+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

वन वीउ संकलन गर्ने तरीका

गुणस्तरीय वीउ बाट नै स्वस्थ रुखको परिकल्पना गर्न सकिन्छ । असल वीउबाट असल विरुवा र असल विरुवाबाट गुणस्तरीय रुख हुर्कने हुंदा वन विकाशमा वीउको ठुलो महत्व छ। श्रृष्टिको आदिम कालदेखि नै सिङ्गो मानव समाज जंगली सभ्यतामा अभ्यस्त थियो । जंगली जिवजन्तु, जडीबुटी, फलहरुको फलाहार उसको दैनिकी नै थियो। यसै क्रममा जव उसले आफूले उपभोग गर्दागर्दै पोखिएका केहि जंगली अनाजहरु केहि समय पछि उम्रदै र हुर्कदैँ गएको देख्यो, मानव जातिको यहि अनुभव नै वीउ शब्दको पहिलो अंकुरण बन्न पुग्यो । यद्यपी हिन्दु धर्मशास्त्रानुसार श्रृष्टिको शुरुको मानव मनु र सतरुपाले श्रृष्टिको प्रलयको शुरु हुनु ठिक अघि प्रलय पश्चातको श्रृष्टिको आवादीको लागि केहि पारिस्थितिकीय पद्धतिका महत्वपूर्ण प्रजातीय अवयवहरुको संकलन गरी डुङ्गामा सुरक्षित राखेको भन्ने सम्मको वीउ सम्बन्धि धार्मिक कथाहरु भेट्न सकिन्छ । जंगली सभ्याताबाट मानव परिष्कृत हुँदै सामुहिक भावना र परिवारवाद तिर विकास हुने क्रममा सबैभन्दा पहिले मानवले खाद्य प्रजातीको रुपमा भट्मासलाई खेति प्रचलनमा ल्याएको विश्वास गरिन्छ । मानव विकास हुनु अघि पनि यस धर्तीमा बोटबिरुवाहरु थिए भन्ने सहज अनुमान लगाउन सकिएबाट वन प्रजातीका रुखहरुका वीउ र वीउ संकलन प्राचिन श्रृङ्खला नै हो भन्न सकिन्छ। प्राकृतिक श्रोत साधनको अधिक दोहन सँगै पारिस्थितिकिय प्रणाली र वन फडानी र सो प्रतिको मानविय संवेदना र जागरुकता सँगै पारिस्थितिकिय प्रणाली संरक्षण र वृक्षारोपणको अभ्यासले प्रसय पाएसँगै वन वीउ संकलन कार्यले आधुनिक रुप लिएको सहज अनुमान गर्न सकिन्छ ।

वन वीउ संकलनका लागि ध्यान दिनु पर्ने कुराहरू

वृक्षारोपणको शतप्रतिशत नतीजा उन्नत वीउ संग सम्वन्ध राख्ने भएकोले नर्सरीमा प्रयोगमा ल्याउने वीउहरुको गुणस्तरमा कुनै किसिमको सम्झौता गरिनु हुदैन । वीउ संकलनको वेला थोरै मात्र हेलच्याक्राईले वृक्षारोपणको सम्पूर्ण कार्य प्रभावित हुन सक्दछ। अतः वृक्षारोपणलाई सफल वनाउनका लागि, वृक्षारोपण कार्यमा गरिने लगानीको सुरक्षाको प्रत्याभूतीका लागि वृक्षारोपणमा प्रयोग गरिने विरुवाको उत्पादनमा प्रयोग गर्ने वीउको संकलन गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

उपयुक्त प्रजातीका लायक वृक्षको छनोट

कुन प्रजातीका वीउहरु आवश्यक परेको हो तिनै प्रजातीका योग्य बिरुवाहरुको माझबाट उत्पादन भएका वीउहरु मात्र संकलन गर्नु पर्दछ। जस्तो किसिमको रुख हामीलाई चाहिएको हो त्यसै अनुरुपको रुखहरुवाट मात्रै वीउहरु संकलन गर्नु पर्छ।

 रोग नलागेको रुख

रोगी रुखहरुबाट संकलन गरेको वीउ कमजोर, न्यून उमार क्षमता तथा वंशाणुमा समेत खराबी हुन सक्ने भएकोले वीउ संकलन गर्दा सकेसम्म रोग व्याधि नलागेको रुखहरुबाट उत्पादित वीउमात्र संकलन गर्नुपर्छ ।

