+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

वातावरण संरक्षणको आवश्यकता

वातावरण सम्पूर्ण प्राणीका लागि घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक स्रोतहरुको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ । मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रुपमा वातावरणको देन हो । वास्तवमा भन्नुपर्दा वातावरणको अत्यधिक शोषणका कारण विश्वको यो विकास सम्भव भएको हो । मानवजीवनको अस्तित्व वातावरणमा अडिएको छ । चाहे त्यो भौतिक वातावरण होस् वा अभौतिक वातावरण । व्यक्ति वा समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको महत्वपूर्ण भूमिका रहन्छ ।

वातावरणलाई विशेषगरी दुई भागमा बाँड्न सकिन्छ, जसमा प्राकृतिक वातावरण र सामाजिक÷सांस्कृतिक वातावरण पर्दछन् । साधारण अर्थमा हामी मानवसमाजका आसपासमा रहेको हावापानी, माटो, वनजंगल, पशुपक्षी, तापक्रम, खनिज आदिलाई प्राकृतिक वातावरण भनेर बुझ्छौँ भने मूल्य, मान्यता, रीति, परम्परा, धर्म, सामाजिक संगठन, सम्बन्ध, लेनदेन आदिलाई सामाजिक÷सांस्कृतिक वातावरण भनेर बुझ्छौँ । मानवबाहेक पृथ्वीका सम्पूर्ण प्राणी प्राकृतिक वातावरणमा बाँचेका हुन्छन् भने मानवलाई दुवै वातावरणको उत्तिकै आवश्यकता पर्दछ । ‘वातावरणले जीवनका लागि आवश्यक स्रोतहरु उपलब्ध गराउँछ र वातावरण सम्पूर्ण प्राणीका लागि घर हो’ भनेर वातावरणको महवका विषयमा समाजशास्त्री दुनलप र काटोनले बताएका छन् । यो भनाइबाट पनि मानवजातिका लागि वातावरणको मह¤व प्रस्ट हुन्छ ।

वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन् । प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा आज मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको छ र आफ्नो जीवनको अस्तित्वलाई दाउमा राखेको छ । क्षणिक फाइदालाई मात्र हेर्दा वातावरण मानवको प्रतिकूल बन्दै गइरहेको छ । अझ पनि मानिसको ध्यान पूर्णरुपमा वातावरण संरक्षणमा जान सकेको छैन । वातावरणमा रहेका प्राकृतिक स्रोत र साधनको अत्यधिक शोषणले आज मानव अस्तित्व नै संकटमा परेको छ । ओजन तहको विनास, त्यसको परिणामस्वरुप सूर्यबाट अत्यधिक मात्रामा परावैजनिक किरण पृथ्वीमा आउने गरेको कारण पृथ्वीमा विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, मरूभूमीकरणजस्ता समस्या विश्वव्यापीरुपमा अत्यधिक जल्दोबल्दो समस्याका रुपमा देखिएको छ । विकासका क्रममा वातावरण प्रदूषणजस्ता समस्या टड्कारोरुपमा देखिएको छ । वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषणले मानिसमा क्यान्सर, मानसिक रोगलगायतका विभिन्न घातक रोगहरु निम्त्याएको छ ।

पछिल्लो समयमा वातावरण संरक्षणसहितको विकास दिगो विकास हो भन्ने अवधारणा पनि अगाडि सारिएको छ । वातावरण व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषय हो । यही आज विश्वसामु जल्दोबल्दो समस्याको रुपमा रहेको छ । विकासका क्रियाकलापले पनि वातावरणलाई विनास गरेको हुन्छ । आजका विकासले भावी पुस्ताको जीवन प्रक्रियामा असर नपुग्ने विकास दिगो वा वास्तविक विकास हो । विकासका नाममा कुनै पनि प्राणीको बाँच्न पाउने अधिकारलाई हनन गर्नुहुँदैन, तर यसो भइरहेको छ । अब ढिलो नगरी वातावरण संरक्षणका लागि सरकारीस्तरबाट पनि अझ प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्न जरूरी छ । जसका लागि प्राकृतिक स्रोतसाधनको अति प्रयोगलाई नियन्त्रण गर्ने, विकासका क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्वमूल्यांकन गरेरमात्र सञ्चालनको अनुमति दिने, अत्यधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारीसाधनहरु, कलकारखानाहरु, रासायनिक भट्टीहरु आदिलाई तिनीहरुबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्नेजस्ता कार्य सरकारीस्तरबाट हुन आवश्यक छ । जनस्तरबाट पनि वातावरण संरक्षणमा जुट्नु उत्तिकै आवश्यक छ । फोहोरमैला व्यवस्थापन, वृक्षरोपण र संरक्षण, प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग, वातावरण प्रदूषणसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरबाट सञ्चालन गर्न सकिन्छ । स्वच्छ वातावरण भावी पिँढीलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । स्वच्छ वातावरण हाम्रोमात्र नभई हाम्रा भावी सन्तानको समेत अधिकार हो । यस विषयमा बेलैमा सोचौँ, होइन भने हामी त समस्याको सिकार बन्छौँ ।

आकाशमा तुवालोले ढाकेर वातावरण प्रदुषित भएको छ । धुलो र धुवाँ अनि ठाउँ–ठाउँमा लागेको डढेलो र निकटवर्ती भारतीय शहरहरुको वायु प्रदूषणको प्रभाव नेपालको आकाशमा परेको वातावरणविद्हरूले बताउँदै आएका छन् । पानी परेमा वा वायुको वेग चलेमात्र यो तुवाँलो हट्छ र वातावरणमा सकारात्मक प्रभाव पर्न सक्छ ।

अहिले हामी वातावरणीय दुष्चक्रमा परेका छौँ ।

यस्तो परिस्थिति यसअघि कहिले थियो वा यो खालको परिस्थितिभित्र हामी कहिलेबाट गाँजिदै गयौँ ? अहिलेको वातावरणीय प्रदुषण जुन छ यो नयाँ होइन । नेपालमा प्रदुषण पहिला पनि थियो । अहिले छ । भोलि झन् बढ्दै जाने सम्भावना छ । प्रदुषणका विभिन्न रूपहरू हुन्छन् । एक हिसाबले हेर्ने हो भने धेरै अगाडिदेखि नै नेपालका भान्छाहरूमा निस्कने धुवाँ प्रदुषणको मूल स्रोत हो । सायद अहिले पनि नेपालको वातावरण बिगार्ने यिनै भान्छाहरूले हो । भान्छाघरमा परम्परागत इन्धनहरूः दाउरा, गुइँठा प्रयोग गर्दा अत्यधिक मात्र प्रदुषण निस्कन्छ । त्यसबाट प्रभावित हुने महिला नै हो । जो भान्छामा अधिकांश समय बिताउँछन् । महिलासँग बस्ने काखे बालबालिका पनि निकै प्रभावित हुन्छन् । विद्यालय जाने बालबालिका पनि भान्छामा बसेर गृहकार्य गर्ने गरेको पाइन्छ । उनीहरू पनि प्रभावित हुने नै भए । अहिलेपनि नेपालको करिबकरिब दुई तिहाई घरमा यस्ता भान्छाहरू छन् भन्ने गरिन्छ । यो भनेको अहिले पनि करिबकरिब दुई तिहाई महिला यसबाट प्रभावित छन् ।

आधुनिकीकरण गर्ने नाममा हामीले अन्य इन्धन प्रयोगमा ल्याउन थालेका छौँ । चाहे मोटरसाइकलमा प्रयोग गर्ने पेट्रोल होस् चाहे उद्योगहरूमा प्रयोग हुने कोइला नै किन नहोस् । जुनसुकै इन्धन बाल्दा पनि त्यसबाट प्रदुषण निस्कन्छ । र, यो बढ्दो क्रममा छ । यस्तो प्रदुषण धेरैजसो सहरी क्षेत्रमा भइरहेको छ । सहरी क्षेत्रमा प्रदुषण बढि हुन्छ र लिने मान्छे पनि बढि नै हुन्छन् । जनघनत्व बढि भएका सहरी क्षेत्रमा प्रदुषणको व्यवस्थापन गर्न सकेनौँ भने त्यसको असर भयावह बन्छ । विगत केही दशक यता काठमाडौँजस्ता ठूला सहरमा प्रदुषणको मात्रा बढ्दो छ ।

अहिले लागेको तुवाँलो भनेको एउटा मौसमी प्रभाव हो भने अर्को देशभर लागेको डढेलोको कारण हो । डढेलोको कारण के होला त्यतातिर नजाउँ । अहिले यसको प्रभाव देशैभर फैलिएको छ । पानी नपर्ने र हावा नचल्ने कारण त्यो जहाँको तहिँ रहँदा उकुसमुकुसको वातावरण बनेको छ । प्रदुषणको स्रोत यथावत रहेकाले त्यसलाई हटाउनतिर हाम्रो ध्यान जानु जरुरी छ । यो वर्ष डढेलो पनि अत्यधिक मात्रामा वृद्धि भएको छ । वैशाखको मध्यतिर सबैभन्दा बढि डढेलो हुने कुरा विगतहरूबाट थाहा पाउन सकिन्छ । डढेलोको मौसम खासै सुरू नै भएको छैन । गत वर्ष यो बेलामा ३ सय जति ठाउँमा भएको डढेलो अहिले २ हजार ७ सय जति ठाउँमा छ । जलवायु परिवर्तनका कारण पनि यस्तो भएको हो । जलवायु परिवर्तनले अतिवृष्टि, अनावृष्टि हुने हुन्छ । यो वर्ष त्यस्तै भयो लामो समय सुख्खा हुन पुग्यो ।

