+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

वन वीउ भण्डारण बिधी

प्रजाती अनुसार कुनै वीउ प्रशोधन गरेको केही दिन भित्रै रोप्नु पर्ने हुन्छ भने अन्य कुनैको वीउ लामो समय पछि पनि रोप्न सकिन्छ। प्रशोधन पछि नर्सरीमा वीउ रोप्ने वेला ठीक नभए सम्म वीउको जैविकत्व क्षमतालाई सुरक्षित राख्दै उपयुक्त स्थानमा ने काम नै भण्डारण हो । यसरी भण्डार गर्नु पर्ने अवधि केही दिन वा महिना हुन सक्छ । विकशित मुलुकहरुमा अत्याधुनिक चिस्यान घरहरुको माध्यमद्धारा वन वीउहरुको लामो समयसम्म भण्डारण गरेको पाईन्छ। नेपालको सर्न्दभमा भने प्रविधी, विद्युत आपूर्ती तथा लगानी जस्ता कारणबाट वन वीउहरुको चिस्यान घरमा भण्डारण गर्ने परिपाटी देखिदैन जस्को कारण धेरै वीउ काम ने हुन्छ। कुनै कुनै वर्ष बाली नराम्रो हुन सक्ने भएको कारणबाट कहिले काहीँ दुई वा वढी वर्षको लागि पुग्ने गरी वीउ संक्लन गर्नुपर्छ। वीउ एक वर्ष वा बढी समयको लागि भण्डार गर्नु पर्छ।कुन प्रजातीको वीउ हो ? रिक्याल्सीटेन्ट (Recalcitrant) हो या अर्थोडक्स (Orthodox) कुन प्रकार को वीउ हो ? आकार, आर्द्रता, सुख्खापन, उमारशक्ति, उमार अवधि तथा वीउ भण्डारणको सम्भाव्य अवधि आदि सबैकुराहरुलाई विचार गरी वीउहरु संकलन गर्नुपर्दछ । जस्तो Recalcitrant प्रजातीको वीउको भण्डारण छोटो अवधिको लागि आर्द्रतायुक्त र श्वासप्रश्वास हुन सक्ने स्थानमा भण्डारण गर्नुपर्दछ जस्तै आँप, बडहर, चिउरी आदि । यसै गरी Orthodox वीउको हकमा सुख्खा स्थानमा हावा नछिर्नेगरी पोलिथिनको थैलोमा टम्मबाँधी सुख्खायुक्त वीउ भण्डारण गर्नु उपयुक्त हुन्छ जस्तै सिसौ, रुद्राक्ष, इपिलइपिल, मसला आदि प्रजातीका वीउहरु अर्थोडक्स प्रकारका वीउहरु हुन् ।

रिक्याल्सीटेन्ट (Recalcitrant) वीउ

बीउलाई लामो समय सम्म भण्डारण गर्न सकिन्न र राख्न सकिने भए पनि तिनीहरुको उम्रने सक्ने क्षमता नष्ट हुन नदिई राख्नका लागि ओशिलो रहने गरी सुरक्षित भण्डारण गर्नु पर्दछ। यस प्रकारको वीउलाई नै रिक्याल्सीटेन्ट वीउ भनिन्छ । यस्ता बीउहरु सुख्खा हुन गएमा छिट्टै मर्न पुग्दछन्। रुखमा आफै नसुक्ने, गुदीदार फल भएका र वर्षात भन्दा अघि वा वर्षातको वे ता फल झर्ने प्रजातीहरु अक्सर यस वर्गमा पर्छन्। यस प्रकृतीका वीउमा वीउ गुदिदार फलभित्र रहेका हुन्छन्। यस्ता वीउको उमार अवधि छोटो तथा श्वासप्रश्वासको हिसाबले सक्रिय तथा संवेदनशिल प्रकारका वीउहरु यस Recalcitrant प्रजाती अन्तर्गत पर्दछ। यस किसिमका वीउहरुलाई चिस्यान, आर्द्रता र नियमित श्वासप्रश्वास अर्थात Active metabolism को आवश्यकता पर्दछ। गुदीले वीउलाई आर्द्रतायुक्त ताजा र श्वासप्रश्वास अर्थात अक्सिजन प्रवाहित अवस्थामा राखेका हुन्छन् । यस्ता वीउ प्रजातीहरुलाई बाहिरको गुदी सफा गरी पानीले धोईपखाली छाँयामा सुकाई सुख्खा बनाई प्रशोधन गरिन्छ। आर्द्रतायुक्त सुख्खा तर चिसोपना भएको केहि हावादार स्थानमा केवल छोटो समयावधिको लागि मात्र यस्ता प्रकारका बीउहरु भण्डारण गर्न सकिन्छ। जस्तैः आँप, कटहर, बडहर, ओखर, फंलाट, पांगर, ढाले तथा मुसुरे कटुस, चिउरी आदि प्रजातीका बीउहरु यस वर्गमा पर्दछन् ।

