+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

नेपालमा जैविक विषादीको अबश्था

जैविक पद्धतिद्वारा जीवलाई नष्ट गर्नेे सूक्ष्म जीवीय विषादीलाई नै जैविक विषादी भनिन्छ । हिजोआज फाइदाजनक सूक्ष्म जीवका साथै वनस्पतिमा आधारित पदार्थलाई समेत जैविक विषादीको रूपमा बुझिने गरिन्छ । वास्तवमा यी पदार्थमा कुनै सूक्ष्म जीवित जीवका अलावा वनस्पतिमा पाइने खास तत्व वा सक्रिय तत्व हुन्छन् ।

कुनै पनि हानिकारक किरालाई न्यून गर्न वा मार्नका लागि सूक्ष्म जीवीय ब्याक्टेरिया, ढुसी, भाइरस तथा नेमाटोडजन्य उपयोगी जीवद्वारा तयार गरिएको रसायन वा पदार्थलाई जैविक विषादी भनिन्छ । यी उपयोगी जीव हुन्, जसलाई हानिकारक किरा मार्न, पदार्थमा भएका सक्रिय तत्वलाई कुनै पदार्थमा उत्पादन गरी प्रयोग गरिन्छ ।

समग्रमा सूक्ष्म जीवमा आधारित पदार्थलाई सूक्ष्म परजीवी किरा (प्रिडेटर, पारासिटोइड) भनेरसमेत बुझिन्छ । सूक्ष्म जीवमा आधारित जैविक विषादीमा मुख्यतः ब्याक्टेरियाजन्य पदार्थ (बिटी) ढुसीजन्य पदार्थ, (हरियो र सेतो ढुसी), भाइरसजन्य पदार्थ (न्युक्लियर पोली हेडेरोसिस भाइरस), साइटोप्लाज्मिक भाइरस र नेमोटाडमा आधारित पदार्थ (स्टाइटरनेमाटिड्स र हेटेरोरहेवडाइटिस) मुख्य रूपमा आउँछन् । 

त्यस्तै, वनस्पतिमा आधारित जैविक पदार्थ मुख्यतहरू

 निमको झोल (मार्गोसेभ डेरिसोभ, बायोमल्टिनिम) इत्यादि आउँछन् । समग्रमा यी सबै पदार्थ तथा वस्तुलाई जैविक विषादी वा जैविक विषादीमा आधारित पदार्थका रूपमा बुझ्न सकिन्छ । यो विधिमा किरा तथा रोगजन्य जीवाणुको संख्या नियन्त्रण गर्न पराश्रयी जीव, सिकारी किरा तथा किरामा रोग ल्याउने जीवाणु उत्पादन गर्न रोक्ने काम हुन्छ । यसलाई जैविक नियन्त्रण पनि भनिन्छ ।

विभिन्न जैविक विषादीका माध्यम र नाम फरक भएता पनि यिनीहरूले किरा मार्ने तरिका र यिनको उपयोगिता समान हुन्छ । रासायनिक विषादीले जस्तो यिनले वातावरण, मानव शरीर र फाइदाजनक परजीवी किरालाई असर गर्दैन र प्रयोग गर्ने व्यक्तिलाई पनि यसले असर गर्दैन । यिनको असर किराअनुसार हुन्छ । तसर्थ, लक्ष्य गरिएको किरामा मात्र यिनको प्रभाव रहन्छ । यिनको प्रयोगमा रासायनिक विषादीको जस्तो अवशेषको समस्या हुँदैन ।

थोरै मात्राको प्रयोग गरिएता पनि किरामा बढी असर पार्न सकिन्छ । यिनको प्रभाव कालान्तरसम्म रहन सक्छ र रासायनिक विषादीजस्तै पटक–पटक प्रयोग गरिरहनुपर्दैन । यिनको प्रयोगबाट उत्पादित वस्तु प्रांगारिक उत्पादन भएको हुनाले कालान्तरमा नेपाल सरकारले लिएको लक्ष्य मुताबिक विषादीरहित उत्पादन गर्न सहयोग पुग्छ । दीर्घकालीन कृषि उत्पादनमा जैविक विषादीको गहन भूमिका छ । केही जैविक विषादी र वनस्पतिमा आधारित पदार्थले किराका फूल, लार्भा, प्युपा र वयष्कमा समेत केही न केही असर गर्छन्, जुन विषादीबाट सम्भव छैन ।