संविधानमा स्वच्छ वातावरणको हकको सुनिश्चितता गरिएको छ । सरकारका कार्ययोजनाले यो हक सुनिश्चित हुने दिशामा छ

स्वच्छ मात्रै भएर भएन स्वस्थ वातावरणको आवश्यकता छ । वातावरणको अधिकार जनस्वास्थ्यसँग अन्तरसम्बन्धित छ । सरकारका योजनै छैन त म भन्न सक्दिनँ । स्वच्छ र स्वस्थ वातावरण बनाउने जिम्मेवारी सरकारको हो भने नागरिकको उक्त अधिकार प्रचलनमा ल्याउन पाउने अधिकार छ । सरकारको जिम्मेवारीलाई नागरिकले पनि साथ र सहयोग गर्नुपर्छ । काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मन्त्रीपरिषदले पारित गरेको योजना हो । मन्त्रीपरिषदले पारित गरेको कार्ययोजना लागु त गर्नु पर्‍यो नि ! यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । वातावरण नीति, जलवायु परिवर्तनसम्बन्धी नीति छन् । त्यसैगरी यातायात नीति, स्वच्छ उर्जा प्रवर्धन नीति छन् । अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हामीले जाहेर गरेका छौँ । हामीसँग नीति छन् । तर, नीति कार्यान्वयन गर्ने नियतमा भने समस्या छ । वातावरणलाई प्राथमितामा राखेर लगानी गर्ने र काम गर्ने अवस्थाको सिर्जना गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो । वातावरणको विषय सबैको हो । स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, यातायात मन्त्रालय सबैको हो । समग्रमा भन्नु पर्दा यो विषय सबै मन्त्रालयसँग अन्तरसम्बन्धित छ । वातावरणको हकको सुरक्षाका लागि नेपाल सरकारले सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । जुन काम अहिले हुन सकिरहेको छैन ।

वातावरणको नागरिकले गर्नुपर्ने मुलभूत काम के के हुन् ?

सरकार आफैँले बनाएका नीति नियमहरू अलि राम्रोसँग हेर्नुपर्‍यो । नीति बनाउँदै बिर्सँदै जाने वातावरणको अन्त्य हुनु पर्‍यो । २३ हजार सामुदायिक वन उपभोक्ता समूहलाई मात्रै शसक्तिकरण गर्न सके पनि डढेलो नियन्त्रणमा केही हदसम्म सफलता हात पार्न सकिन्छ । सरकारले नेतृत्व लिनु पर्‍यो र यो विषयलाई प्राथमिकतामा पारेर लगानी गर्नुपर्‍यो । नागरिकले गर्ने काममा पहिला त बुझ्नुपर्‍यो । यो विषयमा चासो दिनु पर्‍यो । वातावरणको विषय भनेको मेरो, बालबालबालिकाको र मेरो परिवारको विषय हो भनेर अपनत्व लिनु पर्‍यो । वातावरण प्रदुषण सामान्यतया मानवीय क्रियाकलापबाट नै हुने भएकाले आफूले गर्ने क्रियाकलापबाट सकेसम्म कम प्रदुषण गरौँ भनेर काम गर्नु पर्‍यो । वातावरण प्रदुषित छ भने कसरी बच्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नु पर्‍यो । विषय विज्ञले भनेका कुरा मान्नु पर्‍यो । र, नागरिकले गर्नुपर्ने महत्वपूर्ण काम भनेको आवाज उठाउने हो । आफूले जहाँ सकिन्छ त्यो ठाउँमा आवाज उठाउनु असल नागरिकको कर्तव्य हो । वातावरण संरक्षणका पक्षमा एकीकृत आवाज र अभियानले वातावरणमा देखिएको प्रदुषण स्वतः कम भएर जान्छ ।

हिमालमा हिउँ नै छैन भनिन्छ । यो अवस्था कहिलेसम्म ?

तापक्रम वृद्धिका कारणले हिमालमा हिउँ पग्लिएको हो । यो हामी मानव जातिको क्रियाकलापबाट नै भएको हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ रोक्न नै त सकिन्न । हाम्रो दैनिकीमा ल्याउने परिवर्तनले यसको न्यूनीकरण गर्न सकिन्छ र गर्नै पर्छ ।

के न्यूनीकरण सम्भव छ ?

हामीले नै न्यूनीकरण गर्ने हो । आजैबाट सुरूवात गर्नुपर्छ । हाम्रो देशको अवस्था त्यति सारै निराशजनक पनि छैन । अहिले नै नगर्ने हो भने हामी पछि अप्ठेरोमा पर्छौँ । हामी अहिले विकास निर्माणको चरणमा छौँ । यहिबेला नै हामीले दुरदर्शी योजना ल्याउनु पर्छ जसले गर्दा वातावरणीय दुस्प्रभाव रोकियोस् । न्यूनीकरण होस् । यो काममा आजैबाट हामी सबैले एकैपटक थालनी गर्नु पर्छ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि   श्रोत सामाजीक सन्जाल

Leave a comment