वृक्षारोपण उद्धेश्य अनुसारको रुखहरुबाट वीउ संकलन गर्नु पर्ने

काठ उत्पादन गर्ने मुख्य लक्ष्यका साथ वृक्षारोपण गर्ने हो भने वीउ संकलन गर्दा त्यस्ता रुखहरुबाट वीउ संकलन गर्नु पर्छ जसका काण्ड सिधा, सर्लक्क रकम हाँगाविँगा भएको होस्।  त्यस्तै डालेघांस तथा दाउराका लागि वृक्षारोपण गर्ने हो भने धेरै झ्याडि.गएको तथा हांगाविगा वढि भएको रुखहरुबाट वीउ संकलन गर्नु पर्दछ। यस अवस्थामा रुखको वलिष्ठता तथा सिधाकाण्ड गौण हुन जान्छ । पुड्का बाबु-आमाबाट जन्मिएका बच्चा सोही किसिमका हुन सक्ने सम्भावना भए भै कम हाँगाविँगा समेत सर्लक्क परेको रुखहरुबाट उत्पादित वीउको प्रक्षेपित रुख समेत सोही बमोजिम नै हुन सक्ने हुन्छ । अतः जुन उद्धेश्यका लागि वृक्षारोपण गर्ने हो ? सोही अनुसारका रुखबाट वीउ संकलन गर्नु लाभदायक हुन्छ।

वंशाणुमा कुनै खराबी नभएको (Genetically superior) रुख हुनु पर्ने

कमसल जिनयुक्त रुखहरुबाट कहिल्यै पनि वीउ संकलन गर्नु हुदैन । आफूले चाहेको गुणस्तर भन्दा भिन्न प्रकारको गुणयुक्त रुखबाट संकलन गरेको वीउको जीन फरक पर्ने हुन्छ । जस्तो तुलनात्मक रुपमा अमिलो तथा भिन्न बास्नादार आँपबाट संकलन गरिएको वीउको आगामी वंश समेत सोही बमोजिम हुने हुँदा गुलियो तथा मिठो बास्नादार आँपको लागि गुलियो तथा बासनादारै फलदिने आंपकारुखबाट संकलित वीउ नै रोप्नुपर्छ ।

सुहाउँदो हावापानी हुनु पर्ने

जलवायु तथा भौगोलिक अवस्थितिमा भिन्नभिन्न प्रकृतीका प्रजातीहरु रहने भएकाले प्रस्तावित वृक्षारोपण क्षेत्रमा जस्तो किसिमको जलवायु र भौगोलिक अवस्था छ त्यही अनुरुपको जलवायु र भौगोलिक अवस्थामा हुर्कने सक्ने प्रजाती लगाउनु पर्दछ। रुखहरु सामान्यतः आफ्नो वंशजहरु उम्रेको ठाउँमा रोपिएमा राम्ररी हुर्कन्छ। किनभने रुखहरुको लागि त्यस्तो ठाउँ अनुकूल भई सकेको हुन्छ । ठाउँको छनोट अक्षाशं, देशान्तर, उचाई, मोहडा, वर्षा र माटो इत्यादि धेरै कुराहरुमा निर्भर रहन्छ । प्रतिकुल अबस्थामा बिरुवा तथा रुख प्रजातीको वृद्धि विकास पनि प्रतिकुल नै रहने सम्भावना रहन्छ। जस्तै मसलाको वीउलाई हिमालमा लगेर छर्नु औचित्यहिन देखिन्छ।

वीउ संकलन गर्ने ठाउँलाई महत्व दिनु पर्ने

वीउ संकलन गरिएको ठीक ठाउँलाई वीउ संकलन ठाउँ (प्रोभिनेन्स) भनिन्छ । आफै संकलन गरिएको वीउ वा वन सम्वर्धन महाशाखावाट प्राप्त वा नेपाल कृषिवन बीउ बिजन केन्द्रबाट खरीद गरिएको वीउ होस्, जुनसुकै अवस्थामा वीउ संकलन गरिने क्षेत्र उपयुक्त ठीक प्रजातीको विरुवा रोप्नु जतिकै महत्वपूर्ण हुन्छ ।