थुप्रै फाइदा हुँदाहुँदै पनि रासायनिक विषादीले जस्तो यिनले जादुगरी रूपमा छिट्टै किरा मार्न भने सक्दैनन् । यिनको प्रयोग सुरुमा झन्झटिलो र महँगो लाग्न सक्छ । सबै प्रकारका किरालाई एउटै प्रकारको वस्तुबाट नियन्त्रण गर्न सकिँदैन । यिनको असर खासगरी सोझै सम्पर्क गर्ने खालको भएको हुनाले लुकेर बस्ने किरालाई लक्षित गर्न गाह्रो हुन्छ । चर्को घाम र सुक्खा क्षेत्रमा प्रयोग गरेमा यिनको प्रभाव नष्ट हुन्छ । 

जैविक विषादी  
हाम्रो कृषि सदियौँ वर्ष पुरानो छ । तथापि, यहाँको बाली संरक्षण पद्धति बाली र स्थानपिच्छे फरक–फरक छ । यसकारण नेपालको खेती–बाली प्रणाली परम्परागतदेखि अर्धआधुनिक प्रकारको मिश्रित खाले छ । विकट स्थान, जहाँ नयाँ कृषि बाली प्रणालीले छुन सकेको छैन, त्यस्तो स्थानमा बाली संरक्षणको तौरतरिका पनि परम्परागत नै छ । र, जैविक विषादीको त कल्पनै गर्न सकिँदैन । तर, जहाँ मोटरबाटोको पहुँच छ, त्यहाँको खेतीबाली पद्धति केही विकसित छ र बाली संरक्षण पद्धति पनि सघन रूपमा विषादीयुक्त रहेको पाइन्छ । व्यावसायिक रूपमा विकसित स्थानमा कृषकले खेतीमा सघनता ल्याउनुका साथै नेपालमा उदीयमान रूपमा रहेको जैविक वा प्रांगारिक खेतीलाई बढावा दिन खोज्दा कतै–कतै जैविक विषादी पनि माग गरेको पाइन्छ । हुन त विभिन्न अनुसन्धानमूलक लेखबाट जानकारी भएअनुसार नेपालमा व्यवस्थित र व्यावसायिक प्रांगारिक खेती भ्रूण अवस्थामै छ ।

नेपालमा हालसम्म त्यति धेरै जैविक विषादी प्रयोगमा आइसकेको छैन, तर जे–जति प्रकारका जैविक विषादी भित्रिएका छन्, प्रायः सबै आयातीत हुन् । अझैसम्म स्वदेशमै उत्पादित जैविक विषादी न्यूनबाहेक धेरैजसो प्रयोशाला स्तरमा सीमित छन् । तल उल्लेखित जैविक विषादी नेपालका केही स्थानमा उपलब्ध हुन थालेका छन् । जसलाई केही कृषक, सरकारी तथा गैरसरकारी संघ–संस्थाले प्रयोग गरेको पाइन्छ । 

ढुसीजन्य जैविक विषादी
सेतो ढुसी ः यो ढुसी, माटो तथा मरेका किरामा हुने गर्छ । तिनै ढुसीलाई प्रयोगशालामा कृत्रिम खानामा वृद्धि गरी तयार गरेर बजारमा उपलब्ध गराइन्छ । यसको प्रयोग खासगरी नरम शरीर भएको किरामा, जस्तैः लाही, थ्रिप्स, सेतो झिंगा, मिलिबग, पाइरिल्ला, जेसिड, बन्दाको पुतली, इटबुट्टे पुतलीका लार्भा, धानबालीको खैरो र सेतो चुसाहा आदिमा प्रयोग गरिन्छ । यो ढुसीले लक्षित हानिकारक किराको शरीरमा आक्रमण गर्छ र त्यस क्रममा जीवाणु किराको छालामा टाँसिन्छ ।

मरेको किराको शरीरमा सेता कण देखापर्छन् । ढुसी सक्रिय भई उम्रेपछि आफ्नो खास तत्व स्पोर वा कोनिडियाजस्ता त्यान्द्रालाई किराको शरीरभित्र छिराउँछ र किराको शरीरमा ढुसी फैलिन्छ । वातावरणमा सापेक्षिक आद्रता र चिस्यान बढेको अवस्थामा मात्र यसले आफ्नो प्रभावकारिता देखाउँछ । यसले आफ्ना प्रभाव २४ देखि ४८ घन्टामा देखाउन सुरु गर्छ र दुई हप्तादेखि किरा मर्न थाल्छन् ।

