धान र विकासका कार्यहरू संचालन गर्दै आएका पनि छन्।
जडीबुटी खेतीका लागि नेपालको पश्चिमी क्षेत्रहरूमा पकेट क्षेत्रको निर्धारण, कृषकलाई अनुदान वितरण र जडीबुटी बिमाको सुरुआत गत वर्षदेखि थालिएको छ तर परिणाम अझै पनि अपेक्षाकृत छैन।
व्यवसायिक जडीबुटी खेतीको सुरुआत भने हुन थालेको छ। त्यहाँ सामुदायिक वनको करिब १५० बिघा क्षेत्रफलमा विद्युतको हाई-टेन्सन लाइनको वरिपरि काम नलाग्ने जमिनमा लेमनग्रास, सिट्रोनेला, पाल्मारोजा, मेन्थाजस्ता सुगन्धित तेलजन्य वनस्पतिको खेती गरिएको छ।
त्यस उद्योगबाट करिब २०० घर परिवार प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। उत्पादन भएको सुगन्धित तेल युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा राम्रै भाउमा बिक्री हुने गरेका छन्। रोचक कुरा त यो कम्पनी राज्यबाट केही पनि सुविधा नलिइकन विगत २५ वर्षदेखि नियमित रुपमा संचालनमा रहेको छ।
यस्ता काम नलाग्ने जमिनहरू उपयोग गरेर जडिबुटी खेती गरेका सफल र प्रेरणादायी उदाहरण तराई एवं पहाडी जिल्लाहरूमा अरु पनि भेटिन्छन्।
जडीबुटी नै किन?
भौगोलिक र जलवायु विविधताले गर्दा जैविक विविधता सम्भव भएको हो। नेपालको हिमाली क्षेत्रका जडीबुटीमा अन्य देशहरूको भन्दा विशेष औषधिय गुण रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
जडीबुटीमा औषधिय गुण भएका रसायनलाई सेकेन्डरी मेटाबोलाइट भनिन्छ। वनस्पतिले विषम् हावापानीसँग जुध्न तथा आफ्नो सुरक्षाका लागि पनि त्यस्ता रसायनहरू उत्पादन गर्ने गर्दछन्। ती रसायन पहिचान गरी छुट्याउन सकेमा औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। औषधिय गुण प्रयोगशालामा अनुसन्धानको विभिन्न वैज्ञानिक विधिअनुसार पत्ता लगाउन सकिन्छ।
पहाडी र हिमाली क्षेत्रमा पाइने जडीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले (जैविक) प्रकृतिका पनि हुन्छन्। जंगलभित्र पाइने जडीबुटी त त्यसै पनि अर्गानिक नै ठहरिन्छन्।
अहिले विश्व जैविक उत्पादनको उपयोगमा लालायित भएकोले धेरैको ध्यान यहाँका जडीबुटीतिर आकर्षण भएको पाइन्छ, जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन्।
इन्डोनेशियाले शीतलचिनीको बोक्रा, पात, फल, बिउ, आदिबाट दुई दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाई ब्राण्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायोप्रोस्पेक्टिङको सम्भावना त छ नै नेपालका जडीबुटीलाई हिमाली जडीबुटीको ब्राण्डले गर्दा तुलनात्मक लाभ पाउन सक्ने प्रचुर अवसर पनि छ।
लाभ लिन किन सकिएन त?
विडम्बना नै भन्नुपर्छ खेती विस्तार हुन नसक्दा जडीबुटीको यथेष्ठ मात्रामा उत्पादन हुन सकेको छैन, अझै पनि जंगलकै भर हो। एकातर्फ नेपालमा करिब ८५ प्रतिशत जडीबुटी जंगली बासस्थानबाट संकलन हुने गर्दछ भने अर्कोतर्फ भएको जडीबुटी पनि बिना प्रशोधन, बिना मूल्य अभिवृद्धि निर्यात हुने गरेको छ।
जडीबुटी बहुमूल्य छन् तर प्रशोधन तथा मूल्य अभिवृद्धि नगरी बजारमा लैजाने हो भने हामीले पाउने मूल्य नगन्य नै हुन आउँछ। जसरी सुनको भाउ प्रशोधन नगरी बेच्दा कति मूल्य पर्थ्यो होला र?
यार्सागुम्बा, जटामसी, पाँचऔँलेजस्ता बहमूल्य वनस्पति पनि हामीले कच्चा पदार्थकै रुपमा बेचिरहेका छौँ। यार्सागुम्बाबाट औषधि र जटामसीबाट अत्तर तथा औषधिजन्य उत्पादन बनाई बेच्न सकेमा दसौँ गुणा मूल्यवृद्धि गर्न सकिन्छ। लौठसल्लाबाट क्यान्सरको औषधि बनाउन सकिने रसायान ‘टेन-ड्याब’ बनाएर निर्यात गर्न सके यथेष्ठ आम्दानी गर्ने ठाँउ छ।
हामी त माल पाएर पनि चाल नपाएका जस्तै छौँ। जडीबुटीमा मात्र यस्तो समस्या छैन।
जबसम्म हामीले जडीबुटीबाट आफ्नै प्रोडक्टहरू बनाएर ब्राण्डिङ गरी बेच्न सक्दैनौँ तबसम्म जडीबुटीबाट समृद्धि नारामा मात्र सीमित रहन्छ र रहिरहनेछ।
जडीबुटीको मूल्य अभिवृद्धि किन हुन सकेन?