स्थानीय वीउ लाई प्राथमिकता दिनु पर्ने

वीउ संकलन गर्ने ठाउँ सबै भन्दा उपयुक्त छ भनि किटान गर्ने सबैभन्दा सुरक्षित उपाय आफ्नै जिल्ला अनतरगत वृक्षारोपण गर्ने ठांउ नजिकै समान उचाई रहेको जंगलवाट वीड संकलन गर्नु हो। वीउको श्रोत नजिक नभएमा अर्को जिल्लाको वृक्षारोपण गर्ने ठाउँ जस्तै समान वर्षा हुने र उचाई भएको ठाउँबाट वीड संकलन गर्नु पर्छ ।

आयातित प्रजातीका वीउका सम्वन्धमा बढी ध्यान दिनु पर्ने

कहिले काही स्थानीय वीउको श्रोत भन्दा वाहिरी मुलुकहरुबाट ल्याइएको बीउ राम्ररी उम्रने गर्दछ जस्तै मसला तथा पाटेसल्ला जस्ता जातका वीउहरु स्थानीय जातका भन्दा राम्ररी हुर्कन्छन् तर राम्ररी उम्रन्छ भन्दैमा त्यतिकै आयात गरेर रोपिहाल्नु भने हुदैन यसका लागि आवश्यक अनुसन्धान पश्चात भएको सिफारिसको आधारमा मात्र लगाउनु उपयुक्त हुन्छ। झ.वन वीउ उत्पादन गर्ने श्रोतहरुको स्थापना तथा सुधार गर्नु पर्ने वीउको उपयुक्त श्रोत नभएमा प्राकृतिक वा वृक्षारोपण गरिएको वन क्षेत्रहरुलाई उन्नत वीउ संकलनको लागि वीउ उत्पादन क्षेत्रको रुपमा विकाश गर्दै लान सकिन्छ । यसको लागि गुणस्तरीय प्राकृतिक वनलाई वीउ उत्पादन क्षेत्र (Seed Stand) तथा विभिन्न प्रोभिनेन्सहरुवाट ल्याईएका एकै प्रजातीका उत्कृष्ट जातका रुखहरुबाट संकलन गरीएका वीउबाट उमारि एको विरुवाहरुको वृक्षारोपणबाट उन्नत खाले वीउ उत्पादन गर्न वन वीउ वगैंचा (Seed Orchard) हरुको स्थापना गर्न सकिन्छ। यो स्थानीय वा विदेशी जुनसुकै जातको पनि हुन सक्छ।

वीउको श्रोतहरुको अभिलेख बनाउने

वीउको श्रोत वा संभाव्य वीउको श्रोतहरुको आधार तथ्याङ्क (Data base) एकदम महत्वपूर्ण हुन्छ i Data base मा प्रजाती, ठांउ (GPS Location सहित) र तहको विषयमा विस्तृत रुपमा उल्लेख हुनु पर्छ। हरेक श्रोतको लागि एउटा संकेत संख्या हुनु पर्छ। संभव भएसम्म GPS नक्शामा ठाउँ देखाई चिन्हो लगाउनु राम्रो हुन्र्छ।

 Data base को महत्व

१) वीउ उत्पादन श्रोतको ठाउँ, क्षेत्रफल तथा वर्तमान अवस्था थाहा भएमा भविष्यमा वीउ संकलन तथा वितरणका योजनाहरु सजिलैसंग तर्जुमा गर्न सकिन्छ।

२) राष्ट्रिय वन तथा समुदायिक वनहरुमा स्थापना भएका वीउ उत्पादन क्षेत्र तथा वन वीउ वगैँचा तथा किसानहरुले आफ्नो नीजि जग्गाहरुमा स्थापन गरेका गुणस्तरीय माउ रुखलाई अभिलेख वीउको श्रोतको रुपमा नियमित व्यवस्थापन गर्न तथ्याङ्कहरु उपलब्ध गर्न सहयोग गर्दछ ।

३) कुनै खास ठाउँको वीउ राम्ररी हुर्कन्छ भन्ने अभिलेख भएमा भविष्यमा कहाँबाट धेरै वीउ संकलन गर्नु पर्ने वारे मद्दत हुन्छ ।

