+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

लहरेबाली समूहका तरकारी बालीहरू

जमिनमा यसको खेती गर्दा जरा फैलिनको फैलावटलाई बढी ध्यान दिएर फराकिलो र माटोको मात्रा पनि मिलाउन आवश्यक छ । माटोको समस्या नभए पनि खेती गर्दा मल भने खरिद गर्नुपर्ने समस्या हुन सक्छ । त्यसका लागि कतिपय अवस्थामा भान्साबाट निस्कने कुहिने वस्तु सीधै बोटमा राख्न वा छुट्टै भाडामा राखेर मल बनाउन सकिन्छ भने बजारबाट खरिद गर्न पनि सकिन्छ । फर्सीबाली वा को विशेषगरी कलिला तथा छिप्पिएका फल तथा कलिला मुन्टा र जरासमेत उपभोग गरिन्छ । फर्सीबाली तरकारीमा कार्बोहाइड्रेट, खनिज पदार्थ, भिटामिनहरू, प्रोटिन आदि तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ ।  फर्सीबाली समूह वा लहरेबाली अन्तर्गत पर्ने मुख्य तरकारी बालीहरूमा सिमी, बोडी, फर्सी, स्क्वास, काँक्रो, करेला, लौका, परबल, घिरौंला, बरेला, इस्कुस आदि बालीहरू पर्दछन् ।

१. फर्सी बाली खेती 

फर्सी ग्रीष्म–वर्षा मौसममा खेती गरिने प्रचलित तरकारी बाली हो । यसमा उत्पादन क्षमता, पौष्टिक तत्वहरू, भण्डारण क्षमता र ढुवानी खप्न सक्ने क्षमता बढी हुन्छ । फर्सीको लहराका कलिला मुन्टा र पातको पनि तरकारी बनाइन्छ । नेपालका सबै जिल्लाहरूमा यसको खेती गरिन्छ । 

हावापानी र माटो : फर्सी गर्मी मौसमको बाली हो । यो २५–३० डि.से. दिउँसोको तापक्रम तथा १८–२०० से. रातिको तापक्रममा राम्रो सप्रन्छ । यसले तुषारो खप्न सक्दैन । परिपक्व हरिया फल १०० से. भन्दा कम तापक्रममा राखेमा फलमा ठण्डीबाट हुने घाउ लाग्दछ । वायुको ४० डि.से. भन्दा माथिको तापक्रमले फुल्न तथा फल्नमा नकारात्मक असर गर्दछ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको, माटोको पी.एच. मान ६.५–७.५ भएको, राम्रो पानीको निकासी भएको दोमट वा बलौटे दोमट माटो फर्सीको खेती गर्न अति उत्तम मानिन्छ । 

जातहरूः

 वानस्पतिक गुणका आधारमा फर्सी नेपाली, युरोपियन वा हिउँदे फर्सी र सुख्खा तथा गर्मी यामको स्क्वास गरी ती किसिमका छन् । ‘सोनार ०२२’ जातको फर्सी तराई र मध्य पहाडमा खेती गर्न सिफारिस गरिएको छ । यसको लहराको लम्बाइ ४००–६०० से.मि. हुन्छ । बेर्ना सारेको ७५–८० दिनमा फल टिप्न सकिन्छ । उत्पादन ५५ मे.टन/हे. हुन्छ । 

बाली लगाउने र लिने समयः

 बिउ सोझै बारीमा रोप्ने वा प्लास्टिक थैलामा हुर्काएका बेर्ना सार्ने काम उच्च पहाडमा वैशाख–जेठमा, मध्य पहाडमा फागुन–चैतमा र खोंच, बेंसी, तराईमा माघ–फागुनमा गरिन्छ । त्यसैगरी बाली लिने समय तराईमा वैशाख देखि भदौसम्म, मध्य पहाडमा असार देखि असोजसम्म र उच्च पहाडमा भदौ देखि असोजसम्म हुन्छ । क्षेत्र अनुसार अगौटे बाली तराईमा, मध्यम मौसमी मध्य पहाडमा र पछौटे बाली उच्च पहाडमा लगाउने र लिने गरिन्छ । 

बिउदरः 

एक रोपनी जमिनको लागि १२५ ग्राम । 

रोप्ने दूरीः हारबाट हार २ मिटर र बोटबाट बोट २ मिटरको फरक । बीउ रोप्दा २ दाना बिउ एक ठाउँमा रोपिन्छ । बेर्ना सार्दा एक ठाउँमा एउटा बेर्ना सारिन्छ । बिउ उम्रेपछि दुईटा मध्ये एउटा बलियोलाई राख्ने र कमजोरलाई हटाउनु पर्दछ ।

जमिनको तयारीः 

फर्सी लगाउने जमिन २–३ पटक गहिरो गरी डल्ला फोडेर झार जिलाउने । 

दुई–दुई मिटर चौडा ड्याङ बनाउने र दुई ड्याङको बीचमा ३० से.मि. फराकिलो कुलेसो बनाउने । 

निश्चित दूरीमा ३०×३०×३० से.मि. साइजका खाडल खनेर वा खाडल नखनी ड्याङ्गमा बिउ रोप्ने वा बेर्ना सार्ने ।