किरा मरेपछि जीवाणु त्यसको शरीरबाट बाहिर निस्कन्छन् र फैलिन्छन् । तत्कालीन कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनमा यो ढुसीलाई जौका दानामा उत्पादन गरी माटोमुनि बस्ने खुम्रे किरालगायत किरा मार्न प्रयोग गरिएको थियो । त्यसपछि केही निजी संस्थामार्फत यसलाई अघि बढाइएको छ । 

हरियो ढुसी : सेतो ढुसीजस्तै माटो तथा प्राकृतिक रूपमै मरेका किराबाट प्राप्त गर्न सकिन्छ । कृत्रिम खानामा उत्पादन गरी विभिन्न माध्यम, जस्तैः जौको दाना र टाल्कम पाउडरको धुलोमा उत्पादन गरी खुम्रे किरा, फेद कटुवा, रातो कमिला, धमिरालगायत बोटको जरा काट्ने लार्भा र माथिल्लो भागमा बसी क्षति गर्ने किराका विरुद्ध पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

यसलाई आक्रमण गर्ने तरिका र क्षति गर्ने किराविरुद्ध पनि प्रयोग गर्न सकिन्छ । यसले सेतो ढुसीले जस्तै काम गर्छ । यो ढुसीजन्य जैविक विषादीको महत्व देखेर तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरमा स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा लेखकको विद्यावारिधिमार्फत ढुसीजन्य जैविक विषादीको उत्पादन सुरु गरी नेपालमा तत्कालीन बाली संरक्षण प्रयोगशाला, हरिहरभवनमा ०७६ सालदेखि नै उत्पादन सुुरु गरिएको हो । यसको उत्पादन सरकारी र निजी संस्थाबीच हुनुपर्ने आवश्यकता ठानी तत्कालीन बाली संरक्षण निर्देशनालय एग्रिकेयर लिमिटेड भरतपुरसँग साझेदारीमा किरानाशक हरियो ढुसी (मेटाराइजियम एनिसोप्लिआइ) र रोगनाशक ट्राइकोडर्मा उत्पादन थालनी गरिएको हो ।

नेपालको कृषि सदियौँ वर्ष पुरानो र बाली संरक्षण पद्धति स्थानपिच्छे फरकफरक छ, यसकारण नेपालको खेतीबाली प्रणाली परम्परागतदेखि अर्धआधुनिक मिश्रित खालको छ

 यो ढुसीलाई धुलो, दाना वा झोलका रूपमा प्रयोग गरिन्छ । तर, माटोमुनि प्रयोग गर्ने हुँदा २० प्रतिशतभन्दा कम चिस्यान हुनुहुँदैन र माटोले राम्ररी छोपिएको हुनुपर्छ । एक रोपनी क्षेत्रफलमा करिब दुई सय ५० ग्राम धुलो, दाना वा झोलको रूपमा प्रयोग गर्ने भएमा बिहान वा बेलुकी चर्को घाम नलागेको समयमा १० मिलि एक लिटर पानीमा घुल्ने गरी प्रयोग गर्नुपर्छ ।
 भाइरसजन्य जैविक विषादी
न्युक्लियर पोलिहेडोसिस भाइरस : यो झालको रूपमा पाइन्छ । हेलिसाइड र स्पोडोसाइड नामक दुई व्यापारिक नाममा यो बजारमा उपलब्ध छ । यसले गोलभेँडाको गभारो, चनाको गभारो, कपासमा लाग्ने पुतली, किराका बच्चा अवस्था आदिलाई नाश गर्छ । सबै प्रकारका बालिनालीमा लाग्ने लार्भा किराका विरुद्ध यो अति प्रभावकारी रहेको पाइन्छ । यसको प्रयोगपछि पुतलीका लार्भा रोगाएर मर्छन् ।

भाइरसद्वारा ग्रसित लार्भा बोट–बिरुवाको हाँगामा खुट्टाले समाई टाउको तल पारेर झुन्डिएको अवस्थामा देख्न सकिन्छ । साथै मुखबाट पहेँलो पिपसमेत आउँछ । स्थानीय र उन्नत प्रविधि दुवैको सम्मिश्रण गरी भाइरस उत्पादन गर्ने प्रविधि प्रयोगशाला स्तर हुँदै छिटफुट रूपमा कृषकस्तरबाट सञ्चालित स्रोत केन्द्रमा समेत पुगेको छ । यी संस्थाले समुदायमा आधारित उत्पादन प्रविधिको विकास गरिरहेका छन् । बालीमा लक्षित किराका विरुद्ध एनपिभीको सिसीलाई राम्रोसँग हल्लाउने र चार थोपा प्रतिलिटर पानीमा मिसाएर अपराह्नमा छर्नु उपयुक्त हुन्छ । खुदो र साबुनसँग मिसाई छर्नाले यसको टाँसिने क्षमता वृद्धि गराउन सकिन्छ । 