४) वीउको श्रोतमा सुधार गर्ने भएमा सुधार गर्ने सम्वन्धी योजना वनाउन मद्दत गर्दछ।

वीउको पोका छुट्टै राख्ने

विभिन्न जातका संकलन गरिएको वीउहरु स्पष्ट रुपमा छुटिने गरी अलग अलग पोका गरी राख्नु पर्छ । एउटै जातको वीउहरु धेरै श्रोतवाट संकलन गरिएमा एउटै किसिमको ठाउँ भएमा मात्र मिसाएर पोका वनाउन सकिन्छ । यदि संकलनको श्रोतहरुको किसिम फरक छ भने सो श्रोतबाट आएका वीउहरुलाई छुटाछुट्टै पोकामा राख्नु पर्छ । विभिन्न वर्षहरुमा संकलन गरीएको वीउहरु एक अर्कासँग मिसाउनु हुदैन ।

वीउको पोकाको अभिलेख राख्ने

जिल्ला भित्र संकलन गरिएको वीउको सम्वन्धमा वीउको जात, संकलन गरिएको श्रोत, संकलन गरिएको मिति र संकलन गर्नेको नाम राखेर विस्तृत विवरण राख्नु पर्छ। हरेक वीउको पोकालाई एउटा संकेत नम्बर दिनु पर्छ । यसले एक वीउको पोका अर्को वीउको पोकासँग सजिलै छुट्याउन सकिने हुन्छ । यस संकेत नम्बरले गर्दा भण्डार कक्षमा राखिएको वीउ नर्सरीमा उमारीएको अवस्थामा र वृक्षारोपणको रजिष्टरमा वीउलाई चिन्ह मद्दत गर्छ ।

वीउ संकलनका सामान्य सिद्धान्तहरु

वीउ गुणाको रुख हुने भएकोले उन्नत वीउको प्रत्याभूतीका लागि वीउ संकलन गर्नु भन्दा पहिले धेरै कुराहरुलाई विचार गर्नु पर्ने हुन्छ। यहां केही वीउ संकलनका सामान्य व्यबहारिक सिद्धान्तहरु बुँदागत रुपमा प्रस्तुत गरीएका छन् ।

 उत्तम माउ रुख छनोट

माउ रुख नै प्रक्षेपित रुखको वंशाणुको जननी भएकाले उत्तम माउ रुख छनोट वीउ संकलनका मुख्य सिद्धान्त हो तसर्थ गुणस्तर र विशेषता भएका उत्तम माउ रुखहरुबाट मात्र वीउ संकलन गर्नुपर्छ ।

वीउको परिपक्वता निर्धारण

संकलित वीउ परिपक्व रुखबाट उत्पादित र परिपक्व अवस्थाको हुनुपर्दछ । भर्खरै वीउ उत्पादन दिन थालेका र बुढा दुबै किसिमका रुखहरुबाट वीउहरु संकलन गर्नु हुदैन ।

वीउ संकलनका सिप तथा तरीका

भिन्न भिन्न प्रजातीको लागि वीउ संकलन विधि तथा तरीकाहरु पनि फरक फरक हुन सक्छन् । कुनै वीउहरु रुखबाट भुँइमा झर्दा बिग्रने, फुट्ने तथा खराब हुने अवस्थाका हुनसक्छ भने कुनै रुख प्रजातीका वीउहरु भुँइमा झरेपछि या झारेर मात्र वीउ संकलन सम्भव हुन सक्छ। साथै कसरी संकलित वीउलाई प्रशोधन गर्ने र भण्डारण गर्ने भन्ने कुरामा समेत प्रजाती अनुसार विविधता पाईने हुनाले उपयुक्त प्रजातीको लागि उपयुक्त वीउ संकलन सीप तथा तरीका प्रयोग गर्नु पर्ने हुन्छ।

ढुवानीमा सतर्कता

कति समयभित्र ढुवानी गरी सम्बन्धित स्थानमा लैजानुपर्ने हो ? त्यस रुख प्रजातीका वीउको उमार अवधि कति छ ? कसरी लैजाने हो ? बाटोमा हुने जेकजाँच, क्वारेन्टाइन आदि प्रक्रियामा के के गर्नु पर्ने हो ? कुन प्रकारको यातायातको साधनमा कसरी प्याकिङ्क गरी सुरक्षति लैजाने भन्ने कुरामा ज्यादै चनाखो हुनु पर्दछ।