मलखाद तथा सिंचाइः

 एक रोपनी जमिनको लागि १५०० के.जी. गोबर मल, ५ के.जी. नाइट्रोजन, ३ के.जी. फस्फोरस र ३ के.जी. पोटास, २ के.जी बायोजाम, १ के.जी सूक्ष्म तत्वको धुलोको आवश्यकता पर्दछ । पहिलो थप मल १.२५ के.जी. नाइट्रोजन प्रति रोपनीका दरले बोटले त्यान्द्रा निकालेपछि दिने र दोस्रो थप मल फुल्न थालेपछि दिनुपर्दछ । बिउ रोप्दा र बेर्ना सार्दा पानी दिनुपर्दछ । यसलाई चिस्यान धेरै चाहिन्छ । फर्सीलाई सुख्खा मौसममा ७–१० दिनमा नियमित रूपले सिंचाइ गर्नुपर्दछ । फल परिपक्व हुन थालेपछि सिंचाइ दिन कम गर्नुपर्दछ । 

गोडमेल तथा थाँक्राः 

माटो खुकुलो पार्न र झारको रोकथाम गर्न गोडमेल गर्नुपर्दछ । थप मल दिने बेलामा दुई पटक गोडमेल गर्ने र हल्का उकेरा दिनुपर्दछ । फर्सीलाई बलियो थाँक्रो चाहिन्छ । घर, कौसी वा गोठको छानामा चढाएर थाँक्राको व्यवस्था गर्न सकिन्छ । फर्सीलाई जमिनको नजिकै होचो टाँड बनाएर वा छापो दिएर थाँक्राको काम लिन सकिन्छ । 

बाली लिनेः 

हरिया फल आकर्षक रंग र साइजका भएपछि तुरुन्तै प्रयोगको लागि टिप्नु पर्दछ । ढुवानी तथा भण्डारका लागि फूल लागेको एक महिनामा टिप्नु पर्दछ । हरिया मुण्टा धेरै पटक टिपे फल बालीमा असर पर्दछ । बिउ उम्रेको वा बेर्ना सारेको ८०–८५ दिनमा पहिला फलहरू टिप्न लायक हुन्छन् । फर्सीका फलहरू ७–१० से.मि. फलको भेट्नु सहित टिप्नु पर्दछ । 

उत्पादनः 

एक रोपनीबाट फर्सीका हरिया फल २०००–३००० के.जी. उत्पादन हुन्छ । 

भण्डारणः लामो अवधि भण्डार गर्नको लागि घाउ–चोट नलागेका परिपक्व फलहरू छान्नुपर्दछ । टिपेका फल माटोमा राख्नु हुँदैन । सुख्खा हावा लाग्ने र ठण्डी ठाउँमा सुकेको पराल ओछ्याएर पराल माथि एउटा–एउटा गरेर राख्नुपर्दछ । एउटा फलमाथि अर्को खप्टाएर राख्नु हुँदैन । फर्सीलाई गोडभेंडा, स्याउ, अम्बासँग राख्नु हुँदैन । पाकेको फर्सीलाई १०–१२० से. तापक्रम र ५०– ७० प्रतिशत सापेक्षिक आद्रताको अवस्थामा ५–८ महिनासम्म भण्डार गर्न सकिन्छ ।

२. तीतेकरेला बाली खेती

करेला गर्मी मौसमको लहरे बाली हो । यसको खेती कलिला, मनपर्दा तीता फलको लागि गरिन्छ । यसको प्रयोग तरकारी बनाएर, तारेर वा अचार बनाएर गरिन्छ । करेलामा अर्वुद रोगको प्रतिरोध गर्ने गुणहरू छन् । यसको सेवनले रगत र पिसाबमा हुने चिनीको मात्रालाई घटाउँदछ । 

हावापानी र माटोः

 करेला खेती गर्न न्यानो र ओसिलो हावापानी चाहिन्छ । लहराको वृद्घि विकास र बाली उत्पादनको लागि २५–३० डि.से. तापक्रम उपयुक्त हुन्छ । तापक्रम १८ डि.से. भन्दा कम हुँदा र ३६ डि.से. भन्दा बढी हुँदा उत्पादकत्व घट्दछ । करेलाले तुषारो सहन सक्दैन । करेलाको खेती धेरै किसिमका माटोमा गर्न सकिन्छ । पानीको निकास राम्रो भएको बलौटे दोमट माटोमा करेला खेती राम्रो हुन्छ । माटोको पी.एच. मान ६.५–७.० हुनुपर्दछ । 

जातहरूः

 नेपालमा करेलाका तीन किसिमका जातहरूको खेती गरिन्छ । स्थानीय जातहरूका फल साना र बढी तीतो हुने भएकोले यिनीहरूको खेती सीमित क्षेत्रमा गरिन्छ । १३ वटा वर्णशंकर जातहरूमध्ये एन.एस. ४३३ चन्द्र, लक्ष्मी ५५५, पीपल, शिव, गंगा, हीरा, सेती ४४४, कोमल, समृद्घि, एन.एस. ४३४ मुख्य हुन् । यीमध्ये गंगा र हीरा तराईका लागि मात्र सिफारिस भएका जात हुन् । जातहरूमा बेर्ना सारेको ५० दिनमा पहिलो बाली टिप्न सकिन्छ र २० देखि ५० मे.टन.सम्म प्रति हे. उत्पादन दिन सक्दछन् । 