अर्थोडक्स (Orthodox) वीउ

वीउलाई सुकाएर चिसो ठांउमा सुख्खा गरी लामो समयसम्म भण्डारण गर्न सकिने वीउलाई अर्थोडक्स वीउ भनिनछ । यस प्रकृतीका वीउहरु सुख्खा, हावा नछिर्ने प्लाष्टिकको थैलीमा राखेर चिसोस्थानमा राख्दा लामो अवधिसम्म भण्डारण गर्न सकिने खालको हुन्छन्। धेरै लामो अवधिसम्म भण्डारणमा राख्नुपर्ने हुँदा सकभर कम metabolism होस् भन्ने तर्फ विशेष ध्यान दिनुपर्ने हुँदा passive metabolism को लागि उपयुक्त हुनेगरी विभिन्न तरिकाबाट प्रशोधित वीउहरु पहिले छाँयामा तथा पछि सुख्खा हुनेगरी मन्द तथा पारीलो घाममा सुकाई हावा नछिर्ने गरी टम्म पारी बन्द भाँडोमा भण्डारण गरिन्छ । जस्तैः मसला, रुद्राक्ष, रक्तचन्दन, वकाईनो, कोईरालो, लप्सी, निमारो, पैंयू रिठ्ठा, खयर, सिसौ सिरिष, इपिलइपिल लगायतका प्रजातीहरु यस वर्गमा पर्दछन्।

३.१ भण्डारण गर्दा संझनु पर्ने सामान्य कुराहरु

वीउ संकलन को समयमा राम्रो ध्यान पुरयाईएन भने यसको प्रत्यक्ष अशर भण्डारणको समयमा देखा पर्दछ । अपरिपक्व, रोग तथा किरा लागेका तथा पोसा नलागेका वीउ संकलन गर्दा यसले अनावश्यक संकलन खर्चमा वृद्धि गराउने, समयको खेर फाल्ने तथा भण्डार कक्षको ठूलो हिस्सा अनाबश्यक रुपमा ओगट्ने हुंदा भण्डारण कार्यलाई व्यवस्थित, सुरक्षित तथा Cost effective वनाउन निम्न कुराहरुलाई विचार गर्नु पर्ने हुन्छ ।

क. परिपक्क वीउ संकलन गर्ने

वीउ संकलनको लागि सकेसम्म अनुभवी ज्यामिहरुको प्रयोग गर्नु श्रयेष्कर हुन्छ यसो हुंदा उस्लाई कुन प्रजातीका वीउहरु कहिले पाक्छन्, फल भित्रको वीउ परिपक्व भएका छन् की छैनन्, रोग तथा किरावाट संक्रमित भएका छन् की छैनन् भन्ने जस्ता अति नै आधारभूत कुराहरुको ज्ञान तथा अनुभवले अन्तत्तोगत्वा भण्डारण कार्यलाई प्रभावकारी वनाउन सहयोग पुरयाउंदछ । वीउ संकलनको बेलामा फल र भित्रको वीउ परिपक्व छ या छैन भन्ने कुराको पक्का गर्नु पर्छ । टुसाउने शक्ति र उत्पादकत्व बढी भएका वीउहरु राम्ररी भण्डार गर्न सकिन्छ । राम्ररी नपाकेको फलका वीउहरु पूर्णरुपमा विकसित नभएका तथा कलिला हुने हुन्छन जुन पछि गएर उम्रिदैन तथा बढी पोकेका फलका वीउहरुमा टुसाउने शक्ति नहुने वा भए पनि न्यून हुने हुंदा सधै परिपक्व वीउ नै टिप्नु पर्दछ ।