रुखबाट वीउ संकलन गर्दा ध्यान दिनु पर्ने कुराहरु

वीउ संकलन गर्ने कुरा वाहिरबाट हेर्दा जति सजिलो जस्तो लाग्छ वास्तवमा व्यबहारमा त्यतिकै गाह्रो छ। वृक्षारोपणको सफलता असफलता केही हदसम्म कस्तो, कसरी, कुनभाग, कहिले, कहांको रुखबाट संकलन गरेको हो ? त्यसमा प्रत्यक्ष अप्रत्यक्ष सम्वन्ध राख्ने भएकाले रुखबाट वीउ संकलन गर्दा निक्कै चनाखो हुनु जरुरी छ। अतः रुखबाट वीउ संकलन गर्दा अपनाउनु पर्ने केही व्यबहारिक कुराहरु तल उल्लेख गरीएको छ।

राम्रो वंशाणुयुक्त रुखबाट मात्र वीउ संकलन गर्ने विरुवा सामान्यतः आफ्नो वंशज आकारमा हुर्कन्छन् । अतः रोपिएको विरुवाहरु बीड संकलन गरिएको वंशज रुख जतिको मात्र राम्रो भई हुर्कन्छ। यसकारणले वृक्षारोपण गर्न चाहेको वा रोप्न चाहेको किसिमको रुखबाट मात्र वीउ संकलन गर्नु पर्छ।

 रोगी अस्वस्थ रुखहरुलाई वीउ संकलनको लागि छनौट नगर्ने

वीउ संकलनको वेलामा कहिलेकाहीं चढ्न, टिप्न, छिटो र सजिलो भएको अवस्थामा रोगी तथा अस्वस्थ्य रुखहरुबाट पनि वीउ संकलन गर्ने संभावना रहन्छ तर यस्ता रुखहरुबाट संकलन गरिएको बीउबाट विरुवाहरुमा चाडो रोग लाग्ने बढी संभावना रहने हुनाले यस्तो त्रुटी भुलेर पनि गर्नु गराउनु हुदैन । फिल्डमा वीउ संकलनको लागि आवश्यक रुखको छनौट गर्ने काम गर्दा संकलित वीडवाट उत्पादन हुने विरुवा कुन उद्धेश्य पूर्तिका लागि वृक्षारोपण गरिदै छ त्यो कुराको हेक्का लिनु पर्ने हुन्छ। काठको लागि प्रयोग हुने रुख सोझो अग्लो र कम हाँगा भई धेरै गांठाहरु नभएको हुनु पर्छ। त्यसैगरी डाले घाँसको लागि भ्याग हुने, ठूलो छत्र हुने तथा धेरै पात हुने रुख रोज्नु पर्छ भने दाउराको लागि रुखमा धेरै हाँगा भएको हुनु जरुरी हुन्छ। खालिपर्ती तथा सार्वजनिक जग्गा जो त्यसै खेर गएका हुन्छन् त्यस्ता क्षेत्रहरुमा वृक्षारोपणका लागि रोपिने रुखहरुको कुनै विशेषता हुदैन । त्यसै गरी भिरालो जग्गा जहां भू क्षय हुने प्रवल संभावना हुन्छ त्यस्ता ठांउहरुको लागि भने जरा वलीयो, झाडि भएको र माटोलाई राम्रो संग समात्ने प्रकृतीको रुखहरु वीउ संकलनको लागि छान्नु पर्ने हुन्छ। यद्यपी माथि उल्लेखित सवै उद्धेश्यका लागि छनौट गरीने रुखहरु Genetically superior, रोग तथा किरामुक्त भने हुनै पर्दछ।

एक्लो (Isolated) रुखबाट वीउ संकलन नगर्ने

समूहमा हुर्कने रुखहरुको वीउ छरिएको तथा एक्लो अवस्थामा रहेका रुखहरुबाट संकलन गर्नु हुदैन । यस्तो रुखमा धेरै फल हुन सक्छ तर धेरैजसो वीउहरु पराग नभएको कारणबाट खोक्रो हुन सक्छ। यीनै कारणले गर्दा कलिलो रुखबाट पनि वीउ संकलन गर्नु हुदैन ।