जडीबुटीमा भएका विभिन्न गुणहरूको खोज र अनुसन्धानको विषय महत्वपूर्ण त छ नै यसको अर्को अपरिहार्य पक्ष भनेको भएका अध्ययन अनुसन्धानको उपयोग तथा ज्ञान र सीपको व्यवसायीकरण हो। एकातर्फ अनुसन्धान हुने सरकारी होस् वा गैरसरकारी प्रयोगशालाको स्तरीयता पुगेको छैन भने अर्कोतर्फ नेपालका उम्दा वैज्ञानिकलाई स्वदेशमै खोज अनुसन्धानमा उत्प्रेरित गरी टिकाइराख्न राज्यले स्पष्ट दृष्टिकोण पनि लिन सकेन। यो अति नै गम्भीर र सोचनीय विषय हो।
पर्यटन, जलस्रोत, भौतिक पूर्वाधार, कृषि र सेवाका क्षेत्रलाई लगानीका प्राथमिकताका क्षेत्र तोकियो तर जडीबुटीसँग सम्बन्धित क्षेत्र लगानीकर्ताको प्राथमिकतामा कहिल्यै परेनन्। राज्यका तर्फबाट पनि राष्ट्रिय गौरवका आयोजना तोकिँदा जडीबुटीको उत्पादन र विकासको क्षेत्रका कुनै पनि रुपान्तरणकारी आयोजना सूचीमा पर्न सकेका छैनन्।
अर्को महत्वपूर्ण पाटो व्यापार प्रवर्द्धनमा कानुनी स्पष्टताको अपरिहार्यता। जडीबुटीको कच्चा पदार्थको विदेश निर्यात गर्न सहजता रहेको तर मूल्यवृद्धि गरी तयार जडीबुटीजन्य उत्पादनको गुणस्तर प्रमाणिकरण र व्यापार सहजीकरणको विषय कुनै पनि निकायले आफ्नो कार्यक्षेत्र हो भनेर अग्रसरता नलिदा व्यापारमा गैरमुद्रा व्यावधान (ननटेरीफ ब्यारियर) भैरहने अवस्था पनि छ।
यद्यपि केही उत्पादन बजारमा नआएका पनि होइनन् तर यथेष्ठ अध्ययन र परीक्षणबिना आएकोले ती उत्पादनको गुणस्तर र विश्वसनियतामा प्रश्न चिन्ह पनि छ।
अन्त्यमा,
जडीबुटी बहुमूल्य छन्, यिनको संरक्षण गर्दै रणनीतिक योजनाका साथ दिगो उपयोग र आर्थिक उपार्जनमा लाग्न ढिला गर्नु हुँदैन। अध्ययन, अनुसन्धान बौद्धिक विलासिताका लागि भन्दा पनि उपयोगितामा केन्द्रित गरौँ।
गैरकाष्ठ वन पैदावारका लागि प्राकृतिक बासस्थानमा मात्र निर्भर नपरी खेती प्रविधिमार्फत उत्पादन बढाएर मूल्य अभिवृद्धि गरी बजारमा पठाउन सकेमा नेपाल अन्तर्राष्ट्रिय बजारमा जडीबुटीको केन्द्रका रुपमा विकसित भई समृद्धिको ढोका खुल्न धेरै समय पर्खनु पर्दैन।
जडिबुटी खेती औषधी उत्पादन एवं व्यवसाय
१. हिमाल पहाड र तराईमा नमूना जडिबुटी उद्यानहरूको विकास गरी जडिबुटीहरूको घरेलु उपचारमा प्रयोग, उत्पादन, सम्बद्र्धन, संरक्षण, प्रवद्र्धन बारे जनस्तरमा ज्ञान दिई जडिबुटिहरूको गुणस्तरयुक्त व्यापारमा प्रोत्साहन गरिनेछ ।
२. सही जडिबुटीहरूको परिचय गरी स्वदेशी व्यापार एवं विदेश पैठारीमा स्तरीयता कायम गर्न जडिबुटीहरूसँग सम्बद्ध सरकारी एवं गैरसरकारी संस्थासँग समन्वय कायम गरिने छ ।
३. देशमा स्थापित वा स्थापना हुने सरकारी एवं गैह्र सरकारी क्षेत्रका आयुर्वेद औषधी निर्माण कम्पनीहरूलाई असल औषधी निर्माण संहिताको आधारमा गुणस्तरयुक्त औषधी निर्माणमा प्रोत्साहित गरी आयातमा कमी गर्दै निर्यात प्रवद्र्धन गरिने छ । सो कार्यका लािग औषधी व्यवस्था विभाग एवं सम्बद्ध सरकारी निकायहरूसँग समन्वय कायम गरिनेछ ।
४. विदेशबाट आयात हुने वा स्वदेशमा निर्माण गरिने आयुर्वेदीय औषधीहरू गुणस्तर एवं अन्य प्राविधिक कार्यका लागि एक आयुर्वेदीय औषधी परीक्षण समिति र प्रयोगशालाको विकास गरिनेछ ।
५. नेपाल आयुर्वेद भेषज्यावली को समसामयिक संकलन गरी प्रकाशन गरिनेछ ।