नेपियर घाँसको उचाइ २-३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ। यो घाँस खेतवारीको कान्ला, डील आदिमा पनि लगाउन सकिन्छ। यो घाँस पहाड तथा तराईमा निकै लोकप्रिय छ। चिम्टयाइलो माटो र सिमाहा जग्गा बाहेक जुन सुकै माटोमा पनि यो घाँस खेती गर्न सकिन्छ। खेत बारीलाई २-३ पटक जोतेर नेपियर घाँसलाई ३ आँख्ला भएको, ४५-६० सेमी लामो ४५ डिग्रीको कोण बनाई प्रत्येक कटाइ १५ सेमी फरकमा र एकदेखि अर्कोसम्मको फरक ९० सेमी हुनु पर्दछ। यो घाँस लगाएको २.५ महिना देखि ३ महिना पछि प्रथम पटक काट्न राम्रो हुन्छ। त्यसपछि अर्को कटिङ्ग वर्षा याममा ५-६ हप्ता पछि र हिउदमा ८-१०हप्ताको फरकमा घाँस काट्न सकिन्छ। घाँस काट्दा जमिन देखि माथि १५-३० सेमी घाँस छोडेर काट्न पर्छ। धेरै तल फेदमा हुने गरी घाँस काटेमा घाँसको उत्पादन घट्दछ।
एकपटक लगाएपछि ४–५ वर्षसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ । अरू घाँसको दाँजोमा बढी हरियो घाँसको उब्जा यस घाँसबाट पाइन्छ र पहिलो वर्षमा लाग्ने उत्पादन खर्चबाहेक पछि उत्पादन लागत अति कम हुन्छ । यो उष्ण तथा समोष्ण जलवायुमा हुने घाँस हो । यसले ठण्डा र तुसारो सहन गर्न सक्दैन तर केही सुख्खा सहन सक्छ । तराई तथा मध्य–पहाडी क्षेत्रका गरम हावापानी भएको क्षेत्रमा यिनीहरूले बाह्रै महिना हरियो घाँस दिन्छन् ।
धेरै चिसो हुने उच्च–पहाडी क्षेत्रमा शरद ऋतु लागेपछि करिब तीन महिनासम्म यिनीहरू प्रायः सुषुप्त अवस्थामा रहन्छन् । नेपियरलाई काउपी,ग्लाइसिन जस्ता अन्यघाँसहरूसँग मिसाएर खेती गर्न सकिन्छ । पौष्टिकताका दृष्टिकोणले यो घाँस केही कमसल खालको हुनुका साथै छिप्पिएमा यसको डाँठ ज्यादै कडा हुने गर्छ । साधारणतया नेपियर घाँसमा ८– १० प्रतिशत क्रुड प्रोटिन पाईन्छ ।
जातीय गुणहरू
धेरै ठुलो याङ हुने बहुवर्षीय र दह्रो जरा प्रणाली हुने घाँस हो । यसको स्टोलनबाट नयाँ बिरुवाहरू निस्कन्छन् र एउटा गाँजमा २०–३० वटा बिरुवाहरू हुन्छन् । बिरुवाहरू २–३ मिटरसम्म अग्ला हुन्छन् । पातको लम्बाई ३०–१२० सेन्टिमिटर हुन्छ भने चौडाइ १–५ सेन्टिमिटर हुन्छ । बिरुवाको टुप्पाबाट फूलको झुप्पा निस्कन्छ । झुप्पा करिब ३० सेन्टिमिटर लामो हुन्छ र केही सेतो क्रिम रङको हुन्छ । त्यसमा अति मसिनो भुवा जस्तो बिउ लाग्छ । एउटा फूलको झुप्पाबाट ३० वटासम्म बिउ पाइन्छ । बिउमा उमार शक्ति कम भएकाले
यसको टुक्रा सारेर वानस्पतिक प्रसारण गर्ने गरिन्छ ।
हावापानी र माटो
नेपियर उष्ण जलवायु मन पराउने घाँसेबाली हो । यसलाई तराई तथा मध्य–पहाडी क्षेत्रमा लगाउन सकिन्छ । यसले तुसारो खप्न सक्दैन । ज्यादै चिसो भएमा यसका पातहरू पहेंलिएर मर्छन् तर बिरुवा बाँचेकै हुन्छ । यसलाई सबै प्रकारको माटोमा लगाउन सकिन्छ तर पानीको राम्रो निकास भएको मलिलो दोमट माटो यसको लागि राम्रो मानिन्छ । यसलाई ५–८ पीएच (pH)माटामा लगाउन सकिन्छ ।
जमिनको तयारी