धेरै रुखबाट वीउ संकलन गर्ने

धेरै फल भएको एक वा दुई रुखबाट संकलन गरिएका वीउ भन्दा धेरै रुखहरुबाट थोरै थोरै संकलन गरिएको वीउ राम्रो हुन्छ। कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भने झैँ धेरै रुखबाट संकलन गरिएको वीउबाट धेरै किसिमको विरुवाहरु उम्रने हुन्छन् र त्यस्ता विरुवाहरुले वृक्षारोपण गर्दा स्वस्थकर विरुवा हुने वढी संभावना रहने हुन्छ ।

वीउ संकलनको लागि रुख चढ्दा विचार पुरयाउनु पर्ने कुराहरु

प्रकृतीमा होचा देखि धेरै अग्ला रुखहरु हुने गर्दछन् । होचा रुखहरुको सन्र्दभमा रुख कसरी चढ्ने कुरा सान्र्दभिक नभए पनि अग्ला रुखहरुबाट वीउ संकलन गर्नको लागि यो सवाल ज्यादै गहन र अपरिहार्य छ । वीउ संकलनको क्रममा रुख चढ्दा थोरै मात्र लापर्वहीले ठूलठूला दुर्घट्नाहरु हुन सक्छन् र हुने गरेका पनि छन्। तसर्थ सुरक्षित वीउ संकलनका लागि वीउ संकलन गर्ने जो कोहिले पनि न्यूनतम सुरक्षित रुख चढाईको ज्ञान तथा सिपको विकास गर्नु अपरिहार्य हुन आउंछ ।

रुख चढ्दा होसियार हुनु पर्ने

काठको लागि उपयुक्त हुने रुखहरु अग्ला र सोभा हुनुको साथै धेरैकम हाँगा हुने भएकाले चढ्न गाह्रो हुन्छ। होंचा रुखहरुमा सजिलै संग रुखमा नचढीकनै वीउ संक्लन गर्न सकिने भएता पनि धेरैजसो रुखहरुमा चढ्न जरुरी हुन्छ अतः रुख चढ्दा दुर्घट्नाहरु हुनबाट बच्नको लागि आवश्यक होसियारी अपनाउनु पर्दछ। यसका लागि उपलब्ध भएसम्मका रुख चढ्ने उपकरणको सही र सुरक्षित उपयोग गर्न जरुरी हुन्छ ।

स्थानीय तरीकाको साथसाथै प्रविधीको पनि उपयोग गर्ने

रुख चढ्ने केही आधरभुत कुराहरुमा ध्यान दिईएमा स्थानीय रुख चढ्ने तौर तरिका पनि सुरक्षित हुन सक्छ यसको अर्थ सुरक्षित र प्राविधिक उपकरणहरुको प्रयोग गर्दै नगर्नु भनेको भने होईन। राम्रो संग रुख चढ्न जान्ने मान्छेलाई प्राथमिकता दिने

त्यसै पनि रुख चढ्ने काम जोखिमपूर्ण हुने भएकोले यस कामको लागि ज्यामिहरुको छनौट गर्दा धेरै कुराहरुमा विचार पुर्याउनु पर्ने हुन्छ। छनौट हुने संभावित ज्यामिको शारिरीक अवस्था, उ संगको रुख चढ्ने कला, सिप, औजार प्रयोग गर्न सक्ने खुवी,जांगर तथा अनुभव जस्ता कुराहरुलाई विचार गर्नु पर्छ ।

रुख चढेको वेला सुरक्षित डोरीलाई महत्व दिने

रुख चढ्ने मानिले संधैभरी एउटा डोरीसँगै राख्नु पर्छ र वीउ टिपुन्जेल सम्म डोरी रुखमा वाँधी आफुलाई पनि वाँधी सुर क्षित राख्नु पर्छ। डोरीले रुख चढ्नेलाई तल खस्नबाट बचाउनुको साथै टिप्ने फलसम्म सजिलै सँग पुग्न मद्दत गर्छ । डोरीलाई जहिले पनि काँधमा वाँधेर पछि हाँगामा अल्झाउनु पर्छ जसले गर्दा संभावित दुर्घट्नाबाट रुख चढेको ब्यक्तिलाई बचाउंछ।