बाली लगाउने र लिने समयः 

हावापानी क्षेत्रहरू र जातहरूका आधारमा लगाउने समय फरक हुन्छन् । भिन्न हावापानीका क्षेत्रहरूमा माघदेखि जेठसम्म रोप्ने र वैशाखदेखि असोजसम्म बाली लिन सकिन्छ । उच्च पहाडमा बैंशाख र जेठमा रोपेर असार र साउनमा बाली लिन सकिन्छ । मध्य पहाडमा बै.शाख जेठमा रोप्नेर जेठ साउनमा बाली लिने तथा तराईमा माघदेखि जेठसम्म रोप्ने र बैशाखदेखि असोजसम्म बाली लिन सकिन्छ । 

जमिनको तयारीः

 करेला लगाउने जमिन गहिरो गरी २–३ पटक जोत्नुपर्दछ । डल्ला फोर्ने, झार जिलाउने र सम्याउने गर्नुपर्दछ । ड्याङ २५० से.मि. चौडा र दुई ड्याङ बीचमा २ हार बोट लगाइन्छ । हार– हारको बीचमा १५० से.मि. फरक र बोट–बोटको बीचमा १०० से.मि. फरक पर्ने गरी ३०×३०×३० से.मि. का खाडलमा मल माटो मिसाई भरेर पानी लगाएपछि बीउ रोप्ने वा बेर्ना सार्ने गर्नुपर्दछ । मलखाद, गोडमेल र सिँचाई फर्सीलाई जस्तै गर्नुपर्छ । 

बाली लिनेः 

बेर्ना सारेको ५०–६० दिनमा पहिलो फल टिप्न शुरु गरिन्छ । फूल लागेको २–३ हप्ता कलिला फल टिप्न लायक हुन्छन् । दुई–तीन दिनको अन्तरमा फल टिपिराख्नुपर्दछ । 

उत्पादनः 

एक रोपनी जमिनबाट ५००–१००० के.जी. कलिला फल उत्पादन लिन सकिन्छ ।

भण्डारण :

 बाली टिपेपछि कीराले खाएका, रोग लागेका, चोटपटक लागेका र आर्कषक रंग वा आकृति नभएका फलहरू हटाउनुपर्दछ । फलमा चिसो पानी छर्केर ताजापन लम्ब्याउन सकिन्छ । टिपेपछि तुरुन्त बजार लैजानुपर्दछ । तापक्रम १२–१५ डि.से.को अवस्थामा १०–१२ दिनसम्म भण्डार गर्न सकिन्छ । 

३. घिरौंला बाली खेती 

घिरौंला ग्रीष्म–वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । यसको औषधीय महत्त्व छ । खाना रुचाउने, मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ । 

हावापानी र माटोः

 घिरौंला खेती तातो (२५–३० डि.से.) र ओसिलो मौसममा राम्रो सप्रन्छ । धेरै उच्च तापक्रम (३८ डि.से. भन्दा बढी) र सापेक्षिक आद्र्रताको अवस्थामा लहराको तीव्र गतिमा वृद्घि हुन्छ, भाले फूल धेरै हाल्दछ र बोटको उत्पादकत्व घट्दछ । कम तापक्रम, छोटा दिन र उच्च सापेक्षिक आद्र्रताको अवस्थामा बोटले बढी संख्यामा पोथी फूल उत्पादन गर्दछ । घिरौंला खेतीको ज्ञज्ञज्ञ लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ । माटोमा प्रशस्त मात्रामा प्राङ्गारिक वस्तु र पी. एच. मान ५.८–७.५ हुनुपर्दछ । 

जातहरूः घिरौंलाका

धेरै स्थानीय जातहरूको खेती गरिन्छ । उन्नत जातहरू मध्ये कान्तिपुर, नारायणी र पुसा चिल्लो बढी प्रचलित छन् । कान्तिपुर जातका फल हल्का हरिया र लामा (५०–७५ से.मि.) हुन्छन् । बेर्ना सारेको १००–११० दिनमा पहिला फल टिप्न लायक हुन्छन् । पुसा चिल्लो अगौटे जात हो । यो बीउ रोपेको ४०–५० दिनमा फुल्दछ र अगौटे बाली दिन्छ । यसका फल ५०–६० से.मि. लामा गाढा हरिया र चिल्ला हुन्छन् । घिरौंलाका वर्णशंकर जातहरू न्यु नारायणी, एन.एस. ४४५ र गीता हुन् । यी जातहरूले बेर्ना सारेको ४०–५० दिनमा बाली दिन थाल्छन् र यिनलाई तराई र मध्य पहाडमा खेती गर्न सिफारिस गरिएको छ । 