ब्याक्टेरियाजन्य जैविक विषादी
यो ब्याक्टेरिया साधारणतया माटो खाद्यकारखाना, गोदाम र किरा बढी हुने वातावरणमा फेला पर्छ । यसले असर गर्न सक्ने किरामा पुतली जातका लार्भा, जस्तैः इटबुट्टे पुतली र गोलभेँडाको गभारो आदि हुन् । कुनै रासायनिक विषादीबाट नियन्त्रण गर्न नसकेको अवस्थामा समेत यस ब्याक्टेरियाले नियन्त्रण गरेको प्रमाण पाइएको छ । यी विषादी नेपालमा केही कृषकले विदेशमा तयारी गरी ल्याएर प्रयोग गरेको पाइन्छ ।

ब्याक्टेरियायुक्त दानादार कण लार्भाका पेटमा पर्नासाथ घोलिन्छ र चारथरीका साना–साना विषालु कणमा बदलिन्छ । किराको पेटको मध्यभागमा यी विषालु कणको प्रभाव बढी हुन्छ । किराको आन्द्राभुँडीको कोषमा पानीको मात्रा फुल्छ र यो जैविक विषादी किराको आन्द्राभुँडीमा पुगेपछि २४–४८ घन्टामा मात्र प्रभाव पार्छ । किरामा विषालु कणले काम सुरु गरेपछि लार्भाले खान छोड्छ र भोकै मर्छ । यो जैविक विषादीको प्रत्यक्ष प्रयोग विधिबाट प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रयोग एक सयदेखि तीन सय ग्राम एआई प्रतिहेक्टरका दरले छर्न सकिन्छ । लार्भाको सुरुको अवस्थामा यो जैविक विषादी बढी प्रभावकारी हुन्छ । किराको संख्यात्मक वृद्धि एवं आक्रमणको प्रभाव हेरी पाँच–सात दिनमा यो जैविक विषादी दोहो-याउनुपर्ने हुन्छ । यो ब्याक्टेरिया प्रयोग गरेकै दिन पनि तरकारी, फलपूmल खान र बिक्री गर्न सकिन्छ । मानिस र जनावरमा यसको नकारात्मक प्रभाव पर्दैन ।  

रोगनाशक जैविक विषादी
निसर्ग ट्राइकोडर्मा भिरिडी नामक ढुसी हो । जसले रोग ल्याउने ढुसीलाई मारेर बाली–बिरुवालाई सुरक्षा गर्छ । यसले बाली–बिरुवामा लाग्ने रोग, जस्तैः डाँठ कुहिने रोग, जरा कुहिने रोग, बिरुवा कुहिएर मर्ने रोग, बिरुवा ओइलाएर मर्ने हात्तीपाइले रोग आदि रोगको व्यवस्थापनमा सघाउँछ । पाँच ग्राम प्रतिलिटर पानीमा घोलेर छर्न सकिन्छ । यस्तै, माटोमा प्रयोग गर्ने भएमा चार किलो विषादी, २० केजी राम्रोसँग कुहिएको गोबरमा मिसाएर आठ रोपनी क्षेत्रफलमा छर्न सकिन्छ ।

सुडोमोनास पनि ब्याक्टेरियाजन्य, ढुसीजन्य र भाइरसजन्य रोगमा धेरै प्रभावकारी हुन्छ । यसलाई पनि निसर्गजस्तै गरी प्रयोग गर्न सकिन्छ । साथै, भर्टिसिलियम पनि ढुसीबाट तयार गरिएको जैविक विषादी हो । यो जैविक विषादीले नेमाटोडका फुललाई रोग सार्न मद्दत पु¥याउँछ । यसका अतिरिक्त यसले चुस्ने खालका किरालाई पनि असर गर्छ । 

निप्रोटमा ट्राइकोडर्मा हार्जियानम नामक फाइदाजनक ढुसी हुन्छ । जसले बालीमा लाग्ने ढुसीजन्य रोगका विपरीत संरक्षण दिनुका साथै रोग वृद्धि हुनबाट रोक्छ । यसले आफ्नो कोषको सतहमा गुणविहीन विपरीत संरक्षण दिनुका साथै रोग वृद्धि हुनबाट रोक्छ । यसले आफ्नो कोषको सतहमा गुणविहीन तत्वयुक्त विषालु पदार्थ बनाउँछ । जसले गर्दा रोगयुक्त ढुसीको वृद्धि एवं विकासमा बाधा पुग्छ ।

