१. परिचय
विजयसाल चौडापाते पतझड रूख हो । यो पतझड उष्णतटिबंधीय वनमा १०० देखि ५०० मीटरसम्मको उचाईमा ७५० देखि २००० मि.मि. सम्मको वर्षा हुने क्षेत्रमा पाइन्छ । मध्यमखालको प्रकाश तथा उवडखावड र समतल दुवै खाले जमिनमा यो पाइन्छ । यसको लागि पानीको निकास भएको बलौटे पाँगा माटो उपयुक्त हुन्छ । यो सालको वनमा कर्मा, सिन्दुरे, हर्रो बर्रो, खयर संग मिश्रित रूपमा पाईन्छ । नेपालमा यो विशेषगरि कन्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही, नवलपरासी र झापा जिल्लाहरूमा पाइन्छ । यस वनस्पतिको घट्दो संख्या र वासस्थानको ह्रास जस्ता कारणहरूले यसको सम्वर्धनमा देखापरेको चुनौतीका आधारमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले तयार गरेको रातो सूचीमा यसलाई संकटासन्न (Near Threatened) श्रेणीमा सूचीकृत गरिएको छ । ज्यादै कम उम्रने, ढिलो बढ्ने, चरिचरणको दबाब, घाँस, दाउराको लागि र किनो गम (Kino Gum) तथा आर्थिक र औषधि प्रयोगका कारण यस प्रजातिको संख्या दिनानुदिन घटिरहेको छ।
२. विजयसालको उपयोगिता
विजयसाल बहुउपयोगी रूख हो । मुख्यगरि यसको, पात, खोटो, बोका, फूल र काठको उपयोग धरै छ । यसको बोक्रा पेट दुख्दा, हैजा, आउँमाशी, पिसावजन्य खराबी, जिव्राको रोग, दाँत दुखेकोमा उपचार गर्न प्रयोग गरिन्छ । बोक्रा, काठ, किनो गम आदि रंगाउन, छाप्न र कागज उद्योगमा प्रयोग गरिन्छ । डायवेटिक रोगका बिरामीले यसको काठको गिलासमा पानि खादा लाभदायक हुने भनाई छ । त्यसैगरी यसको काठ टर्रो, तितो, कोक्याउने हुन्छ र यसमा शितलता दिने, जलन निको पर्ने, शुद्धिकरण गर्ने, रक्तस्राव रोक्ने जस्ता गुणहरू रहेको हुन्छ । यसको चोप (किनो रेसिन) प्यान्क्रियाजमा वेटा सेल उत्पादान गर्ने इन्सुलिन बनाउन काम लाग्छ | यसको फल चराचुरूंगी र जनावरहरूलाई आहारको रूपमा खान्छन् । त्यसैगरी, काठ फर्निचर, गाडा तथा निर्माण सामग्री बनाउन, रेल्वेको क्यारिएज, विद्युत् ट्राफिक पोलहरू, कृषि क्षेत्रहरूमा लगायत विभिन्न साङ्गितिक बाजा बनाउन पनि प्रयोग गरिन्छ ।
३. पुनरउत्पादन तथा व्यवस्थापन
विजय सालको फुल फुल्छ र जनवरी देखि अप्रिलसम्ममा फल लाग्छ । यसको वीउ हलुका तथा भुवादार भएको कारण परपरसम्म उडेर जान सक्छ ।
प्रकृतिक रूपमा वीउ उम्रनको लागि पर्याप्त छाँया र फुक्का माटो चाहिन्छ । प्राकृतिक रूपमा आफै उम्रिएका विरूवा ज्यादै ढिलो अर्थात पहिलो बर्ष २-६ इन्च मात्र बढ्छ । तर हेरचाह पुग्दा नर्सरीमा एक बर्ष मै ३ फीटसम्म बढ्न सक्छ ।
विजयसालको प्रसारण (Propagation) सामान्यतया, विजयासालको प्रसारण दुई तरिकाबाट गर्न सकिन्छ । पहिलो तरिकाः स्टम्प रोपण गरेर । नर्सरीमा एक वर्ष पुरानो विरूवाको स्टम्प तयार गरेर रोपण गरिन्छ । त्यसैगरी, दोस्रो तरिका भनेको नर्सरीमा बिरूवा उत्पादन गरेर प्रसारण गर्न सकिन्छ । तर नेपालमा नर्सरीमा विरूवा उत्पादन गरेर गरिने बृक्षरोपणलाई राम्रो मानिएको छ ।
विजयासलको नर्सरी वीउलाई नर्सरीमा उमार्दा आर्द्र वातावरण र केही मात्रामा छाँया चाहिन्छ । नर्सरी ब्याडमा वीउ छर्नु अघि जैविक तथा रसायनिक उपचार गर्दा वीउको उमार (Germination) राम्रो र छिटो हुन्छ । जैविक प्रकृयाबाट उपचार गर्दा वीउलाई गाईको गोबर र पानीको १:१ अनुपातको घोलको मिश्रणमा दुई दिन सम्म डुबाएर राख्नु पर्दछ । माटोलाई केही असर नहुने र घरेलु पदार्थहरूको प्रयोगगरि गरिने जैविक उपचारले नर्सरीमा विरूवाको विकास राम्रो हुन्छ । नर्सरीमा वीउ छरेको करिब २ महिना भित्र वीउ उम्रन सुरू गर्दछ । तर वीउको उमार ३० प्रतिशत भन्दा पनि कम हुन्छ । विरुवा र बेर्ना नाजुक र संवेदनशील हुनाले तुसारो र खडेरी साहन सक्दैन, त्यसमा पनि खडेरी त अझ बढी खतरनाक हुन्छ । त्यसैले तुसारो, घामबाट यसलाई जोगाउन नर्सरीको व्याडमा छहारीको व्यवस्था गनुपर्छ ।
विजयसालको वृक्षरोपण
जियसाल बृक्षरोपणको लागि स्थान छनोट तथा तयारी सबै भन्दा महत्वपूर्ण कार्य हो जुन फागुन चैत्र भित्र नै गरिसक्नु पर्दछ । चैत्र भित्र बृक्षरोपणको लागि ३० से.मी फराकिलो र ३० से.मी. गहिरो खाडल खनेर माटोले पुरी तयारी अबस्थामा राख्नु पर्दछ । वर्षा याम सुरू भए पछि बिरूवाहरू रोप्न सकिन्छ । एक विरूवा देखि अर्को विरूवाको दूरी २.५ मी. को राख्नु पर्दछ । यसरी एक हेक्टरमा १६०० विरुवा लगाउन सकिन्छ । गोडमेल तथा संरक्षण
विजयसाल बृक्षरोपण गरेपछि नहुर्किन्जेल सम्म बृक्षरोपण क्षेत्रमा हरेक वर्ष फागुन, चैत्र महिना भित्र गोडमेल तथा झाडी सरसफाई गर्नुपर्दछ वन डढेलो तथा चरिचरणबाट बचाउन समयमै उपयुक्त उपायहरू अबलम्वन गर्नु पर्दछ ।
४. विजयसाल संरक्षणका कार्यहरू :
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले पनि विजयसाल संरक्षणमा चासो दिएको छ । जस अनुसार विजयसाल संरक्षण सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले हरियो वन कार्यक्रम अन्तरगत कञ्चनपुर र कैलालीमा विजयसाल संरक्षणका कार्यक्रमहरू पनि संचालन गर्दै आएको छ ।
५. विजयसाल संरक्षणमा देखिएका समस्या तथा चुनौतीहरू :
वासस्थानको ह्रास (Habitat loss),
वनको क्षयीकरण (Degradation)
र खण्डीकरण (Fragmentation) विजयसाल संरक्षणमा देखिएका समस्या तथा चुनौतीहरू हुन् । ज्यादै कम पुनरूत्पादन, सुस्त वृद्धि दर, अवैध कटान,चरिचरण र घाँसको लागि हाँगा छिमोल्ने, भाँच्ने कार्यहरू विजयसाल संरक्षणमा देखिएका प्रमुख समस्याहरू हुन् । यस प्रजातिको घाँस वस्तुभाउले साह्रै मीठो मानेर खाने हुनाले ग्रामीण क्षेत्रमा व्यापक रूपमा यसका हाँगाविंगा छिमल्ने गरिन्छ । डालेघाँस तथा सोत्तर काट्ने, चरिचरन र डढेलोले गर्दा समेत यस प्रजातिको बासस्थान माथि प्रतिकूल प्रभाव पर्दै आएको छ विजयसालको अवस्था, प्रजनन र बृद्धिदरको वारेमा ज्ञानको अभावले गर्दा विजयसाल संरक्षणमा समस्या देखिएको छ ।
६. विजयसाल संरक्षणका लागि गर्नु पर्ने कार्यहरू
विजयसालको दीर्घकालीन संरक्षणका लागि साझा बुझाईको बिकास तथा ज्ञानको विस्तार गर्न विजयसालको वैज्ञानिक तथा परम्परागत ज्ञानको प्रवर्द्धनको लागि उपलब्ध साधन स्रोतहरूको समुचित परिचालन गर्न अनुसन्धान संस्थाहरू, नेपाल कृषिवन बीउ बिजन केन्द्र , वन उपभोक्ता समूहहरू, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल लगायत प्राकृतिक स्रोतमा आधारित संजालहरू र सरकारी संघसंस्थाहरू विच संयोजन तथा सहकार्यगरि एकीकृत दृष्टिकोण बनाउनु पर्दछ ।
विजयसालको संख्यामा बृद्धि गर्ने विजयसाल संरक्षणमा देखा परेका विद्यमान जोखिमहरू न्युनिकररण गर्दै स्थानीय (In-situ) र परस्थानीय (Ex-situ) दुवै संरक्षणका उपायहरूको माध्यमबाट विजयसालको संख्यामा बृद्धि गर्ने । विजयसालका जोखिमपूर्ण कारणहरूलाई मध्यनजर गर्दै तोकिएका पकेट क्षेत्रमा सादायको सहभागितामा संरक्षण व्यवस्थापनका अभ्यासहरूलाई प्रर्बद्धन गर्नु पर्दछ । सामुदायिक वनहरूलाई तिनीहरूले गरेको संरक्षणको प्रयत्न वापत प्रोत्साहन रकम प्रदान गरेर विजयसालको प्रवर्द्धनका लागि उत्साहित गर्नुपर्छ ।
संरक्षणार्थ बहुआयामिक सरोकावालाहरूको सहभागितालाई सवलीकरण गर्ने
विजयसालको संरक्षणमा स्थानीय जनता, नीति निर्माण तथा प्राबिधिक तहमा सबै बिच सचेतना एवं जानकारीले को महत्वपूर्ण भूमिका खेलेको हुन्छ । समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन समूहहरू जस्तै सामुदायिक वन उपभोक्ता समूहहरू, मध्यवर्ती क्षेत्र उपभोक्ता समुदायहरू, सामुदायिक वन रक्षकहरू, स्थानीय युवा क्लवहरू, इको क्लवहरू, आमा समूहहरूले यसको संरक्षणमा आधार भूत भूमिका निर्वाह गर्न सक्छन् । निजी जग्गामा विजयसाल पाइने भएपछि निजी क्षेत्र र घरबारीमा पनि संरक्षणको प्रयास हुनु पर्दछ । यस प्रजातिको अधिक दोहन कम गर्नका लागि स्थानीय जनताको जीविकोपार्जनलाई विविधीकरण गर्ने तर्फ पनि संरक्षणको प्रयास केन्द्रित हुनुपर्छ ।
७. विजयसाल संरक्षणमा
मुख्य सरोकारवालाहरू विभागहरू, स्थानीय सरकार त्यसैगरी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग संरक्षण तथा स्थानीय साझेदारहरूले वन विभाग तथा सम्बन्धित जिल्ला स्थित डि ब का कार्यालयहरूसँग निकटतम समन्वय गर्दै उक्त क्रियाकलाप कार्यान्वयन गर्न र नेपाल कृषिवन विउ बिजन केन्द्रले वीउ संरक्षाणा गर्ने छ ।
८. निश्कर्ष तथा सुझावहरु
विजयसालको बीउको पुनरुत्पादन न्यून, तुलनात्मक रुपमा हुर्कंदै गरेका विरुवाहरुको संख्या अत्याधिक र प्रजनन उमेरका वयस्कहरुको संख्या कम रहेको छ । प्रजनन योग्य बोटहरूको कमीले यस विरुवाको अत्याधिक सङ्कलन तथा प्रयोग भएको देखाउँछ । तसर्थ, विजयसालको संरक्षणका लागि यसको सङ्कलन, अधिक चरन तथा ज्ञड अन्य मानवीय क्रियाकलापहरूलाई तत्काल रोक्न जरुरी देखिन्छ । प्राकृतिक अवस्थामा बीउको पुनरुत्पादन तथा प्रजनन योग्य वयस्क बोटहरूको तत्काल संरक्षण गर्नका लागि नियमित अनुगमन विशेष रुपमा आवश्यक रहेको छ । यसरी अनुगमन गर्ने क्रममा विजयसालको संख्यालाई असर गर्नसक्ने पारिस्थितिक तत्वहरूलाई विशेष रुपमा ध्यान पु¥याउनुपर्ने देखिन्छ । साथै किनो चोपको दिगो सङ्कलनका लागि व्यवस्थापनको योजना बनाउन ध्यान दिनु पनि उत्तिकै जरुरी देखिन्छ । विजयसालको संख्यामा वृद्धि तथा पुनः स्थापनाका समकालीन कार्यक्रमहरू सञ्चालन गरेर यस विरुवाको वंश वृद्धि गर्नुपर्ने देखिन्छ । साथसाथै, विगतमा विजयसाल पाइने तर हाल नपाइने क्षेत्रहरुमा यसको वृक्षारोपण गरी यसको संख्या बढाउन पनि अपरिहार्य छ । हालको अध्ययनले विजयसालको वासस्थानको प्राथमिकता तथा यस प्रजातिको अन्य जीव तथा वनस्पतिहरूसंगको अन्तरसम्बन्ध, पारिस्थितिकीय अवस्था तथा यसको संरक्षणको आवश्यकतालाई उजागर गरेको छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd)
Balkumari, Koteshower, Kathmandu
9851159630,9801237730,9801237732
Email:nafscol@gmail.com
Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि सन्दर्भ सामग्री सामजीक सन्जाल