बाली लगाउने र लिन समयः

  घिरौंला उच्च पहाडमा वैशाख–जेठमा, मध्य पहाडमा फागुन–जेठमा र खोंच, बेसी, तराईमा माघ–जेठमा सोझै बारीमा बीउ रोप्ने वा बेर्ना सार्ने गरिन्छ । बेर्ना हुर्काउन फर्सीको जस्तै तरिका अपनाउनुपर्छ । तराई, मध्य पहाडमा क्रमशः वैशाख, जेठ र असारमा बाली लिन शुरु गरेर असोज सम्म लिन सकिन्छ । 

जमिनको तयारीः

 घिरौंलाको खेती गर्न २–३ पटक जोतेर माटो सम्याउनुपर्दछ । ड्याङ ३०० से.मि. चौडा र दुई ड्याङका बीचमा ५० से.मि.को कुलेसो राखिन्छ । एक ड्याङमा २ हार बोट लगाइन्छ । हार–हारको फरक २०० से.मि र बोट– बोटको फरक १५०–२०० से.मि.को फरकमा ३०×३०×३० से.मि. का खाडलमा मल माटोको मिश्रणले भरेर पानी लगाएर राखिन्छ । यसरी तयार गरेको ठाउँमा दुई दाना बीउ वा एउटा ४ पाते बेर्ना रोपिन्छ ।

मलखादः 

एक रोपनी जमिनमा घिरौंला खेती गर्न ५०० के.जी. (२५–३० डोका) गोबर मल, २ के.जी. नाइट्रोजन, १ के.जी. फस्फोरस र १ के.जी. पोटासको आवश्यक पर्दछ । गोबर मल, फस्फोरस र पोटास पूरै मात्रा र नाइट्रोजनलाई दुई खण्ड गरेर एक खण्ड लहरा बढ्न थालेपछि र अर्को एक खण्ड फुल्न थाले पछि बोटको वरिपरि दिनुपर्दछ । गोडमेल, सिंचाइ, थाँक्रा दिने आदि कार्यहरू अरू बालीमा झैं गर्नुपर्छ । 

बाली लिनेः

 बेर्ना सारेको ५५–६० दिनमा पहिला फूल टिप्न तयार हुन्छन् । फूल लागेको १२–१५ दिनमा फल टिप्ने हुन्छन् । लाग्ने सिकेचर वा हँसियाले फलसँगै अलिकति भेट्नु राखेर काटिन्छ । 

उत्पादनः

 एउटा बोटले १५–३० वटासम्म फल उत्पादन गर्दछ । एक रोपनीमा २००० के.जी. कलिला घिरौंला उत्पादन हुन्छन् । बाली टिपेपछि अरू बालीमा झैं तुरुन्त बजार लानुपर्दछ ।

४. लौका बाली खेती 

लौका एक प्राचीन कालदेखि खेती गरिँदै आएको लहरे बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । पछिल्लो समय लौकाको जुस पनि निकै प्रचलित छ । यसको परिपक्व फलको बोक्रा निकै कडा हुन्छ र यसबाट माँडाहरू बनाइन्छ । लौकाको धेरै औषधीय महत्त्व छ । उच्च रक्तचाप र पेटका बिरामीहरूलाई लौकाको सेवन बढी लाभप्रद हुन्छ । यसको रसको सेवनले पखाला लागेको निको पार्दछ । यसको पातको चियाले जन्डिसलाई निको पार्दछ । 

हावापानी र माटोः

 लौका न्यानो मौसमको बाली हो । यसले तुषारो र हुरी सहन सक्दैन । लहराको वृद्घिका लागि उपयुक्त तापक्रम २४–२७ डि.से. हुन्छ । कम तापक्रम, छोटा दिन र ओसिलो मौसममा पोथी फूलको संख्या बढी हुन्छ । भारी वर्षा र लामो समय बादल लाग्ने मौसममा रोगको प्रकोप बढ्ने र उत्पादन घट्ने हुन्छ । दोमट र बलौटे दोमट माटो लौका खेतीको लागि उपयुक्त हुन्छ । ग्रीष्ममा माटो फुट्ने र वर्षामा पानी जम्ने हुनु हुँदैन । माटाको पी.एच. मान ६–७ हुनुपर्दछ । 

जातहरूः 

लौकाका धेरै स्थानीय जातहरूको खेती गरिन्छ । खुला सेंचित उन्नत जातमध्ये पुसा समर प्रोलिफिक लङ्ग र पुसा समर प्रोलिफिक राउन्डको खेती गरिन्छ । काबेरी, एन.एस. ४२१, एन.एस. ४४३ र अनमोल नामक वर्णशंकर जातहरूमा बेर्ना सारेको ४०– ५० दिनमा पहिला फल टिप्न सकिन्छ ।

बाली लगाउने र लिने समयः 

हावापानीको क्षेत्र अनुसार लगाउने समय फरक हुन्छ । उच्च पहाडमा वैशाख–जेठमा बीउ रोप्ने, बेर्ना सार्ने र असार देखि असोजसम्म बाली लिइन्छ । मध्य पहाडमा फागुन–चैतमा लगाएको बालीबाट वैशाख देखि कात्तिकसम्म फल टिपिन्छ । तराई, खोंच र बेंसीमा माघ–जेठमा बाली लगाइन्छ र चैत– कात्तिकमा बाली लिइन्छ । नेपालमा उच्च पहाडबाट तलतिर ओर्लंदै जाँदा वर्षामा लौका खेती गर्न सकिने अवधि बढ्दै जान्छ । 