यसले नेमाटोडको फुल वा लार्भाको छालामा रासायनिक तत्व उत्पादन गरी असर पु-याउँछ । अन्त्यमा शरीरको भित्री भागमा गडबडी ल्याउँछ । यसले पनि निसर्गले जस्तै काम गर्छ । यसलाई नर्सरी ब्याड, बिउ एवं माटोको उपचारका लागि प्रयोग गर्न सकिन्छ । नर्सरीको उपचार गर्नुपरेमा पाँच ग्राम प्रतिलिटर पानीमा मिसाई ब्याडको उपचार गर्ने वा माटोको उपचार गर्नुपरेमा १० ग्राम निप्रोट एक केजी गोबरमा मिसाई सेतो प्लास्टिकले ५–१० दिनसम्म ढाकिराख्ने गर्नाले प्रभाव राम्रो पाइन्छ ।

बिउ छर्नुअगावै सुक्खा बिउको उपचार गर्दा ४–६ ग्राम निप्रोटको धुलोलाई १० एमएल पानीमा मिसाउने र प्रतिकेजी बिउको उपचार गर्ने । साथै, बेर्नाको कटिङको उपचार गर्नुपरेमा ५–१० ग्राम निप्रोट प्रतिलिटर पानीमा मिसाई बनाएको झोलमा बेर्नाका जरा, गानो वा आलु, पिँडालु वा अदुवालाई रोप्नुभन्दा अगाडि १० मिनेटजति डुबाएर लगाउनुपर्छ । 

जैविक विषादीको प्रयोगविधि
जैविक विषादी जीवित वस्तुमा आधारित भएकाले यिनको उत्पादनपश्चात् प्रयोग गर्ने अवस्थासम्म होसियारीका साथ भण्डारण गर्नुपर्छ । यसको अर्थ यिनलाई कम तापक्रम र बढी सापेक्षिक आद्रताको आवश्यकता पर्छ । त्यसो हुनाले भण्डारण गर्दा सकभर कम तापक्रम भएको स्थान वा रेफ्रिजेरेटरमा राख्नुपर्छ । र, प्रयोग गर्दा स्प्रेद्वारा अपराह्नको समयमा प्रयोग गर्नु बेस हुन्छ ।

यस्ता जैविक पदार्थको प्रयोग गरिएका बालीमा अन्य रासायनिक विषादी प्रयोग गर्नुहुँदैन । प्रयोग गर्नैपर्ने भएमा ४८ घन्टापछि मात्र प्रयोग गर्नु उपयुक्त मानिन्छ । जैविक पदार्थ प्रयोग भएको ठाउँमा उपयुक्त चिस्यानको व्यवस्था मिलाउनुपर्छ । सापेक्षिक आद्रता बढी र तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम भएमा यसको प्रभावकारिता राम्रो हुन्छ । 

नेपालमा छिटफुट रूपमा देखापर्ने जैविक विषादीलाई विषादीसरह भण्डारण तथा प्रयोग गर्नाले यिनको प्रभावकारितामा शंका गर्ने ठाउँ रहेको छ । नेपालमा हालसम्म त्यति धेरै जैविक विषादी प्रयोगमा ल्याइएको अवस्था त छैन, तर जे–जति प्रकारका जैविक विषादी भित्रिएका छन् ती पनि सर्वसुलभ रूपमा पाइँदैन । अझैसम्म पनि स्वदेशमै उत्पादित जैविक विषादी भने प्रयोगशाला स्तरमा मात्र सीमित छन् ।

यो विषयलाई मध्यनजर गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले स्वेदशी जैविक विषादीको खोजी र उत्पादनका लािग कृषि अनुसन्धान परिषद् र केन्द्रीय प्रयोगशालामार्फत कार्यक्रम अगाडि बढाएको छ ।

सरकारले प्रांगारिक कृषिका लागि जैविक विषादीको उत्पादन कार्य अगाडि बढाएकाले रासायनिक विषादी प्रयोग गर्नुपर्ने अवस्था क्रमशः घट्दै जानेछ । आगामी दिनमा हामीले नेपालका हरेक कृषिजन्य उत्पादनमा नेपालमै निर्माण गरिएका जैविक विषादी प्रयोग गर्न सक्ने अवस्थाका लागि आजैदेखि काम गर्नुपर्ने टड्कारो अवस्था छ ।

Leave a comment