वीउ संकलन गर्ने रुखको हाँगाहरु बलियो छ छैन विचार गर्ने

रुख चढ्दा आफूले टेकेको हांगाले आफनो तौल धान्छ कि धान्दैन सो कुरामा राम्ररी ध्यान दिनु पर्दछ तसर्थ रुखको  हाँगाहरु रुख चढवे मानिसको वजन थाम्न सक्ने हुनु पर्छ अन्यथा आफूले टेकेका हांगा भांच्चिन पुगी ठूलो दुर्घटना हुन सक्दछ । हाँगाको सबैभन्दा बलियो भाग हाँगाको तल्लो माग हुन्छ ।

ठीक औजार तथा ज्यावलहरुको उपलब्ध गराउने

वीउ संकलन गर्न आबस्यक पर्ने राम्रा र काम गर्ने अबस्थामा भएका ज्यावल तथा औजारहरु मात्र प्रयोग गर्नु पर्दछ अन्यथा यसको कारणबाट पनि र्दुघट्ना हुन सक्दछ । अनुपयुक्त र काम नगर्ने औजारहरुले फल टिप्ने कामलाई गाह्रो पार्नुको साथै रुखलाई क्षति पुऱ्याउँछ भने प्रयोग गर्दा जोखिम बढ्न सक्छ । रुख चढने मानिसको पहिरन समेत छरितो हुनुपर्छ ।

एक जना थप कामदारको प्रयोग गर्ने

वीउ संकलनको कामलाई सुरक्षित र सजिलो बनाउन एकजना सहायक ज्यामिको प्रयोग गर्नु जरुरी हुन्छ। त्यस्ता सहायक ज्यामिलाई रुख चढ्ने मानिसले वीउ संकलनको वेलामा तल भुईमा सर्तकतापूर्वक उभ्याउनु पर्दछ ताकी वीउ संकलनको कार्यमा आफूलाई सहयोग मिल्योस्। सहायकले टिपिएको फलहरु संकलन गर्नुका साथै माथि रुखमा चढेका मानिसलाई कुनै समस्या भएमा मद्दत गर्न सक्छ ।

फल संकलन समय र तरिका

वीउ संकलनको महत्वपूर्ण पाटोको रुपमा वीउ संकलनको समयलाई लिन सकिन्छ। प्रजाती अनुसार वीउ पाक्ने समय फरक फरक हुने हुंदा सोही अनुसार नै उपयुक्त समयमा उपयुक्त प्रजातीहरुको वीउ संकलन गर्नु पर्ने हुन्छ। यसको लागि कुन प्रजातीको वीउ कहिले पाक्छ र कहिले सम्म टिपिसक्नु पर्ने हो ? सो कुराको राम्रो ज्ञान हुनु जरुरी छ। रुखबाट कस्तो फल कहिले र रुखको कुन भागहरुवाट टिप्ने भन्ने सवालमा विचार पुर्याउनु पर्ने कुराहरु तल उल्लेख गरीएको छ ।

वीउ संकलन समयको हेक्का राख्ने

फल टिप्नको लागि वा वीउ संकलनको कार्य व्यबस्थित गर्नको लागि प्रत्येक प्रजातीको संकलन समय भएको पात्रो वनाई प्रत्येक हप्ता हेर्दै जानु पर्दछ । कुनै वर्ष सामान्य समय भन्दा केही छिटो वा ढिलो गरी पाक्न सक्ने हुनाले केही पहिल्यै देखिनै वीउ संकलन गरीने रुखहरुको नियमित निरीक्षण गरी राख्नु पर्दछ ।

पूर्व जाँच गर्ने

एउटै क्षेत्र भित्र पनि ठाउँ अनुसार हरेक वर्ष प्रजातीहरुको वीउ पाक्ने समय हप्तौ फरक पर्न सक्छ । यसको मुख्य कारणको रुपमा जलवायु परिवर्तनलाई लिन सकिन्छ । यसकारण हरेक वर्ष वीउ संकलन गर्नु भन्दा पहिले वीउ संकलन गरिने स्थानका प्रजातीहरुको वीउ पाक्ने प्रवृत्ती कस्तो छ ? सो कुराको नियल गरी वीउ संकलन गर्ने योजना वनाउनु पर्दछ।