बिउ रोप्ने, बेर्ना सार्नेः

 लौकाको खेती सोझै बिउ रोपेर वा हुर्केका बेर्ना सारेर गरिन्छ । एक रोपनी जमिनको लागि १०० ग्राम बीउको आवश्यकता पर्दछ । 

जमिनको तयारीः 

लौका खेती गर्न २–३ पटक राम्रोसँग खनजोत गरेर जमिनको तयारी गरिन्छ । ५० से.मि.को कुलेसो सहितको २५० से.मि.  चौडाइको ड्याङ बनाइन्छ । एक ड्याङमा २ हार बोट लगाइन्छ । हार–हार र बोट–बोटको बीचमा दूरी २/२ मिटर हुने गरी ३०×३०×३० से.मि. का खाडल खनिन्छ । गोबर मल, रासायनिक र माटोको मिश्रणले खाडल भरेर पानी लगाउने गरेर बिउ वा बेर्ना रोप्न तयार गरिन्छ । 

मलखादः

 एक रोपनी जमिनको लागि १५०० के.जी. (७५ डोका) गोबर मल वा कम्पोष्ट मल, २ के.जी. नाइट्रोजन, १ के.जी. फस्फोरस र १ के.जी. पोटास, २ के.जी. बायोजाम, १ के.जी. सुक्ष्मतत्व आदिको आवश्यकता पर्दछ । यीमध्ये सबै मलखाद तथा नाइट्रोजनको आधा भाग मात्रा खाडल पुर्दा माटोमा मिसाएर राखिन्छ । बाँकी आधा भाग नाइट्रोजन बराबर दुई भाग पारेर एक भाग लहरा आउन थालेपछि थप मलको रूपमा बोटको वरिपरि कुलेसोमा दिइन्छ । गोडमेल, थाँक्रा दिने, सिंचाइ आदि कार्य अरूमा झैं गर्नुपर्छ 

तालिम र काँटछाँटः 

लहरालाई डोरी वा टाँडमा लगाउनाले बोट संख्या बढाउन सकिने बोटमा राम्रोसँग घाम पर्ने, फल एकनासका हुने र रोग कम लाग्ने हुन्छ । लौकालाई हल्का काँटछाँट गरेर प्रतिबोट बजार योग्य उत्पादन बढाउन सकिन्छ । बूढा र रोगी पातहरू, घाउचोट लागेका फलहरू हटाउनुपर्दछ । मुख्य लहराको लम्बाइ एक मिटर पुगेपछि मुन्टा हटाएर शाखा लहरालाई बढ्न दिने र शाखा लहरामा पोथी फूल बढी लाग्छन् । 

बाली लिनेः

 फल कलिला र बजारयोग्य आकारका भएपछि फलको भेट्नुलाई चट्ट काटेर बाली लिइन्छ । फलको कलिलो अवस्था ढल्कन थालेपछि रंग अलि सेतो हुन्छ । फलको सतहमा नङ गाड्न नसकिने हुन्छ, बिउ कडा हुन्छन् र फल खान योग्य हुँदैनन् । 

उत्पादनः उत्पादकत्व लगाएको जात र मौसममा भर पर्दछ । लौकाले वसन्त– ग्रीष्म याममा भन्दा वर्षा याममा बढी उत्पादन दिन्छ । एक रोपनी जमिनबाट सरदर १५००–२५०० के.जी. कलिला फल उत्पादन गर्न सकिन्छ ।

बाली टिपेपछि :

 लामा खाले फलहरूलाई ठाडै राख्नुपर्दछ । सुताएर राखेमा फल बाङ्गिने हुन्छ । ठण्डा छायाँ ठाउँमा ३–५ दिनसम्म फललाई राख्न सकिन्छ । 
५. इस्कुस बाली खेती 

इस्कुस बहु–वर्षीय लहरे तरकारी बाली हो । यसको एक खेतीबाट हरिया मुन्टा, कलिला फल र तरुल गरी तीन बाली लिन सकिन्छ । यसका सुकेका लहराबाट छाते टोपी तथा टोकरी पनि बनाइन्छ । इस्कुसका फूलहरूमा प्रशस्त गुलिया रस पाइने हुँदा मौरी चरणका लागि महत्त्वपूर्ण बाली हो । भित्री र बाहिरी बजारका लागि इस्कुसको व्यावसायिक खेती गर्न सकिने प्रबल सम्भावना छ । 

हावापानी र माटोः 

न्यानो र ओसिलो मौसममा इस्कुस खेती सप्रन्छ । समुद्री सतहबाट २००० मिटरसम्मका उचाइका क्षेत्रहरूमा इस्कुसको खेती गर्न सकिन्छ । यसको खेतीको लागि वायुमा उच्च सापेक्षिक आर्द्रता (८०–८५%), वर्षा १५००–२००० मि.मि. प्रतिवर्ष र १८–२२ डि.से. न्यानो तापक्रमको अवस्था निकै राम्रो मानिन्छ । इस्कुसको बोटले तुषारो र धेरै तातो दुवै सहन सक्दैन । यसको खेती, पानीको राम्रो निकासी भएको प्राङ्गारिक पदार्थ प्रशस्त भएको र पी.एच.मान ५.५–६.५ भएको बलौटे दोमट माटोमा राम्रो हुन्छ । पानी नजम्ने जमिनको छनोट गर्नुपर्दछ । 

जातहरूः

 इस्कुसका फलका भौतिक गुणहरूको आधारमा इस्कुसका धेरै थरिका जातहरू छन् । फल गुणका आधारमा ३० भिन्न थरीका स्थानीय इस्कुसको जातहरू भएको अनुमान गरिएको छ । ह एन २३ः स्थानीय जात हो । यो अगौटे, लामो समयसम्म फल्ने र धेरै उत्पादनशील जात हो । ह एन ६७ः पनि नेपालमा संकलन गरेको अगौटे राम्रो गुणस्तरको धेरै उत्पादन दिने जात हो । ह सि.आर. ८७ः जातको इस्कुस भित्री र बाहिरी बजारको निमित्त गर्न सकिन्छ । ह एम. ७४ः अगौटे, नेपाली इस्कुसको तुलनामा बढी गर्मी सहन सक्ने, आकर्षक फल भएको बढी उत्पादन दिने जात हो । त्यस्तै, ह एम. ९५ः करेसाबारीमा खेती गर्नको लागि छनोट गरिएको जात हो । 

लगाउने समयः

 पहाडमा कात्तिक–मंसिरमा लगाउने खेतीबाट फागुनदेखि असारसम्म हरिया मुन्टा टिप्न सकिन्छ । साउन देखि मंसिरसम्म फल बाली लिन सकिन्छ । पुस–माघमा तरुल बाली खनिन्छ । तराई र भित्री तराईमा साउन–भदौमा इस्कुस रोपिन्छ । यो समयमा लगाउँदा हरिया मुन्टा टिप्ने समय हुँदैन तर फल र तरुल दुवै बाली लिन सकिन्छ । कात्तिकदेखि माघसम्म फल बाली लिन सकिन्छ । फागुनमा तरुल बाली लिन सकिन्छ । असोज–कात्तिकमा रोपेको इस्कुसले फल बाली दिँदैन तर तरुल बाली दिन्छ । मंसिरमा इस्कुस रोपेमा फल र तरुल बाली दुवै लाग्दैनन् तर हरिया मुन्टा फागुन देखि जेठसम्म टिप्न सकिन्छ । 

जमिनको तयारीः 

दुई–तीन पटक गहिरो गरी जोत्ने, डल्ला फोर्ने, जिलाउने र सम्याउने गर्नुपर्दछ । इस्कुसको ड्याङ वा खाडल तरिकाबाट खेती गर्न सकिन्छ । ड्याङ बनाउँदा हार–हार बीचको दूरी २–४ मिटरको अन्तरमा एक वर्गमिटर चौडा र जमिन अनुसारको लम्बाइको ड्याङ बनाइन्छ । एक वर्ग मिटर ड्याङमा १० के.जी. गोबर मल, २० ग्राम डी.ए.पी. ३० ग्राम युरिया र ३० ग्राम पोटास राम्रोसँग माटोमा मिलाएर ड्याङको बीच भागमा इस्कुस रोपिन्छ । खाडल तरिका अनुसार निश्चित दूरीमा ४५×४५×४५ से.मि.का खाडल खनी माथि उल्लेखित मल माटोमा मिसाएर खाडल पुरी इस्कुस रोपिन्छ । इस्कुसको प्राङ्गारिक खेती पनि गर्न सकिन्छ । 

रोप्ने दूरीः 

फलबालीको निमित्त हार–हारको बीचमा ३–५ मिटर र बोट–बोटको बीचमा १–३ मिटरको फरकमा लगाइन्छ । तराई तथा भित्री तराईमा तरुल बालीको लागि १.५×१ मिटरको दूरीमा र हरिया मुन्टा बालीको लागि १×१ मिटरको फरकमा लगाउन सकिन्छ । 

रोपाईंः टुसाएका फल सोझै मुख्य जमिनमा रोपेर वा ब्याडमा हुर्काएका बेर्ना सारेर खेती गरिन्छ । फल सोझै सुताएर वा फलको टुप्पा तलतिर र फेद माथितिर पारी छड्के पारेर रोप्नुपर्दछ । फलको माथिल्लो भाग पूरै माटोले छोप्नु हुँदैन । जाडो सकिएपछि माघ–फागुनमा बेर्ना सारिन्छ । 

गोडमेलः 

लहराको तीव्र वृद्धि अवस्थामा फल बालीका लागि ५० ग्राम युरिया प्रतिबोट र (तरुल र हरिया) मुन्टा बालीका लागि २५ ग्राम युरिया प्रतिबोटका दरले बोटको वरिपरि कुलेसोमा दिएर सिंचाइ गर्नुपर्दछ । इस्कुसका लहरा नझाङ्गिदै झार नियन्त्रण गर्न र माटो खुकुलो पार्न २–३ पटक गोडमेल गर्नुपर्दछ । फल बालीका लागि फुल्न, फल्न थालेपछि दोस्रो पटक ५० ग्राम युरिया प्रतिबोटका दरले थप मल दिन सकिन्छ । हरिया मुन्टा बालीका लागि प्रत्येक टिपाइपछि १० ग्राम युरिया प्रतिबोटका दरले थप मल दिएर सिंचाइ गर्नुपर्दछ ।