ख. फलहरु राम्ररी भण्डार गर्ने

भण्डार गरिने फलहरु वीउ भिक्नु भन्दा अगाडी सुख्खा र चिसो तथा राम्ररी हावा लाग्ने स्थानमा राख्नु पर्छ । भरखरै टिपिएका फलहरुले ताप र पानी निकाल्छन् जस्ले गर्दा फल भित्रको वीउ ढुसी पर्नाको कारणले कमजोर हुन जान्छ । फलहरु जुटको वोरामा राखी विछ्याईएका काठका फल्याक माथि वा किलामा झुण्ड्याई छहारीमा राख्नु पर्छ। यसको विकल्पको रुपमा डोको, टोकरी तथा जालीको पींध भएको सुकाउने किस्तीहरु प्रयोग गर्न सकिन्छ।

ग. वीउ चाँडो झिक्ने

फलहरु राम्ररी पाकेको भएमा यसवाट सके सम्म छिटो वीउ भिक्नु पर्छ तर नपाकेको फलहरु (कोण, खोल तथा गुदी भएका फलहरु) सोझै घाँममा सुकाउनु हुदैन किन भने चिसो वीउहरु घामको तापबाट विग्रन्छ। फललाई सोझै घाममा सुकाउनु भन्दा अगाडी खैरो रंगको नहुन्जेल सम्म छहारिमा राख्नु उत्तम हुन्छ।

३.२ भण्डारण तरिकाहरु

भण्डारणको मुख्य उद्धेश्य वीउको जैविकत्व सुरक्षित राख्दै आबश्यकता अनुसार चाहिएको वेलामा नर्सरीमा उमार शक्तियुक्त वीउहरुको उपलब्ध गर्नु नै हो । वीउहरुको जात अनुसार भण्डार गर्ने तरिका फरक फरक हुने गर्दछ जसमा मुख्यतया | 

बीउ भित्र रहने पानीको उपस्थिती (Moisture content )लाई आधार वनाईएको हुन्छ । यंहा मुख्यतया दुईवटा तरिकाको बारेमा उल्लेख गरिएको छ ।

क. सुकाउन सकिने खालका (Orthodox Type) वीउको भण्डार

अर्थोडक्स वीउलाई फलवाट छुट्याई सकेपछि सफा गरेर राम्ररी सुकाउनु पर्दछ । वीउ सुकाउंदा खाली जमीनमा नराखि कुनै ढुड,गा वा काठले अड्याएर वीउ सुकाउने किस्तिी वा चाल्नो वा भकारीलाई जमीनको सतह भन्दा केही माथि राख्दा वा माथि दुवैतिर वाट हावा संचालन हुन पाई वीउ सुक्न मद्दत पुग्छ। वीउ सुकाउंदा सकभर वीउ पातलो हुने गरी सुकाउनु पर्दछ। ठांउको अभावमा वाक्लो गरी सुकाउनु पर्दा नियमित अन्तरालमा राम्ररी चलाई राख्नु पर्दछ । प्रशोधनका समय पानीमा डड्याई निकालीएको वीउको लागि घाममा सुकाउनु अघि एक दिन छहारीमा सुकाउनु पर्दछ र रातीको समय वीउलाई पातलो कपडाले छोप्ने तथा अंध्यारो छानामुनी राख्न जरुरी हुन्छ ।

वीउ राम्ररी सुकि सकेपछि चिसो हुन नपाउँदै तुरुन्तै हावा नछिर्ने भांडोमा थन्काई हाल्नु पर्दछ जस्ले गर्दा वीउ सुख्खा * रहीरहन्छ। साधारणतया यस प्रकारको वीउलाई पोलीथिनको थैलीमा वीउ राख्नु राम्रो मानिन्छ । थैलीमा वीउ राख्नु अघि लीभित्रको हावा बाहिर फालेर वीउ राखे पछि ओशिलो हावा थैलाभित्र नछिर्ने गरी राम्ररी मुख वन्द गर्नु पर्दछ । थैलालाई वाल पर्नबाट तथा मुसा छुचुन्द्राहरुबाट बचाउनको लागि टिनको वाकस भित्र राख्नु उपयुक्त हुन्छ । थोरै परिमाणको वीउ भएको अवस्थामा पेच कसिने विर्को भएको प्लाष्टीक वा शिसाको वोटलमा राखि हावा नछिर्ने गरी मुख वन्द गर्नु पर्दछ ।