गहिरो गरी खनजोत गरेर प्रशस्त मल राखेर जग्गा तयार गर्नुपर्छ । प्रशस्त मात्रामा मल चाहिन्छ । खेत तयारी गर्ने समयमा १० टन कम्पोस्ट मल प्रतिहेक्टरका दरले खेतमा राख्नुपर्छ । थप प्रतिहेक्टर ८० के.जी. नाइट्रोजन, ४० के.जी. फस्फोरस र ३० के.जी. पोटास खेतमा राख्न सकेमा बढी हरियो घाँसको उब्जा पाउन सकिन्छ र हरियो घाँस काटिसकेपछि नाइट्रोजन प्रतिहेक्टर २० किलोको दरले टपड्रेसिङ गरिदिनुपर्छ ।
लगाउने समय
सिँचाइको सुविधा भएमा नेपियरलाई वर्षैभरि रोप्न सकिन्छ तापनि साधारणतया फागुनदेखि भदै सम्म लगाउन सकिन्छ । आकाशे पानीको भरमा खेती गर्दा जेठ, असारसम्म रोप्न सकिन्छ ।
डाँठबिउको मात्रा
आँख्ला भएको डाँठ रोपीन्छ प्रजननका लागि नेपियरलाई स–साना टुक्रामा काट्नुपर्छ । यस्ता टुक्रालाई सेट्स (Sets) भनिन्छ । एउटा सेट्मा कम्तीमा तीन वटासम्म स्वस्थ्य आँख्ला हुनुपर्छ । सेट्लाई राम्ररी खनजोत गरी तयार पारेको जग्गामा एक लाइनदेखि अर्को लाईन १ मिटर र एक बिरुवादेखि अर्को बिरुवा ५० से.मी. को फरक पारी रोपिन्छ । सेट् रोप्दा ४५ डिग्रीको कोण बनाई एउटा आँख्ला माटोको सतहदेखि माथि नै रहने गरी माटोमा करिब ५ सेन्टिमिटर गहिरो हुने गरी
रोप्नुपर्छ / सिँचाइ
एक हप्ताभित्र टुसा पलाउने अवस्थामा सिंचाइ गरेमा बिरुवा राम्ररी उम्रन सक्छ । सिँचाइको सुविधा भए माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिएमा बढी उब्जा लिन सकिन्छ । यसले स्थानीय तथा अन्य घाँसहरूलाई ढाकेर बढ्न दिँदैन तापनि सुरुको अवस्थामा अनावश्यक झारपातहरू गोडमेल गरेर हटाइ दिनुपर्छ ।
उत्पादन
रोपेको करिव तीन महिनापछि पहिलो पटक कटाई गर्न सकिन्छ । घाँस काट्दा जमिनबाट करिब १५ से.मि. लामो ठुटा रहने गरी काट्नुपर्दछ । पहिलो कटाई लिएको ४०–५० दिनपछि अर्को कटाइ लिन सकिन्छ । यसबाट वर्षमा ७–८ पटकसम्म हरियो घाँस लिन सकिन्छ । यसरी वर्षमा कुल १०० देखि १५० टन प्रतिहेक्टर हरियो घाँसको उब्जा पाउन सकिन्छ । नेपियरको बिउ उत्पादनद्वारा प्रसारण त्यति लोकप्रिय छैन त्यसैले वानस्पतिक विधिबाट नै नेपियर लगाइन्छ ।
यसको अवस्था
प्रजातिको घाँस प्राय: हरेक भू-भागमा पाइने भएकाले अत्यन्तै लोकप्रिय छ। एकपटक लगाएपछि वर्षोँसम्म काट्न पाइने र तुलनात्मक रूपमा अरू घाँसको दाँजोमा उत्पादन पनि बढी हुने हुनाले यस घाँसको लोकप्रिय बढ्दै गएको छ। नेपालको सन्दर्भमा प्राय: किसानहरूले घाँस लगाउन जग्गाको बन्दोवस्त गर्न नसक्ने हुनाले डिल, कान्ला, घरवरिपरी तथा कुनाकाप्चाका सिमित जग्गामा लगाएर पनि २-४ बोट बाटै डोकोभरी घाँस काट्न सकिने भएकाले नेपालको पहाड, तराई जताततै नेपियर फैलिएको हो। एक अनुसन्धानले देखायको छकी बाख्रालाई नेपियर घाँसमात्र खुवाएर पाल्दा राम्रै तौल वृद्धि भएको पाइएता पनि पाठा फाल्ने र तुहिने समस्याहरू अरू घाँसमा भन्दा अलि बढी भएको पाइएको छ त्यसकारण नेपियर घाँस अरू घाँस तथा परालसँग मिसायर खुवाउनु उचित हुन्छ ।