+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

डालेघाँस : एक काम अनेक

डालेघाँस पशु आहाराको प्रमुख श्रोत हो । नेपालमा पशु आहाराको कुल योगदानमा करिब ५१ प्रतिशत स्थान विभिन्न किसिमका डालेघाँसले ओगटेको छ । भुई घाँसहरू सुकेर गएको सुख्खा मौसममा पनि डालेघाँस हरियो रहिरहन्छन् र सुख्खा मौसममा हरियो घाँसको विकल्पको रुपमा डालेघाँसको प्रयोग गरिन्छ । डालेघाँस मुख्यतयाः मंसिरदेखि वैशाख महिनासम्म महत्वपूर्ण तरिकाले प्रयोग गरिन्छ

डालेघाँस नेपालको मध्य पहाडी क्षेत्रमा ज्यादै लोकप्रिय रहेको छ । एक अध्ययन अनुसार नेपालको मध्य पहाडी क्षेत्रमा वर्षेनी प्रति व्यक्ति करिब ६५५ के.जी. स्याउला र ४५९ के.जी. सोत्तर खपत हुने गरेको मानिन्छ । साधारणतया डालेघाँसका स्याउलाहरूमा ११ देखि २४ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ भने खनिज तत्व तथा भिटामिनहरू आवश्यक मात्रामा पाईन्छन् । केही डालेघाँसहरूमा हानिकारक तत्वहरू जस्तै ट्यानिन (Tannin), मेमोसिन (Mimosine) हाईड्रोसायनिक एसिड (HCN) पनि हुन्छन् ।

नेपालको मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा करिब २५० भन्दा बढी जातका डालेघाँस उपलब्ध छन् । परम्परा अनुसार पशुवस्तुहरू बाँच्नको लागि केही डालेघाँसहरू पोषिलो नभए पनि जीवन निर्वाहको लागि प्रयोगमा ल्याइरहेका छन् । सुख्खा समयमा जब सबै प्रकारका भुई घाँसहरू सुक्छन् त्यस अवस्थामा डालेघाँसका बिरुवाहरू हरियो हुर्कदो अवस्थामा हुन्छन् र गाईवस्तुहरूको लागि हरियो आहारा उपलब्ध गराउँछन् । झरी, बढी, हिउँ आदिको कारण जब भुईघाँसहरू पुरिएको अवस्थामा हुन्छन् त्यस अवस्थामा पनि डालेघाँस नै हरियो घाँसको एकमात्र श्रोतको रुपमा पशुहरूलाई खुवाउने काममा प्रयोग गरिन्छ ।

परापूर्वकाल देखि नै नेपालको पशुपालन व्यवसायमा डालेघाँसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हावापानी तथा माटोको विविधता अनुसार डालेघाँसका जातहरू कुनै क्षेत्रमा प्रचुर मात्रामा पाइन्छ भने त्यही जातीहरू अन्यत्र सीमित मात्रामा पाइन्छ वा पाईंदैन ।

 उपलब्ध विभिन्न जातिहरू मध्ये पनि कुनै डालेघाँस कृषकहरूले बढी रुचाएको पाईन्छन् भने कुनै कम रुचाएको पाइएका छन् । तै पनि समष्टिगत रुपमा हेर्ने हो भने डालेघाँस पशुपालक कृषकको लागि अभिन्न अंगको रुपमा रहेका छन् । यसैले प्राय सबै कृषकहरू खास गरेर पहाडी भेगका कृषकहरूको बारीमा एक वा एक भन्दा बढी किसिमको डालेघाँसका बोटहरू देखिन्छन् । धेरै जसो कृषकहरू वर्षेनी विभिन्न किसिमका डालेघाँसहरू प्रयोग गर्दै आएता पनि उनीहरूलाई ती डालेघाँसका बीउ संकलन कसरी र कहिले गर्नुपर्छ वा हाँगाबाट नै फैलाउन उपयुक्त छन् वा बिरुवा तयार कसरी र कहिले गर्ने भन्ने जस्ता केही तथ्यहरू कमै मात्रामा जानकारी भएको पाईएको छ ।

हाम्रो देशमा चलन चल्तीमा आएका डालेघाँसहरूमा खस्र, बैंस, भोटेपीपल, काब्रो, बडहर, कोइरालो, टाँकी, निमारो, दबदबे, कुटमिरो, गिदरी, पाखुरी, गायो, किम्बु, चुलेत्रो, निमारो, दुधिलो आदि हुन् । यिनिहरू काट्दा एउटा रुखको हाँगा एकैचोटी नकाटी पालैपालोसँग काट्नु पर्दछ । सबै डालेघाँस एकैनासको पोषिले हुँदैनन् । खास गरेर डालेघाँसले हिउँद तथा सुख्खा समयमा घाँस आपूर्ति गर्दछ ।

डालेघाँसबाट निम्न फाईदाहरू हुन्छन् :

.सुख्खा समयमा हरियो घाँसको आपूर्ति हुन्छ ।

स्याउला खाएर बाँकी रहेको हाँगा दाउराको रुपमा प्रयोग हुन्छ । गिँडलाई काठमा प्रयोग गरिन्छ ।

 भू-क्षयलाई रोक्छ ।

 पशुहरूलाई छहारी र आराम दिन्छ ।

हावाबाट हुने भू-क्षयलाई नियन्त्रण गर्दछ ।

मानिसलाई नभई नहुने अक्सिजन प्रदान गर्दछ ।

प्राकृतिक सौन्दर्य बढाई वातावरण संरक्षण गर्दछ ।

घाँसबाहेक उप-पदार्थ जस्तैः फल, फूल, रङ्ग, गम, जाम आदि प्राप्त हुन्छ ।

 कार्बन संचय (Carban Sequestration) गर्छ ।

Leave a comment