सिंचाइः

 सुख्खा–गर्मी याममा ५–७ दिनको अन्तरमा सिंचाइ गर्नुपर्दछ । तरुल बालीको लागि सिंचाइको आवश्यकता पर्दैन । इस्कुसको बारीमा पानी जम्न दिनु हुँदैन । 

थाँक्रा दिनेः 

२ मिटर अग्लो बाँसको भाटा वा मसिनो फलामको तार २०–३० से.मि.को फरकमा बाँंधेर टाँड बनाइन्छ र त्यसमा लहरा लगाउनु पर्दछ । तरुल र हरिया मुन्टाको लागि मात्र खेती गर्दा बाँस वा रुखका हाँगाको साधारण थाँक्रा वा छापो मात्र दिए पुग्दछ । 

काँटछाँटः

 पहाडी क्षेत्रमा मंसिर–पुसमा जमिनको सतहभन्दा १.०–१.५ मिटर माथिबाट झ्याङ काटेर पुराना लहरा सबै हटाउनुपर्दछ । बोटको वरिपरि गोडमेल गरेर १० के.जी. गोबर मल राखिन्छ । वसन्त लागेर पालुवा आउन थालेपछि ५० ग्राम डी.ए.पी. ५० ग्राम, युरिया र ५० ग्राम म्युरेट अफ पोटास बोटको वरिपरि कुलेसोमा मल दिएर माटोले छोपेर सिंचाइ गर्नुपर्दछ । फूल लाग्न थालेपछि बोटको अवस्था हेरेर थप ५० ग्राम युरिया प्रतिबोट दिन सकिन्छ । यो मल प्रत्येक वर्ष दिँदै जानुपर्दछ ।

उत्पादकत्वः 

हरिया मुन्टा बाली १.५–२.५ के.जी. प्रतिबोट उत्पादन लिन सकिन्छ । फलबाली १५–६० के.जी. प्रतिबोट उत्पादन लिन सकिन्छ । तरुल बाली ६.५– १३.८ के.जी. प्रतिबोट उत्पादन हुन्छ । 

भण्डारणः

 इस्कुसको फलबालीमा भण्डारण गर्न सकिने क्षमता बढी हुन्छ । यसलाई ५–७ दिनसम्म साधारण अवस्थामा र ३० दिनसम्म जमिनमुनि खाडलमा, शीत भण्डारणमा (७.५ डि.से.) वा धानको भुसमा बजार योग्य अवस्थामा राख्न सकिन्छ । 

६. परबल बाली खेती 

परबल एक बहुवर्षीय लहरे तरकारी बाली हो । यसका कलिला फल भुटेर तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोषिलो तरकारी हो । यसका कलिला मुन्टा र पात पनि बालीको रूपमा हल्का पकाएर खाइन्छ । परबलमा लौकामा भन्दा दश गुणा बढी प्रोटिन पाइन्छ । परबलको औषधीय महत्त्व पनि छ । मुटु, ग्यास्ट्रिक र दिमागका रोगीलाई यसको सेवन लाभप्रद हुन्छ । यसले रक्त संचारमा पनि सुधार ल्याउँदछ । 

हावापानी र माटोः 

परबलको खेती गर्न गर्मी तथा ओसिलो मौसम चाहिन्छ । प्रशस्त घाम र वर्षामा राम्रो सप्रन्छ । यसले पानी जमेको अवस्था र तुषारो सहन सक्दैन । पानीको राम्रो निकास भएको बलौटे दोमट तथा दोमट माटोमा यसको खेती सप्रन्छ । माटो पी.एच. मान ६.०–७.० चाहिन्छ । 

जातहरूः

 नेपालमा विभिन्न रंग र आकार भएको फल लाग्ने स्थानीय जातहरूको खेती गरिन्छ । फलको रंग र आकार अनुसार यसका स्थानीय जातहरू छुट्टाइएका छन् । 

प्रसारण विधिः

 परबलको बीउ रोपेर खेती गरिँदैन । यसको जरा काटेर बनाएका १५ से.मि. लामा टुक्रा वा लहरा काटेर बनाएका ५० से.मि. लामा टुक्रा रोपिन्छ । लहरा काटेका टुक्रा रोप्ने प्रचलन बढी छ । लहराका टुक्रालाई गोलो आकारको बनाइ दुवै टुप्पा ५–१० से.मि. जमिन माथि पर्ने गरी १५ से.मि. गहिराइमा रोपिन्छ । भाले र पोथीका पूmल अलग–अलग बोटमा हुने भएकोले भाले र पोथी बोटको अनुपात १ः९ हुनु पर्दछ ।

यसरी प्रत्येक १० वटा बोट रोप्दा एउटा भाले बोट रोप्नु पर्दछ । फलिरहेको स्वस्थ बोटका लहराहरू भदौ देखि कात्तिकसम्म निकालिन्छ । लहराका सबै पातहरू हटाइन्छ । रोप्न लायक एक लहराको टुक्रा १०–१५ वटा आँख्ला भएको र ५०–६० से.मि. लामो हुनुपर्दछ । एक रोपनी जमिनमा रोप्नको लागि २००–२५० लहराका टुक्राहरू आवश्यक पर्दछ ।

जमिनको तयारीः

 परबल बहुवर्षीय बाली हो । एकपटक रोपेपछि ४–५ वर्षसम्म बाली लिइरहन सकिन्छ । गर्मी तथा सुख्खा समयमा २–३ पटक गहिरोसँग जमिन जोत्नुपर्दछ । रोप्ने बेलामा फेरि २–३ पटक खनजोत गर्नु पर्दछ । ड्याङ ३०० से.मि. चौडा र दुई ड्याङको बीचमा ५० से.मि. फराकिलो कुलेसो बनाउनु पर्दछ । एक ड्याङमा दुई हार बोट लगाइन्छ । हार–हारको बीचमा २०० से.मि. र बोट–बोटको बीचमा १०० से.मि. फरकमा रोपिन्छ । निश्चित दूरीमा ३०×३०×३० से.मि. साइजका खाडल खनेर मल र माटोको मिश्रणले भरेर रोप्ने ठाउँको तयारी गरिन्छ । 

मलखादः 

एक रोपनी जमिनको लागि एक टन पाकेको गोबर वा कम्पोष्ट मल, ४ क.जी., नाइट्रोजन, २ के.जी. फस्फोरस र २ के.जी. पोटासको आवश्यकता पर्दछ । यीमध्ये एक तिहाई भाग नाइट्रोजन र गोबर मल, फस्फोरस र पोटासको पुरै मात्रा सबै खाडलमा एकनासले पर्ने गरी माटोसँग मिलाएर राख्नुपर्दछ ।

दोस्रो एक तिहाई भाग नाइट्रोजन फुल लाग्न थालेपछि र तेस्रो भाग त्यसको एक महिनापछि थप मलको रूपमा दिनुपर्दछ । बायोजाम २ के.जी. सूक्ष्मतत्वको धूलो १ के.जी. पिना आदि पनि हाल्न सके राम्रो उत्पादन लिन सकिन्छ । 

लगाउने समयः

 ताजा लहराका टुक्राहरू असोज–कात्तिकमा रोपिन्छ । बगरमा खेती गर्नको लागि भने असोज–कात्तिकमा काटेका लहराका टक्रा सानो ब्याडमा रोपेर जरा पलाएपछि माघमा रोपिन्छ । लहराका टुक्रा रोपेको २–३ महिनामा जरा हालेर सार्न लायक हुन्छन् । धेरै छोटा र लामा टुक्राहरू उपयुक्त हुँदैन् । 

गोडमेलः 

लहरा रोपेपछि फुल लाग्ने बेलासम्म ३–४ पटक गोडमेल गर्नुपर्दछ । फुूल लाग्ने बेलामा गोडमेल गरेर थप मल दिइन्छ । त्यसको एक महिनापछि दोस्रो पटक थप मल दिँदा फेरि गोडमेल गर्नुपर्दछ । लहरा बढ्दै गएपछि समय समयमा झार उखेल्ने र हल्का गोडमेल गर्नुपर्दछ । जाडो याममा लहरा सुकेपछि मूल लहराको ५० से.मि. माथिबाट काटेर सबै हटाउनुपर्दछ । बोटको वरिपरि गोडमेल गरेर प्रतिबोट २–४ के.जी. गोबर मल दिनुपर्दछ । माघमा नयाँ मुनाहरू पलाउन थालेपछि ५० ग्राम युरिया प्रतिबोटका दरले मल र सिंचाइ गर्नुपर्दछ । 

थाँक्राः

 परबलका लहरा चढाउन २ मि. चौडा, १.२५ मि. अग्ला र आवश्यकता अनुसारका लम्बाइका बाँस र सुतरी वा फलामको तारको छाप्रो बनाउनु पर्दछ । टाँडमा चढेको लहराले राम्रो गुणस्तरको बढी फल दिन्छ । ९.१०.१० सिंचाइः लहरा रोपेपछि सिंचाइ गर्नुपर्दछ । सुख्खा गर्मी मौसममा ८–१० दिनको फरकमा सिंचाइ गर्नुपर्दछ ।

वर्षा याममा सिंचाइको आवश्यकता पर्दैन । वर्षा यामपछि असोज–कात्तिकमा चिस्यान हेरेर १–२ पटक सिंचाइ गर्नुपर्दछ ।
बाली टिपाइः परबलका पूरा बढेका कलिला फल फागुन देखि कात्तिकसम्म लगातार टिप्न सकिन्छ । हप्ताको दुई पटक परबल टिपिरहनुपर्दछ । फल टिपेपछि पानी हालेको भाँडामा राखिन्छ । 

उत्पादनः 

पहिलो वर्ष ५००–१००० के.जी., दोस्रो र तेस्रो वर्ष १५००–२००० के.जी. प्रति रोपनी परबलको फल उत्पादन हुन्छ ।

Leave a comment