राम्रो संग पाकेको वीउ संकलन गर्ने

फल राम्रो संग पाकिसके पछि मात्रै संकलन गर्नु पर्दछ । संकलन काम शुरु हुँदा फल भित्र वीउ राम्ररी विकसित भएको हुनु पर्दछ। पाकेको वीउ सुरक्षित भण्डार गर्न सकिनुको साथै नर्सरीमा धेरै स्वस्थ र वलियो विरुवाहरु उमार्न सकिन्छ । वी संकलन गर्ने काम ढिलो भएमा चरा, किरा, फट्याङग्राले वा आफै भरेर वीउ नोक्सान हुन सक्छ। एउटै प्रजातीको पनि स्थान विशेष (मोहडा, उचाई) फल पाक्ने समय फरक फरक पर्ने हुनाले सोही अनुसार फल संकलन गर्नु पर्दछ उदाहरणको लागि सामान्यतया पश्चिमी क्षेत्रहरुमा भन्दा पूर्वमा र वढी उचाई भएको भन्दा कम उचाई भएको स्थानमा फलहरु केहि छिटो पाक्छन्।

उपयुक्त औजार तथा ज्यावलको प्रयोग गर्ने

धेरैजसो प्रजातीका लागि सबैभन्दा सजिलो अंकुशे प्रयोग गर्न सकिन्छ। सानो फलहरुको लागि दांतेको प्रयोग गरिन्छ । हाँगा नकाटि नहुने भएमा धारिलो चक्कू वा आरी वा छाट्ने कैचीबाट काट्नु पर्छ।

वीउ संकलन योजना

धेरै जातका रुखहरुको वीउ एकै समयमा पाक्ने हुनाले सिमित श्रोत साधनबाट एकै चोटी ठूलो मात्रामा वीउको संकलन गर्न ज्यादै गाह्रो पर्ने भएकोले यो कामको व्यवस्थापन कसरी गर्ने भनेर धेरै अगाडी नै योजना बनाउनु पर्छ। साधारणतया चाडपर्व तथा खेतीपातीको समयमा पर्याप्त मात्रामा ज्यामिहरु पाउन कठिन हुने हुंदा त्यस्तो अवस्थामा कसरी समयमै वीउ संकलन गर्ने हो त्यसको उपायको खोजी वेलैमा गर्नु पर्ने हुन्छ। यो समस्याको समाधानको रुपमा केहीहद सम्म स्थानीय व्यक्तिलाई ठेक्कामा वीउ संकलनको लागि सहभागी गराउन सकिन्छ ।

वीउ परिमाण आंकलन

वीउ कति संकलन गर्ने भन्ने कुराको निधो धेरै कुरामा निर्भर रहने कुरा हो । यसको लागि वृक्षारोपण गर्ने क्षेत्र, आवश्यक विरुवाहरुको संख्या,लगाउने प्रजातीहरुको जैविकत्व, उमार शक्ति, प्रति किलो ग्राम वीउ संख्या, फलहरुबाट पाइने वीउ, रुखहरुबाट पाइने फल, भण्डारण क्षमता, नर्सरी प्रविधी जस्ता आधारभूत कुराहरुको पहिले निक्यौल हुनु जरुरी हुन्छ । साथै यस कामको लागि व्यक्ति संग भएको अनुभवलाई पनि उपयोग गर्नुपर्ने हुन्छ। साथै तल उल्लेखित गणितीय सुत्रको प्रयोगबाट पनि वीउको आबश्यक परिमाण आंकलन गर्न सकिन्छ ।

सवै प्रजातीहरुमा हरेक वर्ष राम्रो वीउ उत्पादन हुदैन र उत्पादन भए पनि ती वीउहरु पुनरोत्पादनको हिसावले उत्तम मानिदैन । सल्ला जस्ता केही अन्य प्रजातीहरुमा रुखबाट हरेक २-३ वर्षमा एक पटक मात्र राम्रो वीउ उत्पादन हुने गर्दछ । अतः यस्तो २ वर्ष वा बढी वर्षहरुमा राम्रो वीउ (Good seed year) आउने प्रजातीका हकमा आउने दिनहरुका लाथि पुग्ने गरी यथेष्ठ मात्रामा वीउ संकलन गरी सुरक्षित भण्डार गरी राख्नु पर्छ। वीउको उत्पादन कम लागि हुने कुरा तर्फ पनि विचार गरेर राम्रो बाली भएको वर्ष संकलन गरी राख्नु बढी बुद्धिमानी हुन्छ । भण्डार गर्दा टुसाउने शक्ति ह्रास नहुने किसिमका वीउहरु मात्र भण्डार गर्न सकिन्छ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment