Description
हर्रो २० देखि ३० मीटरसम्म अग्लो हुने पतझड रूख हो । यो खासगरी साल र अस्नाका जङ्गलमा पाइन्छ । रूखको गोलाई लगभग २ मीटरसम्मको हुन्छ । मुख्य काण्डको वरिपरि हाँगाहरू पलाएर रहेका हुन्छन् । बोक्रा गाढा खैरो रंगको, तलदेखि माथिसम्म सिधा चिरा परेको हुन्छ । पात २० से.मी.सम्म लामो, गोलाकार वा अण्डाकार र किनारा सिधा भएको हुन्छ । भदौदेखि असोजसम्म यसको फूल फुल्छ भने असोजदेखि माघसम्म फल लाग्ने र पाक्ने गर्छ ।
हर्रो १५० देखि ११०० मीटर उचाई भएको स्थानको उष्ण र समशीतोष्ण प्रदेशिय जङ्गलमा पाइन्छ । यो अधिकरूपमा पूर्व र मध्य नेपालमा सालको वनमा पाइन्छ ।
मब्सिरदेखि फागुनसम्म यसको फल सङ्कलन गरिन्छ ।
यसको फल अण्डाकार, पहेंलो सुन्तला रंगको अथवा टल्कने हल्का खैरो रंगको हुन्छ । यो ३ देखि ४ से.मी. लामो र सुकेपछि पाँचवटा कोणमा विभाजित हुन्छ । बीउ कडा, फिका पहेंलो रंगको हुन्छ । खाँदाखेरि फलको स्वाद टर्रो, केहि गुलियो अलि–अलि अमिलो, कोक्याउने र केही तीतो हुन्छ ।
हर्रोको बोक्रा, फल र बीउ औषधीको रूपमा प्रयोग गरिन्छ । यसको पाकेको अथवा काँचो फल मुख्य गरेर छाला, कपडा, रंग एवं आयुर्वेदिक औषधी उद्योगहरूमा उपयोग गरिन्छ । यो चर्मरोग, कुष्ठरोग, ज्वरो अनि मुटुको रोगमा समेत औषधीको रूपमा प्रयोग हुन्छ । यसलाई आयुर्वेदिक औषधी त्रिफला बनाउन पनि प्रयोग गरिन्छ ।





Reviews
There are no reviews yet.