वीउ राखिने भांडो चिसो तथा सुख्खा कोठामा राख्नु पर्दछ । घरको भुईतल्लाको उत्तर तिरको कोठा वीउ भण्डारणको लागि उपयुक्त हुन्छ। वीउ राखिने भांडो सिधै जमीनमा नराखि भित्ताको विच तिर तख्तामा राख्नु वेश हुन्छ । विच विचमा वीउ निकाल्नु पर्दा तुरुन्तै विर्को वन्द गरी हाल्नु पर्दछ । भांडो खुल्लै छाडी राख्दा वीउले हावामा भएको पानीको कणहरु शोसेर वीउ ओसिलो हुन पुगी वीउ कुहिने संभावना रहनाले त्यस्तो वीउलाई पुन सुकाईसके पछि मात्र भण्डारण गर्नु पर्दछ। जस्तैः मसला, द्राक्ष, रक्तचन्दन, वकाईनो, कोईरालो, लप्सी, निमारो, पैंयू रिठ्ठा, खयर, सिसौ सिरिष, इपिलइपिल लगायतका प्रजातीहरु यस वर्गमा पर्दछन् ।

ख. ओशिलो गरी राख्नु पर्ने वीउ (Recalcitrant Type) को भण्डार

लामो समयसम्म भण्डारण गरी राख्न नसकिने वीउहरुलाई यस विधिबाट भण्डारण गर्ने गरीन्छ । यस वर्गमा पर्ने वीउहरु सुकाउँदा उम्रने शक्ति घट्ने हुनाले भण्डार गर्दा ओसिलो राख्नु पर्छ । धेरै गुदी भई चाँडो नसुक्ने किसिमका ठूलो प्रकृतीको वीउहरु जुन सामान्यतया वर्षा समयमा निकाल्न सकिने वीउहरुलाई रिक्यालसिटेन्ट किसिमका वीउ भनिन्छ । यसमा धेरै जातका डाले बाँसका वीउहरु पर्छन। यस्ता वीउहरु सुख्खा हुन गएमा छिट्टै मर्ने गर्दछ । रुखमा आफै नसुक्ने, गुदीदार फल भएका र वर्षातमा फल झर्ने प्रजातीहरुले अक्सर रिक्याल्सीटेन्ट वीउ उत्पादन गर्दछन् । यस्ता समूहका वीउहरु छोटो (ज्यादै छोटो जैविकत्व भएको) समयको लागि मात्र जिवित रहने हुंदा वीउ संकलन गर्ना साथ जति सक्यो छिटो नर्सरीमा रोप्नु वेस हुन्छ ।

वीउलाई एक हप्ता भन्दा बढी समयसम्म राख्नु पर्ने अबस्था आएमा गुदीबाट वीउ छुट्याएर वीउको दुई भाग जति चिसो र सफा बालुवा मिसाई उक्त मिश्रण लाई विर्को भएको माटोको भांडो, पिधंमा र छेउछेउमा २०-३० वटा प्वाल (२ मि.मि. ब्यासको) भएको विर्को सहितको टिनको भांडो या तारले बांधेको मसिनो जालीयुक्त झोलामा राखि सुरक्षित भण्डारण गर्न सकिन्छ। माथि उल्लेखित जुनसुकै भांडोमा मिश्रणयुक्त वीउ राखे पनि पछि उक्त भांडोलाई खाडल खनी राख्नु पर्दछ। खाडल खन्दा पानीको राम्रो निकास भएको ठाउंमा एक मिटर गहिरो खनेर खाडलको पिंधमा चिसो वालुवाले पुरी त्यस माथि वीउ राखेको भांडो राखि खाडललाई खनेकै माटोले पुरी दिनु पर्दछ । यसरी खाडल वनाएको ठाउंमा ओत भएमा राम्रो हुन्छ । खाडल यदि भिरालो जमीनमा वनाईएको छ भने खाडल माथि पानीको निकासको लागि कुलो वनाउनु पर्ने हुन्छ जस्ले गर्दा खाडलमा पानी पस्न पाउँदैन । आश्यकतानुसार वीउको माग आए पछि जतन साथ खाडल खनी वीउ निकाल्नु पर्दछ । यति वेला सम्म कुनै कुनै प्रजातीको वीउ भने टुसाउन थालिसकेका हुन सक्दछन् । केहि महत्वपूर्ण रिक्यालसिटेन्ट वीउहरुमा जस्तैः आँप, कटहर, बडहर, ओखर, फंलाट, पांगर, ढाले तथा मुसुरे कटुस, चिउरी आदि ताई लिन सकिन्छ।

३.३ अर्थोडक्स वीउलाई सुकाउने सामान्य तरिका

क .वीउ राम्ररी सुकाउने

यस प्रकारको वीउलाई घाममा सुकाएर वीउहरुबाट चिसो निस्कन बन्द भएपछि मात्र भण्डारणको प्रकृया अगाडी वढाउनु पर्दछ। यसरी घाममा वीउ सुकाउँदा झ्वाटै एकै पटक घाममा पर्ने गरी सुकाउनु हुदैन । वीउहरुको पातलो तह हुने गरी तारको जाली भएको सुकाउने किस्तीमा तल माथिबाट हावा छिर्नेगरी ओभानो र हावा लाग्ने छहारीमा राखी हरेक घण्टामा विस्तारै चलाउँदै जानुपर्छ। यो क्रमलाई २ घण्टा सम्म जारी राखे पछि वीउलाई थन्काउनु पर्छ। घाममा वीउ सुकाईएको वेलामा वीउ धेरै तात्न नदिन बराबर चलाई राख्नु पर्छ। बढी गर्मी हुने वेसी वा तराई तिर वीउलाई मध्यान्न पछिको घाममा मात्र सुकाउनु पर्छ ।

ख. वीउ सुख्खा राख्नु पर्ने

पारिलो घाम लागेको बेलामा वीउलाई राम्ररी सुकाई सकेपछि वीउ सुख्खै अबस्थामा राख्न तुरुन्त विर्को भएको प्लाष्टिकको भाडा, टिन वा वदाहरुमा राख्नु पर्छ। वीउलाई सुरक्षित राख्न राम्ररी मुख बन्द गर्न मिल्ने बाक्लो पोलीथीनका थैलो वा वट्टाहरु वा टीनहरुको प्रयोग गर्नु वेश हुन्छ। पोलिथिनका थैलीहरु वाक्लो हुनु पर्छ र वीउ राखेपछि थैली भित्र रहेको हावा राम्ररी निकाली तामाकोतार, रवर व्याण्ड वा डोरीले हावा नछिर्ने गरी राम्ररी बाँध्नु पर्छ। टिन वा वट्टाहरुको विर्को राम्ररी वन्द गर्नको लागि विर्कोभित्र रवर वा कागजको वाशर राख्नु पर्छ। टीनमा वीउ राख्ने हो भने यस भित्र पोलिथिन व्याग राखी मुख वाँधी बन्द गर्नुपर्छ। किनभने टीनको विर्को आफै राम्ररी बन्द नभई हावा छिर्ने डर रहन्छ ।

ग. ओसिलो मौसममा राम्ररी स्याहार गर्ने

वर्षा याममा संकलन गरिएको वीउ भएमा बाहरुमा भण्डार गर्नु हुँदैन किनभने त्यस्ता वीउहरु राम्ररी सुकेको हुदैन जसले गर्दा वीउमा ढुसी परी कुहिन पुग्छ। यसो हुन नदिन राम्ररी हावा छिर्न सक्ने गरी कपडाको थैलीमा वीउ हाली मौसममा सुधार भएपछि वीउ सुकाउनु पर्छ। वीउ राम्ररी सुकेपछि मात्र बन्द भाडोमा राख्नु पर्छ।

घ. भाडोहरु चिसो राख्ने

अर्थोडक्स वीउहरु राखिने भाडा सकेसम्म सुख्खा, चिसो र प्रशस्त हावा लाग्ने ठाउँमा राखी मुसा जस्ता हानी गर्ने जनावर बाट पनि बचाउनु पर्छ। यसको लागि भण्डार कक्षको एउटा खण्डमा काठको फ्रेम बनाई मुसाहरु नछिर्ने खालको तारकोजाली लगाई फ्रेमलाई बन्द गरी हरेक भाडाहरुको वीचमा प्रसस्त ठाउँ हुने गरी तख्ताहरुमा राख्नु पर्छ । भण्डार गर्ने कोठा सुख्खा र प्रसस्त हावा छिर्ने किसिमको होचो भएमा राम्रो हुन्छ।

ङ. किटनाशक औषधीको प्रयोग

राम्ररी सुकाएको वीउहरुमा ढुसी पर्दैन । वीउहरुको थुप्रोबाट केही वीउ नमूनाको रुपमा लिएर सुघने र नराम्रो गन्ध पाईएमा वीउमा ढुसी परेको हुन सक्ने भएकोले त्यस्ता वीउलाई तुरुन्तै घाममा राम्रो संग सुकाउनु पर्दछ। यदि वीउमा कीरा वा रोग लागेको छ भने विग्रेको वीउ तुरुन्त हटाउने र वाँकीमा उपयुक्त किसिमको किटाणुनाशक औषधी छर्नु पर्छ।

३.४ ओसिलोराख्नुपर्ने (Recalcitrant) वीउ भण्डारण गर्दा अपनाउने सामान्य कुराहरु

क. वीउलाई ओसिलो राख्ने रिक्यालसीट्रेन्ट

जातका वीउहरु गुदी भएका फलहरुमा हुने भएकोले केही दिन सम्म फलमै राख्न सकिन्छ । फलको वोक्रा सुख्खा र प्रसस्त हावा लाग्ने गरी राखी ढुसी पर्नेबाट बचाउनु पर्छ। यदि फल वासी भई कुहेर ढुसी पर्न थालेको छ भने तुरुन्तै वीउ झिक्नु पर्छ । वीउलाई धेरै दिन सम्म राख्दा पनि टुसाउन सक्ने पार्नको लागि सबै भन्दा राम्रो तरिका वीउलाई फलबाट तुरुन्तै झिकी केही दिनसम्म पानीमा राख्नुपर्छ ।

ख. ढुसीबाट जोगाउने

चिसो वीउमा तुरुन्त ढुसी लाग्न सक्ने भएकोले वीउ भिजाई राख्ने पानीमा उपयुक्त किसिमको ढुसी नलाग्ने औषधि उिनु पर्छ। यो औषधि मिलाउने काम वीउ नविग्रोस भन्ने हेतुले पानी फाल्नु केही दिन अगाडी गर्नु पर्छ।

 ग. वीउ सके सम्म चाँडो प्रयोगमा ल्याउने

यस किसिमको वीउहरुको जैविकत्व अत्यन्तै छोटो (केहि दिनको मात्र) हुने भएकोले सकेसम्म फल टिप्ने वित्तिकै हरुमा रोप्नु श्रयेष्कर हुन्छ यसको अर्थ त्यस्ता वीउहरुको लामो समयसम्म भण्डारण गर्न नसकिने भने होईन । यस्ता छोटो उमार शक्ति भएका वीउहरुको भण्डारण गर्दा अति नै चनाखो हुनु पर्दछ ।

च. चिसो, अंध्यारो तथा हावा लाग्ने ठाउँमा वीउ भण्डार गर्ने

संकलित वीउ नटुसाओस् भन्ने हेतुले वीउलाई ओसिलो, चिसो, अध्यारो र हावा लाग्ने ठाउँमा राख्नु पर्छ। वीउहरुले पानी निकाल्न सक्ने भएकोले वीउको ओसिलोपन कायमै रहने गरी हावा समेत लाग्ने भाडामा वीउ राख्नु पर्छ। यसको लागि सबै राम्रो उपाय पातलो प्लाष्टिकको व्यागमा पेनले प्वाल पारी वीउ राखी मुख डोरी वा तारले बन्द गर्नु पर्छ। यसले वीउको ओसिलोपन कायम राखी भित्रका हावा विस्तारै वाहिर निस्कन मद्दत गर्छ । पूर्ण रुपले बन्द भएको भांडामा वीउ कहिले पनि हुँदैन। व्यागलाई चिसो अध्यारो ठाउँमा तख्ता माथि राख्नु पर्छ

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment